रामेछापको ६ गाउँपालिका र २ नगरपालिकामा आज उम्मेदवारी दर्ता, तीन पार्टीको मात्र १ हजार उम्मेदवार



१९ वैशाख, रामेछाप ।

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि रामेछापको ६ गाउँपालिका र २ नगरपालिकामा आज उम्मेदवारी दर्ता हुँदैछ । स्थानीय तहको निर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालय रामेछापमा १७ वटा राजनीतिक दलहरु दर्ता भएका छन् । रामेछापको ६ गाउँपालिकाको केन्द्रमा उम्मेदवारी दर्ता हुने छ भने नगरपालिकामा भने नगरपालिको कार्यालयमा उम्मेदवारी दर्ता हुने भएको छ ।

उम्मेदवारी दर्ताको लागि निर्वाचन आयोगले जिल्लामा मुख्य निर्वाचन अधिकृत सहित जिल्ला सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको रामेछापका जिल्ला न्यायाधीश समेत रहेका मुख्य निर्वाचन अधिकृत किरण प्रसाद सिवाकोटीले रामेछाप न्युजलाई बताए ।

उनले भने,‘उम्मेदवारी दर्ताको लागि सम्पूर्ण तयारी पूरा भएको छ, जिल्लाको ८ वटै स्थानीय तहका कर्मचारी खटिएका छन, उम्मेदवारी दर्ता र अन्तिम नामावली प्रकाशन गर्ने काम पनि सम्बन्धित स्थानीय तहबाटै हुन्छ ।’ उम्मेदवारी दर्ता गर्नु अघि सोमवार आठ वटै स्थानीय तहमा सर्वदलिय बैठक बसेको थियो । स्थानीय तहको निर्वाचनको लागि रामेछाप जिल्लाको ८ स्थानीय तहमा १ लाख ३४ हजार ६ सय २० जना मतदाता रहेका छन् ।

रामेछापको मन्थली नगरपालिको निर्वाचन अधिकृतको जिम्मेवारी जिल्लाका मुख्य निर्वाचन अधिकृत समेत रहेका सिवाटोली नै सम्हालेका छन । जिल्ला ६ गाउँपालिका र १ नगरपालिकामा यस अघि नै निर्वाचन अधिकृत खटिसकेका छन् । उमाुकण्ड गाउँपालिकामा यदुराज शर्मा, गोकुलगंगा गाउँपालिकामा मिठु थापा,लिखु गाउँपालिकामा नारायण रिसाल, दोरम्बा गाउँपालिकामा चिरञ्जीवि गिरी, खाँडादेवी गाउँपालिकामा वशिष्ट कुमार घिमिरे, सुनापति गाउँपालिकामा चन्द्रकला चौलागाई वली र रामेछाप नगरपालिकाको निर्वाचन अधिकृतमा जिल्ला सरकारी वकिलको कार्यालय रामेछापका न्यायाधिवक्ता कृष्णप्रसाद पुडासैनी तोकिएका छन् ।

कहाँ–कहाँ हुँदैछ उम्मेदवारी दर्ता ?
रामेछाप जिल्लाको ८ वटा स्थानीय तहको केन्द्रमा एक साथ उम्मेदवारी दर्ता हुने भएको छ । मन्थली नगरपालिकाको मन्थली, रामेछाप नगरपालिको रामेछाप, उमाकुण्ड गाउँपालिको प्रिति, खाँडादेवी गाउँपालिको माकादुम, गोकुलगंगा गाउँपालिकाको रस्नालु, दोरम्बा गाउँपालिको टोकरपुर, लिखु गाउँपालिकाको बिजुलीकोट, सुनापति गाउँपालिकाको हिलेदेवीमा उम्मेदवादी दर्ता हुने भएको छ । उम्मेदवारी दर्ताको लागि गाउँपालिको केन्द्रमा गुग्ने क्रम सुरु भएको छ ।

८ तहमा १ सय ७० निर्वाचन केन्द्र
निर्वाचन आयोगले रामेछापको ८ स्थानीय तहमा १ सय ७० वटा निर्वाचन केन्द्र तोकेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले ८ स्थानीय तहमा १ हजार २० जना कर्मचारी खटाउने टुंगो लगाएको छ । निर्वाचनमा खटिने मतदान अधिकतृ र सहायक मतदान अधिकृतलाई जिल्ला निर्वाचन कार्यालय रामेछापले प्रशिक्षण कार्यक्रम प्रदान गरेपछि सम्बन्धित मतदान केन्द्रमा खटिने जिल्ला निर्वाचन कार्यालय रामेछाका निर्वान अधिकारी कपिल प्रसाद उपाध्यायले बताए । निर्वाचन केन्द्रमा खटिने मतदान अधिकृतले वैशाख २८ २९ र ३० गते सम्बन्धित मतदान केन्द्रका मतदातालाई मतदाता परिचय पत्र वितरण गर्ने कार्यक्रम रहेको निर्वाचन कार्यालय रामेछापले बताएको छ । निर्वाचन सम्बन्धि शिक्षाका लागि यस अघि नै नगरपालिका र गाउँपालिकामा मतदाता शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयमसेवक खटिसकेका छन् ।

कांग्रेस एमाले र माओवादीबाट १ हजार ८ जना उम्मेदवार
रामेछाप जिल्लाको ८ स्थानीय तहमा गाउँपालिको प्रमुख उपप्रमुख, नगरपालिको मेयर उपमेयर र वडा पालिकाको अध्यक्ष र सदस्य गरी ३ सय ३६ जना उम्मेदवार हुने भएका छन् । जिल्ला प्रमुख दल कांग्रेस एमाले र माओवादीबाट मात्र १ हजार ८ जना उम्मेदवार हुने भएका छन् । रामेछापका ८ स्थानीय तहमा ६४ वटा वडा रहेको छ ।

शान्ति सुरक्षा कुनै कमि हुँन दिदैनौः प्रजिअ खत्री
जिल्लाको ८ वटै स्थानीय तहमा चुनावी सुरक्षा रणनीति लागू भएको रामेछाप प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए । उनले रामेछाप न्युजसँग भने,‘स्थानीय तहको निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा गरिएको छ ।’ उम्मेदवार दर्ताको लागि सम्बन्धित गाउँपालिका र नगरपालिकामा सुरक्षाकर्मी परिचालालन भइसकेको प्रजिअ खत्रीले बताए ।

यस्ता छन कांग्रेसका उम्मेदवार
रामेछाप कांग्रेसले ६ गाउँपालिका र २ नगरपालिका सहित सबै क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेसले मन्थली नगरपालिकाको मेयरमा गुन्जबहादुर श्रेष्ठ, उपमेयरमा मिनाकुमारी कार्कीलाई उठाउने निर्णय गरेको छ । त्यसैगरी रामेछाप नगरपालिकाको मेयरमा नरबहादुर मगर उपमेयरमा सृजना खड्कालाई उठाउने घोषणा गरिसकेको छ । त्यसैगरी उमाकुण्ड गाउँपालिको प्रमुखमा हिक्मत सुनुवार, उपप्रमुखमा सर्मिला, बस्नेत, गोकुलगंगा गाउँपालिकाको प्रमुखमा नानीबाबु, बस्नेत, उपप्रमुखमा तुलसा खड्का, लिखु गाउँपालिको प्रमुखमा चन्द्र राउत, उपप्रमुखमा कल्पना खडका, सुनापति गाउँपालिको प्रमुखमा जितेन्द्र मोक्तान, उप्रमुखमा विनिता खड्का, दोरम्बा गाउँपालिको प्रमुखमा मानबहादुर लामा, खमला थापामगर, खाडाँदेवी गाउँपालिको प्रमुखमा वेदराज लामा, उपप्रमुखमा मिनाकुमारी श्रेष्ठलाई उठाउने घोषणा गरेको छ ।

एमालेबाट को को ?
नेकपा एमालेले पनि उम्मेदवार छनोट कार्य सम्पन्न गरेको छ । एमालेले उमाकुण्ड गाउँपालिकाको प्रमुखमा खडग सुनुवार, उप्रमुखमाा राधिका श्रेष्ठ, लिखु गाउँपालिकाको प्रमुखमा गोविन्द् खडका, उपप्रमुखमा दिपशिाखा दाहाल, खाडाँदेवी गाउँपालिकामा प्रेम तामाङ, उपप्रमुखमा मखमली श्रेष्ठ, सुनापति गाउँपालिकाको प्रमुखमा प्रदिप योञ्जन, उपप्रमुखमा पासाङ डोल्मा लामा, दोरम्बा गाउँपालिकाको प्रमुखमा प्रेम तामाङ, उपप्रमुखमा सुभद्रा पाठक कडेललाई उम्मेदवार बनाउने घोषणा गरेको छ । त्यसैगरी एमालेले रामेछाप नगरपालिको मेयरमा रोशन पाख्रिन,उपमेयरमाा शान्ता सापकोटालाई उठाउने घोषणा गरेको छ ।

माओवादीबाट को–को ?
नेकपा माओवादीले मन्थली नगरपालिकाको मेयरमा पूर्व सभासद तारानारायण श्रेष्ठ, उपमेयरमा रितादेवी घिमिरे, गोकुलगंगा गाउँपालिकाको  प्रमुखमा प्रेमकुमार कार्की, उपप्रमुखमा मञ्जु वस्नेत, उमाकुण्ड गाउँपालिकाको प्रमुखमा मदन कालीकोटे, उपप्रमुखमा लक्ष्मी तामाङ,रामेछाप नगरपालिकाको मेयरमा शिशिर खड्की  उम्मेदवार घोषणा गरेको छ । त्यसैगरी सुनापति गाउँपालिकोको प्रमुखमा जिल्ला इन्चार्ज धावा लामा, दोरम्बा गाउँपालिकाको प्रमुखमा कमान मोक्तान, उपप्रमुखमा  कुशला घिसिङ, लिखु गाउँपालिकाको प्रमुखमा धु्व कुमार कार्की रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्