२४ सैं घण्टा सिसि क्यामेराको निगरानीमा मन्थली



२१ वैशाख, रामेछाप ।
मन्थली बजारमा हुने अपराधिक गतिविधि नियन्त्रण गर्न २४ सैं घण्टा सिसि क्यामेरा मार्फत निगरानी हुने भएको छ । बजारलाई सुरक्षित बनाउन जिल्ला सुरक्षा समितिको योजना र उद्योग वाणिज्य संघ रामेछापको नेतृत्वमा मन्थलीको भैसेश्वरदेखि बसपार्कसम्म १६ वटा क्यामेरा जडान सम्पन्न भएर सञ्चालनमा आएको हो ।


भैसेश्वरदेखि विनिता चोक, तामाकोसी अस्पताल, देवकोटा चोक, सिडियो कार्यालय जाने चोक, जिल्ला समन्वय कार्यालय, नयाँ बसपार्कदेखि ट्राफिक चोकसम्म पाँच वटा पिटिजे (चारैतिर खिच्ने मिल्ने) सहित १६ वटा क्यामेरा जडान गरिएको उद्योग वाणिज्य संघ रामेछापका अध्यक्ष श्याम थापाले बताए ।
सबै सिसि क्यामेराको मनिटरिङ गर्न जिल्ला प्रहरी कार्यालयमा ४० इन्चको स्क्रिन राखिएको छ । प्रहरीले सिसि क्यारामेरा मार्फत मन्थली बजारको सबै गतिविधि निगरानी गर्न २ जना प्रहरीलाई खटाएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रेम जोशीले रामेछाप न्युजसँग भने,‘सिसि क्यामेरा जडान भएपछि बजारको सुरक्षा गर्न धेरै सहज भएको छ, हामीले सिसि क्यामेरा मार्फत २४ सैं घण्टाको अनुगमन गरेका छौं ।’ सिसि क्यामेरा जडान भएर सञ्चालनमा आएको एक साता मात्र पुगेको छ । सिसि क्यामेरा जडानमा अहिलेसम्म १५ लाख रुपैयाँ खर्च भएको छ ।


बजारलाई सुरक्षित बनाउन सिसि क्यामेराः जोशी
मन्थली बजारलाई सुरक्षित र अपराधिक क्रियाकलाप हुनबाट रोक्न जिल्ला सुरक्षा समितिले सुरुमा योजना अगाडि सारेको बताउदै जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रेम जोशीले सिसि क्यामेरा जडान भएपछि धेरै सहज भएको बताए । उनले भने,‘मन्थलीको चोकचोकमा सिसि क्यामेरा जडान भएपछि गलत काम गर्नेहरु पनि सतर्क हुन्छन ।’ २४ सैं घण्टा सिसि क्यामेराले निगरानी गर्छ, बजारलाई सुरक्षित बनाउन ठूलै मद्दत पुगेको छ, उनले भने । प्रहरीले अझै केही स्थानमा सिसि क्यामेरा थप्नु पर्नेमा जोड दिएको छ ।
क–कसले गरे सहयोग ?
सिसि क्यामेरा जडान गर्नको लागि जिल्ला समन्वय समिति रामेछापले ५ लाख, मन्थली नगरपालिबाट ३ लाख ५० हजार, नवजागरण ऋण तथा बचत सहकारीले ५० हजार, मन्थली बचत तथा ऋण सहकारीले ५० हजार, हाम्रो बचत तथा ऋण सहकारीले २० हजार, इन्भेष्टमेन्ट बैंकले ५० हजार, कृषि विकास बैंकले ५० हजार, एनएमबी बैंकले ५० हजार सहयोग गरेका छन् ।
त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकले ५० हजार, एनसिसी बैंकले ३० हजार, जुरिजम बैंकले ३० हजार, प्रभु बैंकले २५ हजार रुपैयाँ दिने प्रतिबद्धता व्यक्त गरेको उद्योग वाणिज्य संघका अध्यक्ष थापाले बताए । रामेछाप जिल्लामा नौ वटा बैंकका शाखा रहेका छन् । हिमगंगा यातायात प्रालिले २५ हजार, त्रिवेणी यातायातले २५ हजार रुपैयाँ सहयोग गरेको उनले बताए ।
अझै सिसि क्यामेरा विस्तार गर्ने योजनामा छौंः थापा


मन्थली नगरपालिकालाई अझ सुरक्षित बनाउनको लागि केही क्यामेरा थप्ने योजना बनाएका छौं । अहिले १३ लाख रुपैयाँ संकलन भएको छ । अझैं २ लाख रुपैयाँ पुगेको छैन् । मुख्य त सुरक्षालाई केन्द्रमा राखेर सिसि क्यामेरा जडान गरिएको हो । सिसि क्यामेरा जडान गरेर सञ्चालनमा आएपछि गलत काम गर्नेहरुलाई निरुत्साहित गरेको छ । अहिले १६ वटा क्यामेरा सञ्चालनमा ल्याएका छौं । अझै ८ वटा क्यामेरा प्रहरी कार्यालयमा राखेको स्क्रिन मार्फत सहज रुपमा हेर्न सकिन्छ । आर्थिक संकलन गर्न सके अझै क्यामेरा थप्ने योजनामा छौं ।

अझै सिसि क्यामेरा थप्न प्रहरीको आग्रह
सदरमुकाम मन्थलीमा हुने अपराधिक गतिविधि नियन्त्रण गर्न र शान्ति सुरक्षा कायम गर्न थप सहज बनाउन सिसि क्यामेराले सहयोग गर्ने भएको छ । प्रहरीले एरपोर्टको पुल, सित्खा, सेलेघाट खुर्कोट लगायतको स्थानमा सिसि क्यामेरा आवश्यक भएको बताएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले सदरमुकाम मन्थलीसँगै जिल्ला जोडने मुख्य नाकाहरुमा पनि सिसि क्यामेरा आवश्यक भएको बताएको छ ।

प्रहरीले रामेछाप आकाशेमा रहेको तामाकोसीको पुल, सेलेघाट, खुर्कोट, सित्खा लुभु खिम्ती लगायतको क्षेत्रमा पनि सिसि क्यामरा राख्नु पर्नेमा जोड दिएको छ । सदरमुकाम मन्थलीबाट सबै मनिटरिङ गर्न नसकिए पनि दुई दिनसम्म सिसि क्यामेराको फुटेज रहने भएकाले नाकामा रहेको प्रहरी कार्यालयले हेर्न गरी सिसि क्यामेरा आवश्यक भएको सुझाव प्रहरीले दिएको छ । हाल सेवाग्राहीको बढी चाप हुने क्षेत्र, बैंक, सहकारी, मुख्य चोकमा सिसि क्यामेरा जडान गरिएको छ । मन्थलीमा पहिलो पटक सिसि क्यामेरा जडान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्