निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउन प्रजिअ खत्रीको निर्देशन



२४ वैशाख, रामेछाप ।
रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचलाई निष्पक्ष ढंगले सम्पन्न गराउन निर्देशन दिएका छन् । रामेछापको आठ स्थानीय तहको १ सय ७० मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्देशन दिदै खत्रीले स्वतन्त्र र निष्पक्ष ढंगेले निर्वाचन सम्पन्न गर्न निर्देशन दिएका हुन् । प्रजिअ खत्रीले भने,‘सुरक्षाको चिन्ता लिनु पर्दैन, हामी सुरक्षा दिन तयार छौ, सुरक्षाको सबै निकाय परिचालन भइसकेको छ, निर्वाचनमा खटिएका अधिकृतहरुले निष्पक्ष रुपमा काम गर्नुहोस ।’

कार्यक्रममा रामेछाप जिल्लाका न्यायाधिश समेत रहेका जिल्लाका मुख्य निर्वाचन अधिकृत किरण सिवाकोटीले निर्वाचनलाई सफल बनाउन निष्पक्ष रुपमा सम्पन्न गराउने अधिकृतहरुलाई निर्देशन दिए । रामेछापको ६ गाउँपालिका र २ नगरपालिकामा गरी ३ सय ४० जना मतदान अधिकृत र सहकाय मतदान अधिकृत खटिने भएका छन् । मतदान अधिकृतहरुलाई तालिम प्रदान गरेर सम्बन्धित मतदान केन्द्रमा पठाउने तयारी भएको जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकारी कपिल प्रसाद उपाध्यायले रामेछाप न्युजलाई बताए ।


मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान अधिकृतलाई नियुक्ति दिएर भोलीबाट नै मतदान केन्द्रमा पठाउने तयारी गरेको छ । ८ स्थानीय तहमा खटिने मतदान अधिकृतले नै मतपत्र सहित ६४ प्रकारका सामग्री लिएर जाने उपाध्यायले जानकारी दिए । निर्वाचनको लागि सियो धागोदेखिका सामाग्री प्रयोग हुने बताउदै उनले मत केन्द्रको लागि आवश्यक सामग्री सहित सुरक्षाकर्मीले स्थानीय तहमा मतपत्र पुर्याउने बताए । रामेछापको ८ स्थानीयमा १ लाख ३४ हजार ६ सय २० जना मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्