रामेछापमा १ हजार २ सय ५४ जनाको उम्मेदवारी, कहाँ कति ? (सूचि सहित)



स्नेहा सिलवाल
२५ वैशाख, रामेछाप ।
आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि रामेछापको २ नगरपालिका र ६ गाउँपालिकामा १ हजार २ सय ५४ जनाले उम्मेदवारी दिएका छन् । स्थानीय तहको निर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालय रामेछापमा दर्ता भएका १७ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका हुन् । रामेछापमा आठ स्थानीय तहमा निर्वाचनको लागि १ हजार २ सय ८६ जनाले उम्मेदवारी दिएपनि केही स्थानमा फिर्ता लिएको र केहीको उम्मेदवारी दर्तामा प्रमाण नपुगेको कारण १ हजार २ सय ५४ जनाको मात्र उम्मेदवारी परेको हो ।
रामेछापको २ नगरपालिका र ६ गाउँपालिकामा गरी ६४ वटा वडा रहेका छन् । २ नगरपालिका नगर प्रमुख र नगर उपप्रमुख गरी चार जना चुनिने छन् । त्यसैगरी ६ गाउँपालिकामा ६ जना अध्यक्ष र ६ जना उपाध्यक्ष गरी १२ जना निर्वाचित हुनेछन् । प्रत्येक वडामा वडा अध्यक्ष सहित पाँच जना सदस्य निर्वाचित हुनेछन् । नगरपालिका, गाउँपालिका वडा अध्यक्ष र सदस्य सहित ८ स्थानीय तहबाट ३ सय ३६ जना निर्वाचित हुने छन् । निर्वाचनको लागि पद भन्दा दुई तिहाई बढी उम्मेदवारी परेको छ ।
जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकारी कपिल प्रसाद उपाध्यायले रामेछापको ८ वटै स्थानीय तहमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताए । उनले रामेछाप न्युजसँग भने,‘निर्वाचनको लागि ३ सय ४० जना मतदान अधिकृत र सहायक मतदान अधिकृत आजबाट १ सय ७० मतदान केन्द्रमा खनिने भएका छन ।’


रामेछापको मुख्य निर्वाचन अधिकृतको कार्यालयले ३ सय ४० जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आजबाट मतदान केन्द्रमा पठाउने भएको छ । रामेछापको ८ स्थानीय तहमा एक हजार भन्दा बढी कर्मचारी खटिने भएका छन् । प्रत्येक मतदान केन्द्रमा पाँचदेखि ६ जनासम्म कर्मचारी खटिने जिल्ला निर्वाचन कार्यालय रामेछापले बताएको छ । रामेछापको ८ स्थानीय तहमा १ लाख ३४ हजार ६ सय २० जना मतदाता रहेका छन् ।
रामेछापको रामेछाप नगरपालिकामा १ सय ७८ जना, मन्थली नगरपालिकामा २७८ जना, उमाकुण्ड गाउँपालिकामा १४३ जना, खाडाँदेवी गाउँपालिकामा १५८ जना, गोगुलगंगा गाउँपालिकामा १३४ जना, दोरम्बा गाउँपालिकामा ११९ जना, लिखु गाउँपालिकामा १३७ जना र सुनापति गाउँपालिकामा १०६ जनाको उम्मेदवारी परेको छ । सबै भन्दा बढी मन्थली नगरपालिकामा २७८ जना र सबै कम सुनापति गाउँपालिकामा १०६ जनाको मात्र उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय रामेछापले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्