माओवादीबाट दोरम्बा गाउँपालिका– ६ को वडा अध्यक्षमा गजुरेल



१७ वैशाख, रामेछाप ।
नेकपा माओवादी केन्द्रले रामेछापको दारेम्बा गाउँपालिका–६ को वडा अध्यक्षमा अम्बिका प्रसाद गजुरेल ‘अनुप’लाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य समेत रहेका गजुरेललाई वडा अध्यक्षको उम्मेदवार बनाएको हो ।
वडा अध्यक्षका उम्मेदवार गजुरेलले वडाको विकास र समृद्धिको लागि प्रतिबद्ध भएर काम गर्ने बताए । उनले रामेछाप न्युजसँग भने,‘वडाको कतिपय क्षेत्रमा सडक पुग्न सकेको छैन त्यहाँ सडक पुर्याउने मेरो पहिलो काम हुनेछ, वडालाई समृद्ध बनाउन योजनाबद्ध रुपमा लाग्छु ।’


उनले वडाको लप्सीबोट लगायतको क्षेत्रमा तत्काल सडक निर्माणको लागि पहल गर्ने बताए । गजुरेलले भने,‘वडामा परम्परागत रुपमा हुँदै आएको कृषि प्रणालीलाई आधुनिकरण गरेर जनताको जीवनस्रतमा सुधार ल्याउने योजना अगाडि सार्छु ।’
६ नम्बर वडामा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायतको अत्यावश्यक विकास निर्माणको कामलाई प्राथमिकताको साथ काम गर्ने उनले बताए । गुरासे देवीस्थानलाई धार्मिक पर्यटकीय क्षेत्रको विकास गर्ने पहल गर्ने बताउदै वडाको समृद्धिको लागि प्रतिबद्ध भएर काम गर्ने बताउदै गजुरेलले भने,‘सिंहदरवारको अधिकार गाउँगाउँमा आइपुगेको छ, अब गाउँलाई समृद्धि बनाउने अभियान अगाडि बढाउनु पर्छ ।
२०४८ सालबाट संयुक्त जनमोर्चा (मोटो मसाल)बाट राजनीतिक सुरु गरेका गजुरेल २०५२ सालबाट नै माओवादी जनयुद्धमा अर्धभूमिगत रुपमा लागेका थिए । २०५७ सालमा साबिकको लखनपुर गाविसको गाउँ जनसरकार प्रमुख भएका उनले जनयुद्धको समयमा युद्ध संवादाता रहेर पनि काम गरेका थिए ।

२०५९ सालमा रामेछापका जिल्ला कमिटीको सदस्य, २०६४ सालमा राज्य समिति सदस्य हुँदै हाल गजुरेले केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य रहेका छन् । माओवादी शान्ति प्रक्रियामा आएपछि गाउँमै रहेर जनताको दुःखमा साथ दिदै आएका गजुरेलले गाउँको विकास निर्माणमा समेत भूमिका खेल्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्