रामेछाप एमालेबाट उम्मेदवार भएका यस्ता छन गाउँपालिकाको प्रमुख र नगरपालिकाको मेयर



१४ वैशाख, रामेछाप ।
नेकपा एमालेले रामेछापको सात वटा स्थानीय तहमा गाउँपालिकाको प्रमुख र मेयरको टुंगो लगाएको छ । मन्थली नगरपालिकामा मेयरका उम्मेदवारका आकांक्षी धेरै भएपछि जिल्ला कमिटीले प्रदेश समितिमा तीन जनाको नाम सिफारिस गरेको छ ।

एमाले रामेछापका जिल्ला अध्यक्ष शान्ति प्रसाद पौडेलले मन्थली नगरपालिका बाहेक अन्य छ गाउँपालिकाका प्रमुख,उपप्रमुख र रामेछाप नगरपालिको मेयर उपमेयरको उम्मेदवारी घोषणा भएको बताए । उनका अनुसार उमाकुण्ड गाउँपालिको प्रमुखमा शेरबहादुर सुनुवार र उपप्रमुखमा महारानी कार्कीलाई उम्मेदवार बनाउने निर्णय भएको छ । एमालेले गोकुलगंगाको प्रमुखमा खड्ग सुुनुवार र उपप्रमुखमा राधिका श्रेष्ठ, लिखु गाउँपालिको प्रमुखमा गोविन्द खडका र उपप्रमुखमा दिपशिखा दाहाललाई उम्मेदवार बनाएको छ ।


त्यसैगरी खाँडादेवी गाउँपालिको प्रमुखमा पार्टीका जिल्ला उपाध्यक्ष प्रेम तामाङ र उप्रमुखमा मखमली श्रेष्ठलाई उठाउने निर्णय गरेको बताउदै अध्यक्ष पौडेलले दोरम्बा गाउँपालिकाबाट प्रेम लामा र उपप्रमुखमा सुभद्रा पाठकलाई उठाउने निर्णय गरेको बताए । सुनापति गाउँपालिको प्रमुखमा प्रदिप योञ्जनलाई उठाउने निर्णय गरेको छ ।

एमालेले रामेछाप नगरपालिको मेयरमा रोशन पाख्रिन र उपप्रमुखमा शान्ता सापकोटालाई उठाउने निर्णय गरेको छ । गाउँपालिका र नगरपालिकामा एक जना पनि महिला उम्मेदवार छनोट हुन सकेका छैनन् । एमालेले रामेछापमा जनजातिहरुको बाहुल्यता रहेको निष्कर्ष सहित लिखु गाउँपालिका बाहेक पाँच गाउँपालिका र रामेछाप नगरपालिकामा जनजाति नेतालाई नै उम्मेदवार घोषणा गरेको छ ।

रामेछाप जिल्लामा ६ गाउँपालिका र २ नगरपालिका गरी ६४ वटा वडा रहेका छन् । अध्यक्ष पौडेलका अनुसार उम्मेदवारको टुंगो लागिसकेको गाउँपालिका र नगरपालिकामा पार्टीले तिब्र रुपमा चुनावी अभियान अगाडि बढाएको बताए ।

प्रतिक्रिया दिनुहोस्