रामेछापलाई नमूना नगरपालिका बनाएर देखाउछुः मगर



रामेछाप नगरपालिकामा चुनावी अभियान तिब्र बनेको छ । २०३६ सालमा देशमा बहुदलिय व्यवस्था स्थापना गर्नको लागि निलो सट लगाएर पञ्चायती व्यवस्थाको विरुद्ध उभिएका नरबहादुर मगर नेपाली काग्रेसको तर्फबाट रामेछाप नगरपालिकाको नगर प्रमुखको उम्मेदवार हुन् ।

नरबहादुर मगर, नगर प्रमुखका उम्मेदवार, रामेछाप नगरपालिका,नेपाली काग्रेस

देशमा राजनीतिक परिवर्तनको लागि लामो समयदेखि राजनीतिमा सक्रिय रहदै आएका मगरले वैशाख ३१ हुने स्थानीय तहको निर्वाचनमा आफ्नो जित निश्तिच रहेको दावी गरेका छन् । नगर प्रमुखका उम्मेदवार मगर दुई पटक जिल्ला कार्य समिति रामेछापका सदस्य, तीन पटक महाधिवेशन प्रतिनिधि भइसकेका छन् । निर्वाचनमा विजयी भए रामेछाप नगरपालिकालाई नमूना नगरपालिका बनाउनेदेखि लिएर कनै पनि भ्रष्टचारजन्य गतिविधि हुन नदिने प्रतिबद्धता मगरले व्यक्त गरेका छन् । रामेछाप नगरपालिकालाई समृद्ध बनाउने योजना, लगायतको विषयमा केन्द्रीत रहेर रामेछापका नगर प्रमुखका उम्मेदवार मगरसँग रामेछाप न्युजले गरेको कुराकानीः

चुनावी अभियान कसरी अगाडि बढीरहेको छ ?
–जनताको चाहना र पार्टीको विश्वासमा म रामेछाप नगरपालिकाको नगर प्रमुखको उम्मेदवार बनेको हुँ । लामो समयदेखि राजनीतिलाई नै कर्म बनाएको कारण जनताले मलाई जिताउछ भन्नेमा ढुक्क छु । निर्वाचनको प्रचार–प्रसारको अभियानमा छौं । सिंगो पार्टीको साथ, जनताको विश्वासको कारण मेरो पक्षमा राम्रो महालो बनेको छ ।

निर्वाचन जितेपछि के छ तपाईको योजना ?
–निर्वाचनमा जनतालाई मलाई विजय गराए जनताको चाहना अनुसार काम गर्छु । नगरपालिकालाई नमूना गरपालिकाको रुपमा विकास गर्ने योजना अगाडि सारेको छु । सडक, स्वास्थ्य, शिक्षा, रोजगारी, उद्योग धन्दा स्थापना लगायतका आधारभूत क्षेत्रमा पहिलो चरणमा काम अगाडि बढाउने छु । आजको भोली नै सबै समस्याको समाधान हुँदैन । क्रमश, प्राथमिकता निर्धारण गरेर काम गर्छु ।

रामेछाप नगरपालिकाका बासिन्दालाई समृद्ध बनाउन के सोच्नु भएको छ ?
–रामेछाप नगरपालिका रामेछापको पुरानो सदरमुकाम पनि हो । प्राकृतिक स्रोध साधनमा धनी भएपनि यसको सही ढंगले उपयोग हुन सकेको छैन् । मुख्य त रामेछाप नगरपालिकाका बासिन्दालाई धनी बनाउने भनेको लिखु खोलामा सञ्चालिन जलविद्युत आयोजना नै हो । अब लिखुको पानीबाटै धनी बनाउने योजना अगाडि सारिने छ । लिखु खोलामा सञ्चालन हुने सबै जलविद्युत आयोजनामा सबै रामेछाप नगरपालिकाका जनतालाई सेयर हाल्ने व्यवस्था गरिनेछ ।
नगरपालिकाभित्र सञ्चालन हुने उद्योगमा स्थानीयवासीलाई अनिवार्य सेयर प्रदान गर्ने व्यवस्था गर्नेछु । रामेछाप नगरपालिकाभित्र क्रसर उद्योग सञ्चालन गर्ने, त्यसमा पनि स्थानीयलाई सेयर दिइने छ । उद्योग स्थापना गरेर रोजगारीको सृजना गरिन छ । जसको कारण राजेगारी र यहाँका बासिन्दाको आर्थिक जीवनस्तर उकास्न ठूलो टेवा पुग्नेछ ।

कृषि क्षेत्रमा परिवर्तन गर्ने तपाईको के योजना छ ?
–नेपाल नै कृषि प्रधान देश हो । रामेछाप नगरपालिका पनि कृषि पेशामा नै बढी मानिसहरु आश्रित छन् । अब परम्परगत रुपमा होइन ।आधुनिक र वैज्ञानिक ढंगबाट कृषि पेशालाई रुपान्तरण गर्नुपर्छ । जुनार खेती, अनार खेती लगायतका फलफुल खेतीलाई पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना अगाडि सारेको छु ।

सडक निर्माण भएपनि स्तरउन्तती नहुँदा जनता हैरान छ ? सडक निर्माण गर्न कस्तो कदम चाल्नुहुन्छ ?
–अब नगरपालिकाको सबै टोलटोलमा सडक पुग्छ । केही पग्न बाँकी रहेको क्षेत्रमा सडक पुर्याउन मेरो पहिलो प्राथमिकता हुनेछ । अब निर्माण भएका सडकलाई व्यवस्थित गनुपर्छ । नगरपालिकाले नै डोजर खरिद गरेर सडक पुग्न बाँकी रहेका नगरपालिकाको टोलटोलमा सडक पुर्याउने छु । दुई बर्षपछि अब जनताले मलाई सडक चाहियो भनेर माग्ने अवस्थाको अन्त्य गरिनेछ ।
विद्युत खानेपानीको बारेमा के सोच्नु भएको छ ?
–अबको दुई बर्षभित्र रामेछाप नगरपालिकाका सबै वडामा बिजुली बल्छ । अहिले पनि विद्युतीकरणको काम भइरहेको छ । विशेषगरी खानेपानीको समस्या निकै जटिल बन्दै गएको छ । अब लिखु खोला र सुनकोसीबाट लिफ्ट सिस्टम मार्फत खानेपानी व्यवस्था गरिनेछ । केही योजना अहिले पनि सञ्चालन भइरहेका छन् ।

अन्त्यमा केही भन्नु छ कि ?
–अब बोल्ने भाषणा गर्ने भन्दा पनि काम गरेर देखाउने बेला आएको छ । मेलै निर्वाचन जितेर नगर प्रमुख भएको अवस्थामा भ्रष्टचारजन्य कुनै पनि क्रियाकलाप हुन दिन्न । चाहे आफ्नो पार्टीको होस । चाहे अन्य पार्टीको होस । सुशासन र पारदर्शिता मेरो पहिलो प्राथमिकता हुनेछ । नगरपालिकाभित्र अनियमितता हुने दिने छैन् । पाँच बर्षको कार्यकालयमा सुशासनमा नमूना नगरपालिका बनाएर देखाउछु । म नगरपालिकाबाट केही कमाउन होइन । जनताको सेवा र विकास गर्न उम्मेदवारी दिएको हुँ ।

प्रतिक्रिया दिनुहोस्