सात पदमा मतदान गर्ने सजिलो विधि



२६ वैशाख, काठमाडौं ।
आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा कसरी मतदान गर्ने भन्ने धेरैको चासोको विषय छ । दल र स्वतन्त्रका गरी धेरै उम्मेदवारी हुने भएकाले कहाँ–कहाँ मत दिने भन्ने अन्यौलता पनि हुन सक्छ । अन्यौलता र दुविधा हटाउनको लागि निर्वाचन आयोगले मतदान गर्ने तरिकाको बारेमा सचेताना फैलाउने कार्यक्रमलाई तिब्रता दिएको छ ।

निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने ३, ४ र ६ नम्बर प्रदेशका स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रमलाई अगाडि बढाएको छ । स्थानीय तह निर्वाचनका लागि मतदातालाई निर्वाचन चिह्नबारे जानकारी दिन यही वैशाख २८ गतेदेखि ३० गतेसम्म छ हजार छ सय ४२ मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता÷स्वयम्सेवक परिचालन गरिने निर्वाचन आयोगले बताएको छ ।

आगामी निर्वाचनमा छ आकारका मतपत्र छन् । सबैभन्दा बढी ६८ लहर (चुनाव चिह्न) भएको काठमाडौँको मतपत्र तथा सबैभन्दा सानो थोरै दल भएको मनाङमा १८ लहर भएको मतपत्र छ । अन्य जिल्लामा ४४, ३६, २८ र २२ लहर भएको मतपत्र रहेको आयोगले जनाएको छ ।

यही वैशाख ३१ गते हुने निर्वाचनको मतदान गर्ने समय बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान केन्द्रमा पुगिसक्नुपर्छ । त्यस्तै मतदाता परिचयपत्र साथमा लैजानुपर्छ । आयोगले वैशाख २८, २९ र ३० गते सबै मतदान केन्द्रबाट मतदाताको परिचयपत्र वितरण गर्ने तयारी निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।

निर्वाचनका लागि अध्यक्ष÷प्रमुख, उपाध्यक्ष÷उपप्रमुख, वडाध्यक्ष, दुई खुला सदस्य, दुई महिला (एक दलितसहित) सदस्य गरी जम्मा सात पदका लागि मतदान गर्नुपर्ने उनले बताए ।

मतपत्रमा पहिलो लाइनमा अध्यक्ष वा प्रमुख, दोस्रो लाइनमा उपाध्यक्ष वा उपप्रमुख, तेस्रो लाइनमा वडाध्यक्ष, चौथौ लाइनमा महिला सदस्य, पाँचौँ लाइनमा दलित महिला सदस्य तथा छैटौँ र सातौं लाइनमा दुई अन्य खुला वडा सदस्यका लागि रहेको छ ।

मतपत्रको छैटौँ र सातौँ लाइनमा संसद्मा प्रतिनिधित्व गर्ने दलका उम्मेदवारका लागि मतदातालाई उम्मेदवार पहिचान गर्न सहज होस् भनेर छैटौंमा एक चुनाव चिह्न र सातौँमा एकै दलका दुई चुनाव चिह्न राखिएको छ । खुला दुई वडा सदस्यका बारेमा मतदातालाई पहिचान गर्न उम्मेदवारको वर्णानुक्रमानुसार पहिलोलाई एक चिह्न र दोस्रोलाई दुई चिह्नको व्यवस्था गरिएको आयोगले जनाएको छ । स्वतन्त्र उम्मेदवारका लागि भने सबै लाइनमा एकै चुनाव चिह्न राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्