स्थानीय तहको निर्वाचनमा रामेछापमा एक हजार कर्मचारी खटिने



१५ वैशाख, रामेछाप ।
आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा रामेछापको ६ गाउँपालिका र २ नगरपालिकामा गरी एक हजार कर्मचारी खटिने भएका छन् । १ लाख ३४ हजार ६ सय २० जना मतदाता रहेको रामेछापमा आठ स्थानीय तहमा ९० मतदान स्थल र १ सय ७० मतदान केन्द्र तोकिएको छ ।
जिल्लाको आठ वटै स्थानीय तहमा निवार्चन अधिकृतको कार्यालय स्थापना भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनमा खटाउने कर्मचारीको व्यवस्थापन पर्ने भएको छ । जिल्ला निर्वाचन कार्यालय रामेछापका अनुसार पाँच सयसम्म मतदात भएको केन्द्रमा पाँच जना कर्मचारी खटिने छन भने पाँच सय भन्दा बढी मतदाता रहेको मतदान केन्द्रमा ६ जना कर्मचारी खटिने छन् ।
निर्वाचनमा खटिने कर्मचारी जनशक्तिको व्यवस्थापन निर्वाचन कार्यालय रामेछापले गर्ने र परिचालन मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्नेछ । जिल्लामा रहेको विभिन्न सरकारी कार्यालयका कर्मचारी, संस्थानका कर्मचारी र शिक्षकहरु निर्वाचनमा परिचालन हुने छन् ।

जिल्लामा शिक्षक सहित तीन हजार कर्मचारी रहेका छन् । निर्वाचनमा खटिने कर्मचारी वैशाख २७ गते तोकिएको मतदान केन्द्रमा पुग्ने जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकारी कपिल प्रसाद उपाध्यायले रामेछाप न्युजलाई बताए । उनले भने,‘निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ, गाउँगाउँमा मतदाता शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयसेवक खटिएका छन्, निर्वाचनको व्यवस्थापनको लागि तिब्र गतिमा काम भएको छ ।’

प्रतिक्रिया दिनुहोस्