कोथबेका माझी भन्छन–जसले बनाउछ झुलुङ्गे पुल उसैलाई दिन्छौ भोट



२६ वैशाख, रामेछाप ।
कोथवकै किनार हुँदै सुनकोसी नदी बग्छ । सुनकोसीमा धेरै पानी बगिसक्यो । नदीको किनार भएर पनि कोथबे उजाड छ । कोथबेका माझी बस्तीका बासिन्दाले रातदिन सुनकोसी नदीसँग संघर्ष गरिहको छन् । नदी पारीपट्टी विपी राजमार्गमा गाडी हुइकिन्छ । तर कोथबेका माझी बस्तीका बासिन्दा भने बर्षौदेखि जोखिमयुक्त डुंगाको यात्रा गर्न बाँध्य छन् । सरकारले तुइन विस्तापित गरेर झुलङ्गे पुल हाल्ने निर्णय गरेपनि कोथबेका माझी बस्तीमा भने लागू हुन सकेको छैन् ।

रामेछापको खाडाँदेवी गाउँपालिका–१ राकाथुम वडामा रहेको कोथबेका माझीहरुले अहिलेसम्म धेरै राजनीतिक दलरुलाई भोट पनि दिए । भोट माग्न आउने बेलामा धेरै राजनीतिक दलहरुले सुनकोसीमा झोलुङ्ग पुल निर्माण गर्ने बाचा पनि गरे । तर अहिलेसम्म पूरा गरेका छैनन् । कोथबेका स्थानीय चन्द्र माझीले रामेछाप न्युजसँग भने, ‘हरेक चुनावमा नेता आए भोट मागे, भोट दियो तर हाम्रो समस्या कहिले सुनेनन ।’ उनले राजनीतिक दलका नेताहरुले चुनावमा बाचा गरेपनि निर्वाचन सकिए लगत्तै चटक्कै भुल्दा आफूहरुको पीडित बनेको बताउछन ।

कोथबेका स्थानीय हिरा माझी भन्छन–‘हाम्रो दुःख कसलाई सुनाउने हो ? अब त सुनाउने निकाय नै छैन, नेताहरु आउछन भोट माग्छन चुनाव जितेर जान्छ तर पुल बनाउने कुरा नै गर्दैनन ।’ राजनीतिक रुपमा पहुँच नहदा आफूहरु पीडित हुनु परेको बताउदै उनले थपे,नेताको घरवस्तीमा विकास निर्माणको लहर चलेको छ हाम्रो बस्तीमा दुःख उस्तै छ ।

माझी बस्तीको लागि तुईनजस्तै जोखिमयुक्त बनेको छ डुंगाको यात्रा । खेतीपाती सञ्चालन गर्नेदेखि लिएर दैनिक आवतजावत गर्न डुंगाकै भर पर्ने गरेका छन् । सिचांईको राम्रो व्यवस्था नहुँदा कोथबेका माझीहरुको आधा खेतीपाती सिन्धुलीमा छ । तर कोथबेका माझी बस्तीको लागि भने सरकारले तुईन विस्पात गर्ने घोषणाले छुन सकेके छैन् । हरेक निर्वाचनमा नेताहरु कोथबे घाटमा झोलुङ्ग पुल निर्माण गरिदिने बाचा बालुवामा पानीजस्तै भएको छ ।

कोथबेको माझी बस्तीमा अझै बिजुली बत्ति बल्न सकेको छैन् । भुकम्पको कारण भत्किएको घर निर्माण हुन सकेको छैन् । बिजुली नहुँदा नदी किनारामा भएर पनि कोथबेको टारमा खेतीपाती गर्न आकाशे पानीकै भर पर्नु परेको छ ।
स्थानीय दिपक माझीले कोथबेघाटमा झोलुङ्ग पुल निर्माण हुन नसक्दा विद्यार्थीले बीचमै पढाई छोडनु परेको बताउछन् । पुल तर्नको लागि दैनिक डेढ घण्टासम्म हिडनु पर्दा र बर्षाको समयमा डुंगाको यात्रा जोखिमयुक्त हुने भएकाले विद्यार्थीहरुले बीचमा नै पढाई छोडने गरेको छन, माझीले भने ।
कोथबेका माझीहरुले मुख्य पेशा माछा मार्ने हो । माछा मार्ने पेसा विस्तार्र संकटमा पर्दै जान थालेपछि यहाँका माझीहरुले कृषि पेशातिर आर्कषित हुन थालेका छन् । सुनकोसी नदीमा माछाको संख्या घटेकाले पेशा नै परिवर्तन गर्नु परेको स्थानीय खड्कबहादुर माझीले रामेछाप न्युजलाई बताए ।कोथबेमा ५८ घरघुरी माझी बस्ती छ । तीन कक्षासम्म पढाइ हुने प्रावि विद्यालय रहेपनि शिक्षकहरु समयमा विद्यालय नआउदा गुणस्तरीय पठनपाठन हुन नसकेको गुनासो माझीहरुको छ । १ सय ५० जना विद्यार्थी रहेपनि गुणस्तरीय पढाइ नहुँदा शिक्षाका विकास हुन सकेको छैन् ।

प्रावि मात्र भएकाले मावि तहको विद्यालय अध्ययन गर्न सुनकोसीमा जोखिमयुक्त डुंगा तरेर सिन्धुलीको झाकाझोलीमा पढ्न जान यहाँका विद्यार्थी बाँध्य छन् । कोथबेकाट बेलघारीसम्म पुल तर्नको लागि डेढ घण्टा धाउनु पर्छ, स्थानीय दिपक माझीले रामेछाप न्युजसँग भने,‘सित्खाबाट सडक निर्माण गरिएपनि खैरेनीघाट जोडने सडक खण्ड अधुरै रहदा पनि समस्या नै छ ।’

भुकम्पको कारण कोथबेका माझी बस्तीमा ९० प्रतिशत घर भत्किएको छ । भुकम्प गएको दुई बर्ष वितिसक्दा समेत पुर्ननिर्माणको कामले गति लिन सकेको छैन् । केही संघ संस्थाले कोसीको पानी लिफ्ट गरेर खानीको व्यवस्था गदिएपछि बिजुलीको अभावमा सुन फलाउने कोथबेको टार भने बाझो नै रहेको छ ।
कोथबेका माझी बस्तीका अधिकाश युवाहरु विदेश पलायन भएका छन् भने बाँकी युवाहरु पनि राजधानीमा रोजगारीको लागि जाने गरेका छन् । कोथबीका स्थानीय धनबहादुर माझीले रामेछाप न्युजसँग भने,‘हामी भोट हाल्न तयार छौ तर त्यसको लागि यस पटक राजनीतिक दलहरुले पुल बनाइदिने लिखित प्रतिबद्धता नै व्यक्त गर्नुपर्छ ।’
केही बर्ष अघि कोथबे घाटमा डुंगा पल्टिदा दुई जनाको ज्यान गएको थियो । बेलाबखत डुंगा दुर्घटना हुने जोखिम पनि उत्तिकै रहेको छ । समयमा नै झोलुङ्ग पुल निर्माण नहुँदा माझी समुदायहरु शिक्षामा पहुँज बढ्न सकेको छैन् । झोलुङ्ग पुल निर्माण नहुँदा सांस्कृतिक रुपमा धनी माझी समुदायको संस्कति पनि विस्तारै हटाउदै जान थालेको छ । बर्षौदेखि जोखिमपूर्ण डुंगामा यात्रा गर्दै आएका कोथबेमा राज्यको ध्यान कहिले जाला ?

प्रतिक्रिया दिनुहोस्