रामेछापमा एमाले र माओवादी धमाधम उम्मेदवार छान्दै, कांग्रेसलाई सकस



११ वैशाख, रामेछाप ।
स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गएसँगै रामेछापमा नेकपा एमाले र नकेपा माओवादी केन्द्रले धमाधम उम्मेदवार छनोट गरेपनि कांग्रेसलाई भने सकस परेको छ । माओवादीले मन्थली नगरपालिकाको मेयरमा पूर्व सभासद तारानारायण श्रेष्ठलाई उठाउने निर्णय गरेको छ । त्यसैगरी गोगुलगंगा गाउँपालिकाको प्रमुखमा प्रेमकुमार कार्कीलाई उठाएको छ । माओवादीले पाँच गाउँपालिका र रामेछाप नगरपालिकामा भने उम्मेदवारको टुंगो लगाउन सकेको छैन् । माओवादीले अधिकाशं वडाको वडा अध्यक्षको उम्मेवार टुंगो लगाएको माओवादीका जिल्ला इन्चार्ज धावा लामाले रामेछाप न्युजलाई बताए ।


१ लाख ३४ हजार ६ सय २० जना मतदाता रहेको रामेछापको आठ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ भने जिल्ला निर्वाचन कार्यालय रामेछापले गाउँगाउँमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । चुनाव अभियानमा होमिएका कांग्रेस एमाले र माओवादीका नेताहरु अहिले उम्मेदवार छनोटमा केन्द्रीत भएका छन् । उम्मेदवारको टुंगो लागेको गाउँपालिका र नगरपालिकामा चुनावी अभियान अगाडि बढेको छ भने उम्मेदवार टुंगो लाग्न नसकेको स्थानीय तहमा नेताहरु उम्मेदवार बन्ने दौडधुपमा लागेका छन् ।
एमालेले रामेछाप नगरपालिका सहित तीन गाउँपालिकाको प्रमुख र उप–प्रमुखको टुंगो लगाएको छ । ६ वटा वडा बाहेक ५८ वडा अध्यक्षको उम्मेदवार छनोट गरेको एमालेका प्रचार विभाग प्रमुख प्रकाश कुमार कार्की रामेछाप न्युजलाई बताए । एमालेले रामेछाप नगरपालिकाको मेयरमा रोशन पाख्रिनलाई उठाउने निर्णय गरेको छ । लिखु गाउँपालिको प्रमुखमा गोविन्द खडका र उप–प्रमुखमा दिपशिखा दाहाललाई उम्मेदवार बनाएको छ । त्यसैगरी सुनापति गाउँपालिकाबाट प्रदिप योञ्जनलाई गाउँपालिको प्रमुख बनाउने निर्णय गरेको छ । एमालेले दोरम्बा गाउँपालिका प्रमुखमा प्रेम कुमार लामालाई उठाउने निर्णय गरेको छ । मन्थली नगरपालिकाले वडा नम्बर १०, १२ र गोकुलगंगा ३ लगायतका वडामा वडा अध्यक्ष छनोट गर्न बाँकी रहेको कार्कीले बताए ।

उम्मेदवार छनोट गर्न नसकेपछि एमालेका नेता काठमाडौंतिर
सर्वसम्मत रुपमा उम्मेदवार छनोट हुन नसकेपछि सम्बन्धित गाउँपालिका र नगरपालिकाले उम्मेदवारको सिफारिस गरेर पठाएको छ । उम्मेदवार छनोट गर्न बनेको नेताहरुको टिम भने रामेछापबाट काठमाडौतिर लागेको छ । उम्मेदवार छनोट गर्ने टिममा रामेछापका जिल्ला इन्चार्ज, देवशकंर पौडेल, जिल्ला अध्यक्ष शान्ति पौडेल, नेता माधव ढुंगेल, कैलाश ढुंगेल, सांसद कमला सुवेदी, पूर्व सांसद कमल प्रकाश सुनुवार, तुलाप्रसाद कडेल, जेएन दाहाल, भोजराज कडेरिया र झम्क कडेलको टोली पार्टीको नेतृत्वसँग छलफल गर्न काठमाडौं गएको हो । जिल्लामा रातदिन नभनि गृहकार्य गर्दा पनि उम्मेदवारको आकांक्षी धेरै देखिएपछि उम्मेदवार छनोट गर्ने टोली नै काठमाडौं हानिएको हो । एमालेभित्र मन्थली नगरपालिका, खाडाँदेवी गाउँपालिका, उमाकुण्ड, गोकुलगंगा गाउँपालिकामा उम्मेदवारका आकांक्षी धेरै भएकाले पनि विवाद सृजना भएको छ ।

उम्मेदवार छनोट गर्न माओवादीको कार्यालय बैठक
माओवादीले पनि मन्थली नगरपालिका र गोगुलगंगा गाउँपालिका बाहेक अन्य छ स्थानीय तहको प्रमुख र मेयर छनोट गर्न सकेको छैन् । सुनापति गाउँपालिका र दोरम्बा गाउँपालिका उम्मेदवारको आकांक्षी धेरै भएकाले पनि माओवादीले सकेसम्म सर्वसम्मत बनाउने गृहकार्य थालेका छन् । माओवादीले खाँडादेवी गाउँपालिका, लिखु गाउँपालिका र उमाकुण्ड गाउँपालिकाको प्रमुख र रामेछाप नगरपालिकाको मेयर छनोट गर्न सकेको छैन् । माओवादीले सकेसम्म जिल्लामा रहेको कार्यलय टिमले नै उम्मेदवार छनोट गर्ने गरी गृहकार्य थालेको छ ।

कांग्रेसलाई उम्मेदवार छनोट गर्न सकस
रामेछापमा कांग्रेसले अहिलेसम्म एक जना पनि गाउँपालिको प्रमुख र नगरपालिकाको मेयर छनोट गर्न सकेको छैन् । उम्मेदवार छनोट गर्नको लागि बोलाइएको क्षेत्रीय कार्य समितिको बैठकमा उम्मेदवार छनोट भन्दा पनि विगतमा पार्टीभित्र भएको गुटबन्दीको विवाद चर्किएको छ । उम्मेदवार छनोट मापदण्ड बनाउन बसेको बैठकमा विवाद चर्किएको छ । क्षेत्रीय कार्य समितिको बैठकमा महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य,जिल्ला कार्य समितिका सभापति, निर्वमान जिल्ला सभापति लगायतको सहभागीता रहेको थियो । बैठकमा विवाद चर्किदै गएपछि वडा गाउँपालिका र नगरपालिका लगायत तहमै छलफल गरेर उम्मेदवार टुंगो लगाउनको लागि छुट्टाछुट्टै बैठक बसिरहेको छ । रामेछाप कांग्रेसमा तीन गुट सक्रिय रहेको छ । पार्टी सभापति शेरबहादु देउवा प्यानको नेतृत्व पार्टी सभपाति लवश्री न्यौपानेले गरेका छन । रामचन्द्र पौडेल पक्षको नेतृत्व निवर्तमान पार्टी सभपति रामचन्द्र खड्काले गरेका छन भने कृष्णप्रसाद सिटौला प्यानको नेतृत्व अर्जुन कार्कीले गरेका छन् । तीनै पक्षले आफू निकटका व्यक्तिहरुले पाउनु पर्ने अडान राखेपछि विवाद चुलिएको हो ।

प्रतिक्रिया दिनुहोस्