श्रेष्ठ कार्की र बस्नेत मन्थली नगर प्रमुखका उम्मेदवार,कसले मार्ला बाजी ?



२० वैशाख, रामेछाप ।
आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि रामेछापको मन्थली नगरपालिकामा उम्मेदवारी दर्ता भएसँगै चुनावी माहालो छाएको छ । २७ हजार मतदाता रहको मन्थली नगरपालिकामा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एमाले बीच नै त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । १४ वटा वडा रहेको मन्थलीमा तीन राजनीतिक दलहरुले चुनावी प्रचार प्रसार अभियानलाई तीब्र रुपमा अगाडि बढाएका छन् । तीन दलका उम्मेदवारहरुले आफूले जित्ने दावी गरेका छन् । मन्थली नगरपालिकामा रामेछापका ८ स्थानीय तह मध्ये धेरै मतदाता रहेको स्थानीय तह हो । प्रमुख तीन दलले मन्थली नगरपालिको नगरपालिको नगर प्रमुखमा जित्नको लागि चुनावी अभियान अगाडि बढाएका छन् ।

जित्नेमा ढुक्क छुः श्रेष्ठ
मन्थली नगरपालिको नगर प्रमुखमा पूर्व सभासद तारानारायण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । श्रेष्ठ पहिलो संविधानसभा सभासद भएपछि जिल्लाको विकास निर्माणमा भूमिका खेल्दै आएको व्यक्ति हुन् । पहिलो संविधानसभा भंग भएपछि निरन्तर रुपमा मन्थलीमै रहेर श्रेष्ठ राजनीतिमा सक्रिय छन् । माओवादीको केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य समेत रहेका श्रेष्ठ मन्थली नगरपालिकामा परिचित नाम हो । कसैको आलोचना नगर्ने र सरल स्वभाव भएका श्रेष्ठले जनताकै बीचमा रहेर काम गरेकाले विजयी हुनेमा ढुक्क रहेको बताउछन् । उनी भन्छन–मैले जिते मन्थलीलाई देशभरीकै नमूना नगरपालिका बनाउछु ।’ श्रेष्ठले अबको प्राथमिकता भनेको विकास निर्माण र समृद्धि नै भएको बताए । नगरपालिकाको १४ वटै वडामा समान ढंगले विकास निर्मार्णको सुविधा पुर्याउने आफ्नो पहिलो लक्ष्य रहेको बताउदै श्रेष्ठले भने,‘माओवादीकै नेतृत्वमा गाउँघरमै सिंहदरवार आएको छ, यसलाई संस्थागत गर्नको लागि पनि माओवादीलाई जनताले भोट दिन्छन ।’

विनोद कार्कीलाई अवसर
नेपाली काग्रेसले सुरुमा मन्थली नगरपालिको नगर प्रमुखमा युवराज भट्टराईलाई उठाउने निर्णय गरेको थियो । सोही अनुसार भट्टराईले चुनावी अभियान अगाडि बढाएका थिए । तर अन्तिम अवस्थामा आएर भट्टराई अमेरिकाका ग्रिनकार्ड होल्डर रहेको थाहा पाएपछि कांग्रेसले नेपाल शिक्षक संघका पूर्व केन्द्रीय सदस्य समेत रहेका गुञ्जबहादुर श्रेष्ठलाई नगर प्रमुखको उम्मेदवारी बनाउने निर्णय गरेको थियो । तर श्रेष्ठ मन्थली नगरपालिकाको कर्मचारी छनोट समितिका सदस्य भएको सार्वजनिक भएपछि अन्तिम अवस्थामा आएर नगर प्रमुखको रुपमा विनोद कार्कीलाई उठाउने निर्णय गरेको थियो ।
कार्की रामेछाप क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति समेत हुन् । यस अघि पनि कार्कीे क्षेत्रीय सभापति भइसकेका व्यक्ति हुन् । जिल्लामा रहेर लामो समयदेखि राजनीतिमा सक्रिय कार्कीले पनि आफूले जित्ने दावी गरेका छन् । मन्थली नगरपालिकाको लागि कीर्की पनि परिचित नाम हो । अन्तिम अवस्थामा आएर पार्टीले उम्मेदवार बनाएपछि यसलाई अवसरको रुपमा लिएर अगाडि बढने योजना बनाएका छन् । कार्कीले यस पटक आफ्नो जित सुनिश्चित रहेको बताउदै आएका छन् ।
रमेश बस्नेतलाई चुनौती
रमेश बस्नेत मन्थली नगरपालिकाको स्थापित व्यक्ति हुन् । बस्नेत केही महिना अघि मात्र माओवादीबाट एमालेमा प्रवेश गरेका थिए । लामो समय राजनीतिमा सक्रिय बस्नेतले रामेछापका पार्टी सचिव आनन्द श्रेष्ठलाई पछि पार्दै मन्थली नगरपालिका नगर प्रमुखको टिकट आफ्नो पक्षमा पार्न सफल भएका छन् । पार्टीभित्र सहमति जुटन नसकेपछि प्रदेश समितिले उम्मेदवारी टुंगो लगाएको थियो । वस्नेतलाई आफ्नै पार्टीबाट चुनौती रहेको चर्चा एमाले वृत्तमा नै चल्न थालेको छ । एमालेभित्र लामो समय काम गरेर पार्टीको लागि योग्दान गर्नेले टिकट नपाउने र पछि पार्टी प्रवेश गरेका व्यक्तिले टिकट पाएको भन्दै असन्तुष्टि देखिएको छ । पार्टीभित्रको सन्तुलनदेखि मतदाताको मन जित्नेसम्मको चुनौती बस्नेलाई छ । बस्नेत भन्छन–जीवन राजनीति गरेर नै विताए, यस पटक जित्नेमा ढुक्क छु ।’ पार्टीले विश्वास गरेरै टिकट दिएको हो, यो अवसरलाई जितमा परिणत गर्ने काम पार्टीको नै हो, उनले भने ।

प्रतिक्रिया दिनुहोस्