रामेछापको मझुवामा गाउँलेले खनेको सडकमा नेतालाई प्रतिबन्ध



१४ वैशाख, रामेछाप ।
रामेछापको खाडाँदेवी गाउँपालिका–८ गागल भदौरेस्थिति मझुवाका स्थानीयले आफ्नो गाउँमा सडक निर्माण गर्नको लागि धेरै राजनीतिक दलका नेताहरु गुहारे । सदरमुकाम धाउनेदेखि लिएर जिल्लामा सक्रिय राजनीतिक दलका नेताहरुलाई विन्ती विसाए । तर सुनुवाई कतैबाट पनि भएन ।
मझुवाका स्थानीय मिलेर गाउँमा सडक ल्याउने अठोट अनुसार गाउँलेकै आर्थिक संकलनमा १० किलोमिटर कच्ची सडक खन्ने काम सम्पन्न भएको छ । सरकार र राजनीतिक दलहरुको बाटो हेर्दा गाउँमा सडक नआइपुग्ने निष्कर्ष सहित गाउँले मिलेर सडक निर्माणको काम थालेका थिए । स्थानीयकै पहलमा तीस लाख रुपैयाँ संकलन गरेर मझुवासम्म सडक पुर्याउने काम सम्पन्न भएको छ ।


सडक निर्माणको लागि स्थानीयबासी, वैदेशिक रोजगारीमा रहेका युवाहरुले आर्थिक सकलन गरेका थिए भने डाँफे समाजले त्यसको समन्वयन गर्दै सडक निर्माण गरेको हो । जिल्ला सदरमुकामबाट नजिकै रहेर पनि सडक, स्वास्थ्य, शिक्षा लगायतको आधारभूत सेवा सुविधाबाट बञ्चित मझुवाका बासिन्दाले यति छिट्टै सडक आउने आश गरेका थिएनन ।

तर गाउँबाट वैदैशिक रोजगारीमा रहेका युवाहरुको जसरी पनि सडक निर्माण गर्ने अभियान चलाए । डाँफे समाजका कार्यबहाक अध्यक्ष मानकाजी लो तामाङले लामो समयदेखि गाउँमा सडक पुर्याउने सपना पूरा भएको बताउछन् । उनले समय धेरै लागे पनि गाउँमा सडक पुर्याउदा गाउँलेमा खुसी छाएको बताए ।
तामाङले रामेछाप न्युजसँग भने,‘२०६९ सालबाट नै सडकको लागि माग गर्दा कहीकतैबाट पनि सुनुवाई नभएपछि गाउँलेकै पहलमा सडक खन्ने काम सुरु गरेका थियो, दुःख गरेर भएपनि गाउँलेका सपना पूरा गर्न सफल भएका छौं ।’ मझुवाबाट विभिन्न देशमा वैदेशिक रोजगारीमा रहेकाहरुले ग्रुप च्याट बनाएर आर्थिक संकलनको काम अगाडि बढाएको बताउदै तामाङले सोही आधारमा सडक निर्माणको अभियान अगाडि बढाएको बताए ।

सडक निर्माणको लागि बाबुलाल तामाङको अध्यक्षमा व्यवस्थापन समिति गठन भएको थियो । समितिका अध्यक्ष तमाङले सबैले हातमा हात र काँधमा काँध मिलाउदा सडक निर्माणको काम सम्भव भएको बताए । डाँफे समाजका महासचिव लालकाजी तामाङले सरकारले आफूहरुलाई नागरिकको व्यवहार नगरेपछि गाउँलेकै सक्रियतामा सडक खन्ने काम सम्पन्न भएको बताए ।

पटक–पटक आग्रह गर्दा पनि सरकार राजनीतिक दलहरुले एक कानले सुनेर अर्को कानले उडाउने काम भयो, उनले भने,‘सबै ठाउँमा गाउले मिल्ने हो भने अब सरकारै मुख ताकेर बस्नु पदैन, आफ्नो गाउँठाउँको विकास आफै गर्न सकिन्छ ।’ तामाङले निर्वाचनमा भोट माग्न आउने राजनीतिक दलहरुलाई यस पटकको निर्वाचनमा राम्रैसँग जवाफ दिएर पठाउने उनले चेतावनी दिए ।

सडकको उदघाटन गर्नको लागि गाउँलेहरुले नेता र मन्त्री खोजेनन् । गाउँकै स्थानीय समाजसेवी बुद्धिजिवी र गाउँले मिलेर सडकको उदघाटन सम्पन्न गरे । एक अर्कामा खुसीयाली मनाए । घण्टौ पैदल हिडनु पर्ने ठाउँमा गाडी गुडाउने सकड बनाए । डाँफे समाजका कार्यवहाक अध्यक्ष मानकाजी लो तामाङले भने,‘गाउँले मिलेर खनेको सडकमा राजनीतिक दलका नेताहरुलाई हिड्न प्रतिबन्ध गर्ने नीति लिएका छौं ।’ उनले जतताको नाममा राजनीति गर्ने तर जनताको विकास निर्माणमा साथ नदिने राजनीतिक दलहरुलाई सहयोग नगर्ने बताए ।
साबिकको डडुवा गाविसको देउराली डाँडाबाट मझुवा हुँदै गागल भदौरेसम्म  सडक खनिएको छ । सडक निर्माण सम्पन्न भएपनि अझै १५ लाख रुपैयाँ ऋण रहेको तामाङले बताए । उनले सहयोगको हात फैलाएको र बाँकी ऋण पनि तिर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्