सुनापति गाउँपालिकालाई यसरी समृद्ध बनाऔं



नयाँ संविधान अनुसार सरकारले ७ सय ४४ स्थानीय तह कार्यान्वयनमा ल्याएको छ । रामेछापमा पनि ८ स्थानीय तह कायम गरिएको छ । सिंहदरबारको अधिकार गाउँ र नगरमा प्रत्यायोजन गरी स्थानीय तहको पूनर्संरचना भएपछि सबैको ध्यान गाउँपालिका र नगरपालिकामा केन्द्रित भएको छ । अधिकार सम्पन्न स्थानीय तहमा आकांक्षीहरु पनि धेरै देखिएका छन् ।

अब रानजीतिक विचार आस्था सबैले आ–आफ्नो ठाउँमा राखेपनि सुनापति गाउँपालिको समृद्धिको विकास निर्माणमा सामुहिक प्रतिबद्धता जनाएर लाग्ने बेला आएको छ । राजधानी काठमाडौंबाट नजिकै भएर पनि सुनापति गाउँपालिकाले भर्खर मात्र विकासमा बामे सर्न थालेको छ । आधारभूत विकास सडक, शिक्षा, विद्युत पुगेपछि भौतिक पूर्वाधार विकासको काम काम चलाउ मात्र छ । दिगो बन्न सकेको छैन् ।
प्राकृतिक स्रोत र साधनमा सम्पन्न भएर पनि सुनापति गाउँपालिकाले अपेक्षाकृत विकास हुन सकेको छैन् । सुनापति गाउँपालिका राजधानी काठमाडौंबाट झण्डै एक सय वीस किलोमिटरको दुरीमा रहेको छ । सिन्धुली–रामेछाप जोडने खैरेनीघाटको पक्की पुल निर्माण समयमा नै सम्पन्न नहुँदा यहाँका बासिन्दाले निकै सास्ती र हैरानी खेप्दै आएका छन् । पछिल्लो तथ्याङ अनुसार सुनापति गाउँपालिकामा १८ हजार जनसंख्या रहेको छ । स्थानीय तहको निर्वाचनको लागि १४ हजार ६ सय ६६ मतदाता रहेका छन् ।
८२ हजार वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको सुनापति गाउँपालिकामा साबिकका हिलेदेवी, दिपीपोखरी, गुन्सी, बेथान र खनियापानी गाविस समावेश भएको छ । नयाँ संरचना अनुसार सुनापति गाउँपालिकामा ५ वटा वडा रहेका छन् । स्थानीय तहको निर्वाचनको लागि १ सय ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

दिपेन्द्र कुमार कार्की

स्थानीय तहमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका सहित सम्पूर्ण अधिकार केन्द्रित भएसँगै विकासको मार्गचित्र कस्तो हुने ? स्थानीय तहको नीतिगत संरचना, साधन स्रोतहरुको परिचालन र भौतिक पूर्वाधारहरुको अवस्था कस्तो हुने ? स्थानीय तहको निर्वाचनसँग यस विषयमा पर्याप्त बहस हुनुपर्ने आवश्यकता छ । पार्टीबाट टिकट लिने, चुनाव लड्ने, जित्ने र गाउँपालिको अध्यक्ष उपाध्यक्ष बन्ने मात्र होइन सुनापति गाउँपालिको विकास र समृद्धिको ठोस मार्गचित्र पनि अगाडि सानुपर्छ ।

सुनापति गाउँपालिका प्राकृतिक स्रोध साधनले सम्पन्न भएको गाउँपालिका हो । सुनापति गाउँपालिको फेदीमा रहेको सुनकोसी, चौरीखोला छ भने पर्यटकीय क्षेत्रको रुपमा सुनापति गरेको छ । जलस्रोत, जलविद्युत, पर्यटन, कृषि, जडीबुटी लगायतका प्राकृतिक साधन स्रोतका

दृष्टिले अत्यन्तै अग्रस्थानमा छ । पूर्वाधारका दृष्टिले प्रत्येक टोल र बस्तीसम्म सडक, सिंचाई, सञ्चार, शिक्षा लगायतका प्रारम्भिक पूर्वाधारहरु छन् ।दुई बर्ष अघि गएको भुकम्पको कारण भने सुनापति गाउँपालिकाको बेथान, खनियापानी, गुन्सी लगायतका वडामा खानेपानीको समस्या थपिएको छ । जतिसुकै साधन स्रोतले सम्पन्न होस, पूर्वाधार विकास, स्थानीय साधन स्रोतको बहुआयमिक परिचालन र स्थानीय कानूनको तर्जुमामा गतिशील नेतृत्व भएन भने त्यस्ता गाउँपालिकाले विकासमा गति लिन सक्दैन । आगामी दिनमा सुनापति गाउँपालिकाले विकास गति लिन्छ कि लिदैन गतिशिल नेतृत्वमा भर पर्ने विषय हो ।

सुनापति गाउँपालिको पहिलो समृद्धिको आधार सुनकोसी तेश्रो जनलविद्युत आयोजना निर्माण गर्नु हो । यस आयोजना अगाडि बढाउने नेतृत्व सुनापति गाउँपालिकाको लागि चाहिन्छ । सुनकोसी तेस्रो आयोजना मात्र निर्माण गर्न सकेको अवस्थामा सुनापति गाउँपालिका बासिन्दाको आर्थिक अवस्था निकै राम्रो बन्छ । सुनापति डाडाँमा भ्यु टारव मार्फत विकास पर्यटन प्रर्बद्धन गर्ने दोस्रो आधार हो । तेस्रो सुनापति–४ बेथानमा रहेको ढुङखानी उत्खनन् हो । यसको सही व्यवस्थापन गर्न सकिन्छ कि सकिदैन ?
सुनापति गाउँपालिको समग्र विकासको लागि अहिलेसम्म गुरु योजना निर्माण हुन सकेको छै छ । यसको लागि अब गुरु योजना निर्माण गरेर नै काम गर्नुपर्ने खाँचो छ । विना योजना निर्माण गरिएका विकास निर्माणका कामले भन्दा योजनाबद्ध रुपमा विकास निर्माणको काम गर्नुपर्छ । एकीकृत वस्ती विकासदेखि खानेपानी, स्वास्थ्य शिक्षा, रोजगारी उद्योग धन्दा प्राकृतिक स्रोत र साधनको उपयोग लगायतका विषयमा दिर्घकालिन रुपमा गुरु योजना बनाउन आवश्यक छ । सुनकोसी तेस्रो जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतले देशकै अर्थतन्त्र र विकासमा महत्वपूर्ण टेवा पुर्याउने छ । निर्माणाधीन रामेछाप–सिन्धुली जोडने खैरेनीघाटको पक्की पुल निर्मिाणको काम समयमा नै सम्पन्न गर्नुपर्छ ।
चौरीखोला, खानीखोला लगायतका खोलाहरुमा लघु जलविद्युतको योजना अघि सार्न सक्यौं भने स्थानीय खोलाहरुबाट उत्पादन हुने विद्युतले मात्रै हाम्रो ग्राहस्थ विद्युतको माग पुरा गर्न सक्छ । पूर्वाधार विकासका दृष्टिले सुनापति गाउँपालिका कमजोर नै छ । नयाँ संरचनामा गाउँपालिका कार्यालय पनि अस्थायी रुपमै सञ्चालन गर्नुपर्ने अवस्था छ । गाउँपालिको केन्द्र रहेको हिलेदवी आसपासका क्षेत्रमा सरकारी स्वामित्वको जमिन अभावले पूर्वाधार विकासमा केही अन्यौल देखिन्छ ।

तर, सुनापति गाउँपालिको समग्र गुरु योजना निर्माण गर्ने हो जमिनको समस्या समाधान गर्न सकिन्छ । बजार क्षेत्रको आसपास रहेको कुनै पनि जमिनलाई गाउँपालिकाको प्रशासनिक पूर्वाधार विकासका लागि उपयोग गर्न सकिन्छ ।यातायातका दृष्टिले सबै वडा र टोलहरुमा कच्ची सडक पुगेपनि गुणस्तर निकै कमजोर छ । गाउँपालिकाको मुख्य सडक मानिएको लुभु, खनियापानी, भ्वासा, डहु बेथान, हिलेदेवी ग्राबेल समेत हुन सकेको छैन् ।

गाउँपालिको केन्द्र जोडनको लागि खानीखोलमा पक्की पुल तत्काल निर्माण गर्नुपर्ने आवश्यकता छ । गाउँपालिको सबै टोलटोलमा सडक पुगेको छ अब यी सबै सडक योजनाहरुको कालोपत्रे गर्नुपर्ने चुनौती रहेको छ । यसको बजेट व्यवस्थापन कसरी गर्ने ? त्यसका स्थानीय स्रोतहरु के–के हुन सक्छन् ? यतातिर बहस आवश्यक छ ।
पूर्वाधार विकासमा विद्यालय, खानेपानी, सिंचाई लगायतका क्षेत्रमा भौतिक निर्माणको काम सन्तोषजनक छैन । सिंचाइको लागि सुनकोसी, चौरीखोला र खानीखोलाको पानी लिफ्ट गरेर अब कृषिमा आधुनिकरण गर्नुपर्छ । अब शिक्षालाई व्यवहारिक र प्राविधिक शिक्षा तर्फ जोडनु पर्ने आवश्यकता छ । शैक्षिक केन्द्रको रुपमा विकास गर्न बौद्धिक जनशक्तिको केन्द्रिकरण, कुशल व्यवस्थापन र प्रशासन, प्राज्ञिक जनशक्तिको व्यवस्था, प्राविधिक शिक्षाको व्यवस्था जस्ता आयामहरु जोड्न आवश्यक छ । यसका साथै गाउँपालिकामा कृषि, पशु र पर्यटनसँग सम्बन्धित विषयहरुलाई लक्षित गरी कलेज र प्राविधिक शिक्षालयहरुको स्थापना गर्नतिर लाग्नु पर्छ ।

सुनापतिको अर्को सम्भावना पर्यटन हो । सुनापति, गुरासे, गाल्वा पर्यटकीय गन्तव्य हुन् । सुनापति गाउँपालिकामा अब होमस्टेको अवधारणा अघि सानुपर्छ । बेथान, गुन्सी, खनियापानी, हिलेदेवी, दिमीपोखरी लगायतका स्थनमा होमस्टेहरुलाई व्यवस्थित गर्ने योजना नेतृत्वमा जरुरी छ । यसले सुनापति गाउँपालिको प्रतिव्यक्ति आय मात्रै नभएर गाउँपालिकाको विकासमा समेत योगदान गर्न सक्दछ ।

पर्यटकीय गन्तव्य र सम्भावित नयाँ गन्त्यव्यहरुको खोजी गरी पर्यटकीय पदमार्गलाई व्यवस्थित गर्ने, पर्यटकको आकांक्षा बमोजिम पूर्वाधार निर्माण, सुरक्षाको प्रत्याभूति र पर्यटनमैत्री संस्कारमा जोड दिने, गाउँपालिकाभित्र होमस्टेको व्यवस्थित अवधारणा अघि सार्ने लगायताका यी योजनालाई व्यवस्थित रुपमा अघि लैजान सकियो भने सुनापति गाउँपालिकाले पर्यटनले छलाङ हान्ने निश्चित छ ।
कृषि र पशुपालनका दृष्टिले सुनापति गाउँपालिका राम्रो सम्भावना भएको क्षेत्रमा पर्छ । कृषिजन्य उत्पादनका दृष्टिले धान, मकै, कोदो, गहुँ, आलु लगायतका खाद्यान्न बाली र सुन्तला, कफी, अलैंची लगायतका नगदे बाली यहाँका मूख्य बाली हुन् ।

तर, तिनीहरुको आधुनिक उत्पादन, भण्डारण र बजारीकरणमा पनि चुनौती छ । समुहवद्ध र योजनावद्ध उत्पादनमा जोड गर्ने, त्यसको सुरक्षित भण्डारणको व्यवस्था गर्ने र बजारीकरणको व्यवस्थित प्रबन्ध गरेर हामीले कृषिमा आत्मनिर्भर मात्रै होइन, निर्यातको सामथ्र्य पनि राख्न सक्दछौं । त्यसका लागि गाउँपालिकाभित्र एक खाद्यान्न शीत भण्डार, एक आधुनिक डेरी, एक कृषि शिक्षालय वा तालिम केन्द्रको स्थापना गरेर कृषि क्षेत्रको प्रवद्र्धन गर्नुपर्छ ।

सुनापति गाउँपालिकोको भौतिक र मानवीय विकासका दृष्टिले धेरै चुनौती रहेका छन् । रोजगारीको अवसर सिर्जना गर्नु, खेतीयोग्य जमिनको संरक्षण गर्नु, बिपन्न नागरिकलाई विकासको समान पहुँचको अवस्था सिर्जना गर्नु चुनौती रुपमा रहेका छन् । चुनौतिको व्यवस्थापन गरेर मात्रै हामीले अवसरलाई चुनौतिमा बदल्न सक्ने आँट अब गर्नुपर्छ ।

बैशाख ३१ को निर्वाचनपछि विकास र बजेटका लागि केन्द्र ताक्ने परम्पराको अन्त्य हुनेछ । त्यसपछिको सम्पूर्ण अवसर, चुनौति र कार्यभार गाउँपालिकाकै थाप्लोमा आउनेछ । पहिलो पाँच वर्षमा जनप्रतिनिधिहरुको काँधमा पूर्वाधार विकास, स्थानीय साधन स्रोतहरुको व्यवस्थित परिचालन र स्थानीय कानूनहरुको तर्जुमाको ठोस जिम्मेवारी थपिनेछ । यसलाई कसरी बहन गर्नेछन् ? गाउँपालिका र नगरपालिकाको भविष्य पनि त्यसैमा निर्भर रहनेछ । अब गफ मात्र होइन साच्चिकै जनताले व्यवहारमा अनुभव गर्ने सक्ने परिवर्तन दिलाउनु पर्ने खाँचो छ । भुकम्प गएको दुई बर्ष वितिसक्दा समेत अझै सुनापति गाउँपालिकामा पुननिर्माणको कामले गति लिन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्