सुनापति गाउँपालिका–१ गुन्सीको विकास गर्ने उम्मेदवार चौलागार्इंको सात योजना



आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि राजनीतिक दलहरुले चुनावी अभियानलाई तिब्रता दिएका छन् । सुनापति गाउँपालिकामा पनि नेकपा माओवादी केन्द्रले चुनावी अभियानलाई रातदिन नभनी अगाडि बढाएको छ । माओवादीले घरदैलो कार्यक्रम, चुनावी सभा लगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ । सुनापति गाउँपालिका–१ गुन्सीबाट माओवादीले चण्डेश्वर चौलागाई ‘राजु’लाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । वडा अध्यक्षका उम्मेदवार चौलागाईंले आफ्नो जित सुनिश्चित भएको बताएका छन् ।

२०४७ सालमा अनेरास्ववियु छैठौबाट राजनीतिक यात्रा सुरु गरेका चौलागाई सुनापति गाउँपालिका–१ गुन्सीमा इमान्दार व्यक्तित्व मानिन्छन् । २०५१ सालमा अनेरास्ववियु रामेछापको सचिव, २०५६ सालमा पाटन संयुक्त क्याम्पसमा अनेरास्ववियुको इकाई सदस्य भएर काम गरेका चौलागाई २०५८ सालमा तत्कालिन नेकपा माओवादीको गुन्सी गाविसको सचिव भएर भूमिका निर्वाह गरेका थिए ।

चण्डेश्वर चौलागाई ‘राजु’, वडा अध्यक्षका उम्मेदवार, सुनापति गाउँपालिका–१ नेकपा माओवादी केन्द्र

राजनीति जनताको समृद्धिको लागि गर्नुपर्छ भन्ने मान्यता राख्ने उम्मेदवार चौलागाईले राजनीतिक यात्रामा रातदिन नभनी जनताको दुःखमा साथ दिएको बताउछन् । उनले आफ्नो वडाको विकास निर्माणमा अगुवाई गरेका छन् । उनी भन्छन–‘राजनीतिलाई जनताको जीवनस्तर उकास्ने कर्ममा उपयोग गर्नुपर्छ, व्यक्तिगत स्वार्थमा होइन ।’ आगामी निर्वाचनमा आफूलाई जनताले जिताए, भाषणा गर्ने मात्र होइन, जनताको जीवनस्तरमा परिवर्तन गरेर देखाउने योजना बनाएको चौलागाई बताउछन् ।

२०६२ सालमा गुन्सी गाउँ पार्टी इन्चार्ज भएर काम गरेका उनी २०६६ सालमा गुन्सी गाविसको अध्यक्ष भएका थिए । २०७२ सालमा रामेछापको जिल्ला कमिटी सदस्य भएका चौलागाईलाई पार्टीप्रतिको लगनीशिलताकै कारण पार्टीले वडा अध्यक्षको उम्मेदवार बनाएको छ । सर्वसम्मत वडा अध्यक्ष भएका चौलागाईले निर्वाचनमा विजयी भएपछि यस्ता योजना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यसै विषयमा उम्मेदवार चण्डेश्वर चौलागाई ‘राजु’सँग रामेछाप न्युजले गरेको कुराकानीः–

टोल टोलमा सडक खानीखोला र चौरीखोलमा पक्की पुल
सुनापति गाउँपालिका–१ गुन्सीको सबै टोल टोलमा सडक पुर्याउने मेरो मुख्य लक्ष्य रहेको छ । सुनापति गाउँपालिको केन्द्र हिलेदेवी जाने सडक, गुन्सी–डहु–लुभु हुँदै राजधानी जोडने सडकको स्तरउन्नती गर्नेछु । चौरीखोलामा निर्माणधिन पक्की पुल समयमा नै सम्पन्न गर्ने भूमिका खेल्छु । यसको साथै खानीखोलाको पुल निर्माणको कामलाई प्राथमिकताको साथ अगाडि बढाउने योजना बनाएको छु । वडाको सबै क्षेत्रमा सडक पुगेपनि व्यवस्थित हुन सकेको छैन् । अब वडाभित्र रहेका सबै सडकहरुको स्तरउन्नती गरेर १२ महिना नै यातायात सञ्चालन गर्न सकिने बताइनेछ । सार्वजनिक यातायात मार्फत जनतालाई सुविधा दिइनेछ । बोझिनीबाट शतलिङ्गश्वरसम्म सिधा सडक जोडन पहल गर्छु । काभ्रे–देउराली–राम्चे–चौरीखोला सिमपानी–धारापानी–गुन्सी सडकलाई स्तरउन्नती गरिनेछ ।
पञ्चकन्या प्रावि सतलिङ्गगेश्वर मावि, गाल्वा ओढोर सडक, व्यवस्थित बनाउने,खैरेनीघाट–डहु–डोप्ला ढुंगाखानी सडक निर्माणलाई तिब्रता दिने, सडक सञ्जाल निर्माण गर्न गुरु योजना निर्माण गरेरै काम अगाडि बढाउने योजना बनाइएको छ ।

कृषिमा आनुधिकरण
गाउँघरमा अहिले पनि परम्परागत रुपमा खेतीपाती हुँदै आएको छ । अब आधुनिक र वैज्ञानिक ढंगले वडामा कृषिको व्यवसायिक रुपमा खेती सुरु गरिनेछ । वडामा सिचांइको पहुँच भएका क्षेत्रमा व्यवसायिक रुपमा तरकारी खती सञ्चालन गरिनेछ । कृषकहरुको लागि आनुधिक विऊबिजन उपलब्ध गराइनेछ । सामुहिक खेती प्रणालीमा जोड दिइनेछ । माटोको परीक्षण गर्ने व्यवस्था मिलाउनको साथै कृषि प्राविधिकको सल्लाह बमोजिम कृषिको काम अगाडि बढाइनेछ । जसको कारण कृषकले कृषि पेसा मार्फत राम्रो आम्दानी गर्न सक्छन । वडाभित्र व्यवसायिक रुपमा कृषि फर्म सञ्चालन गर्नेहरुलाई आर्कषित गर्नको लागि वडाले छुट्टै कार्यक्रम सञ्चालन गर्नेछ । राजधानी काठमाडौदेखि वैदेशिक रोजगारीमा रहेका वडाका युवाहरुलाई आफ्नै गाउँघरमा लगानी गर्न प्रोत्साहित गरिनेछ ।

शिक्षालाई वैज्ञानिक र युग सुहाउदो
अब वडाभित्र रहेका विद्यालयहरुमा वैज्ञानिक र युग सुहाउदो शिक्षा प्रदान गरिनेछ । वडाभित्र रहेको विद्यालयहरुलाई प्राविधिक शिक्षामा जोड दिइनेछ । शतलिङ्गेश्वर माविमा केही समयभित्र नै प्राविधिक शिक्षाको विषय पढाई सुरु गर्न पहल गरिनेछ । कृषि, पर्यटन लगायतका प्राविधिक शिक्षामा जोड दिने मैले योजना बनाएको छु ।

चौरीखोला र खानीखोलाबाट लिफ्टबाट सिचांई
गुन्सीमा खानेपानीको समस्या रहेको क्षेत्रमा चौरीखोलाबाट लिफ्ट गरेर पहिलो प्राथमिकता खानेपानी पुर्याउने हुनेछ । दोस्रो प्राथमिकता सिचांई योग्य बाझो जमिनमा सिंचांई गर्न चौरीखोला र खानीकोलाबाट लिफ्टबाट पानी तानेर सिचांइ गर्ने योजना अगाडि सारेको छु ।

युवालाई गाउँघरमै रोजगारी
रोजगारीको अभावमा वडाको धेरै युवा वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगारीमा जानु युवाहरुको रहर नभई बाँध्यता हो । अब वैदेशिक रोजगारीमा जाने युवाहरुलाई गाउँघरमा नै रोजगारी सृजना गर्ने गरी काम अगाडि बढाउने योजना बनाएको छु । बाख्रापालन गर्ने युवाहरुलाई सहुलियत ऋण उपलब्ध गराउन पहल गर्नेछु । चौरीखोलाको किनारमा रहेका खेतीयोग्य जमिनमा वडाकै लगानी र कृषिकहरुको सेयर मार्फत व्यवसायिक तरकारी खेती सुरु गरिनेछ छ । चौरीखोलामा जलविद्युत आयोजना निर्माणको कामलाई अगाडि बढाउने र गाउँघरमा नै युवाहरुलाई रोजगारी सृजना गर्ने योजना अगाडि बढाइनेछ ।

बाँदरको समस्या समाधान गर्न पहल गर्छु
कृषकहरुले दुःख कष्ट झेलेर लगाएको बाली भित्र्याउन बाँदरले निकै दुःख दिने गरेको छ । बाली भित्र्याउने बेलामा खेतबारीमा नै कुरेर ्बस्नु पर्ने बाँध्यता छ । यो वडाको अधिकाशं क्षेत्रको समस्या हो । बाँदरबाट पीडित किसानलाई राहत दिन देश विदेशमा बाँदर नियन्त्रण गर्न भएको प्रयासको अध्यायन गरी उचित ढंगले बाँदर नियन्त्रण गर्ने कदम अगाडि बढाउनेछु ।

गुन्सीमा होमस्टे सञ्चालन
सुनापति गाउँपालिकाको १ नम्बर वडा गुन्सी प्राकृतिक स्रोत साधनले सम्पन्न छ । यहाँको हावापानी भू–बनोट फरक–फरक छ । गुन्सी हुँदै सुनापति र गुन्सी हुँदै सैलुङसम्म जोडने पैदल मार्गको रुपमा विकास गर्ने योजना अगाडि सारिएको छ । वडाभित्र अब होमस्टे सञ्चालन गरिनेछ । वडाभित्र रहेका धर्म संस्कृति रितिरिवाजको संरक्षण गर्दै बाह्य एवं आन्तरिक पर्यटकलाई आर्कषित केन्द्रको रुपमा विकास गरिनेछ । गुरासे देवीको मन्दीर जाने केन्द्र पनि गुन्सीलाई नै बनाइनेछ ।

प्रतिक्रिया दिनुहोस्