यसरी गरौं दोरम्बा गाउँपालिकाको विकास



दोरम्बा गाउँपालिका प्राकृतिक स्रोत र साधनमा धनी छ । यहाँको प्राकृतिक सौन्दर्यले सबैलाई लोभ्याउने गरेको छ । नयाँ संरचना अनुसार साबिकको ७ वटा गाविस समेटिएर दोरम्बा गाउँपालिका गठन भएको छ । दोरम्बा गाउँपालिकाको विकास कसरी गर्ने ? भन्ने बहस निकै कम मात्रमा भएको देखिन्छ । राजनीतिक दलहरुले दोरम्बा गाउँपालिकालाई कसरी समृद्ध बनाउने भन्ने केही योजना अगाडि सारेपनि जनस्तरमा पर्याप्त रुपमा छलफल हुन सकेको छैन् ।

रत्न गौतम

अबको युग भनेको आर्थिक समृद्धि र विकासको युग हो । विकासको बारेमा व्यापक रुपमा छलफल गर्न आवश्यक छ । निर्वाचनमा जनताले विकास गर्ने सक्षम,गाउँपालिको समृद्धि गर्न सक्ने उम्मेदवरलाई जिताउनु पर्छ । अब आश्वासनले मात्र भन्दा पनि जनताले व्यवहारमा नै परिवर्तन हेर्न चाहेका छन् । सधैको निर्वाचनमा आश्वासन बढी पाएका जनताले अब परिवर्तन गरेर देखाउने जनप्रतिनिधि रोज्ने बेला आएको छ । यो सुनौलो अवसर जनताले गुमाउनु हुँदैन ।
निर्वाचनमा जनता निकै उत्साहित भएका छन् । राजनीतिक दलहरुले आ–आफ्नो पार्टीको नारा अगाडि सारेका छन् । राजनीतिक दलहरुले अगाडि सारेको योजना र प्रतिबद्धताहरु अब एकएक गरेर जनताले केलाउने बेला आएको छ । जनता सचेत नहुने हो भने अझै पनि समृद्धिको सपना अधुरो नै रहन सक्छ । त्यसकारण अब आफने गाउँगाउँमा के–कस्ता विकासको योजना अगाडि सारिएको छ । त्यो आधारमा मात्र जनप्रतिनिधि छान्नु पर्छ । दुई दशक पछि हुन लागेको निर्वानमा अब जनताले जनताको सच्चा जनप्रतिनिधि छान्न चुक्नु हुन्न । समयमा नै सच्चा जनप्रतिनिधि छनोट गर्न नसके पश्चताप मात्र बाँकी रहन्छ ।
समृद्ध दोरम्बा गाउँपालिका निर्माण गर्न सबै चनाखो हुनुपर्ने आवश्यकता छ । आश्वासन र झुट्टा बाचा होइन । बोलेको कुरा लागू गर्न सक्ने जनप्रतिनिधिको खाँचो छ । त्यस्ता जनप्रतिनि छान्नु नै जनताको हितमा हुन्छ । समृद्धि हाम्रो पालामा नै सम्भव छ । त्यसको लागि राजनीतिक नेतृत्वमा इच्छा शक्ति हुनुपर्ने आवश्यकता छ ।
दोरम्बा गाउँपालिका धार्मिक, ऐतिहासिक, सांस्कृतिक रुपमा निकै धनी छ । अब यसको उचित प्रबद्र्धन गर्नु पर्छ । गाउँपालिकाको आर्थिक समृद्धिको लागि उद्योग धन्दा कलकारखाना सञ्चालनमा जोड दिनुपर्छ । गाउँपालिमा हुँदै चौरीखोला र खानीखोला बहने गरेका छन् । अब यी दुवै खोलाबाट जलविद्युत आयोजना सञ्चालन रोजगारीको अवस्था सृजना गर्नुपर्छ । आज रोजगारीको अभावमा गाउँपालिबाट हजारौ युवाहरु वैदेशिक रोजगारीमा जान बाँध्य छन् । अब सधै विदेश पलायन हुँदा खुसी मान्ने होइन । गाउँघरमा नै रोजगारीको अवसर सृजना गर्नुपर्छ ।
गाउँपालिकाभित्र पर्ने रामेछाप र दोलखाको सिमानामा पर्ने पर्यटकीय क्षेत्र सैलुङ क्षेत्रको विकास गर्न सकेको खण्डमा आन्तरिक मात्र नभई बाह्य पर्यटकलाई भित्र्याउन सकिन्छ । पर्यटकको लागि आवश्यक भौतिक पूर्वाधार निर्माण लगायतका संरचना निर्माण गर्ने स्पष्ट दृष्टिकोण अगाडि सार्नुपर्छ । सैलुङ नेपालकै पर्यटकीय गन्तव्य भित्र नै पर्छ । यसको उचित प्रचार–प्रसार र प्रबद्र्धन गर्ने काममा ढिला गर्नु हुँदैन । अब सपना देखाउने मात्र होइन राजनीतिक दलहरुले निर्वाचनमा गर्ने प्रतिबद्धता जनताको अगाडि पूरा गरेर देखाउनु पर्छ ।
दोरम्बा गाउँपालिकालाई समृद्ध बनाउन राजधानी काठमाडौं सिन्धुलीको नेपालथोक, लुभु, बेथान, हिलेदेवी गाल्वा अग्लेश्वरी दोरम्बा हुँदै सैलुङसम्म पद मार्गको रुपमा विकास गर्नुपर्छ । दारेम्बा अग्लेश्वरी क्षेत्रमा चिया खेतीको राम्रो सम्भावना छ । पर्यटन क्षेत्रको विकास गर्नको लागि पनि व्यवसायिक रुपमा चिया खेतीको योजना अगाडि बढाउनु पर्छ । सैलुङ डाडाँबाट देखिन मनोहन गौरीशकंर हिमाली श्रृङख्ला नियाल्नको लागि भ्यु टावर निर्माणको काम भइरहेको छ । यसको साथै पर्यटन पूर्वाधार विकासमा जोड दिनुपर्छ । दोरम्बा गाउँपालिकाभित्र रहेको गुरासे देवीको मन्दिर धार्मिक र ऐतिहासिक दृष्टिकोणबाट धेरै महत्व रहेको छ । यस क्षेत्रको विकासको साथै दोरम्बा गाउँपालिकाभित्र पर्ने पर्यटकीय क्षेत्रको गुरु योजना निर्माण गरेर नै योजनाबद्ध रुपमा काम अगाडि बढाउन सकिन्छ । गाउँपालिकाको पर्यटकीय क्षेत्रमा होमस्टे सञ्चालन गर्ने योजना पनि अगाडि बढाउनु पर्छ ।
गाउँपालिकाको डुडुवा वडामा अझै यातायात सञ्चालन हुन सकेको छैन् । गाउँपालिकाको सबै वडामा सडक सञ्जाल विस्तार भएपनि सडकको अवस्था राम्रो छैन् । गाउँपालिको भावी अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्षहरुको पहिलो प्राथमिकता गाउँपालिकाभित्रको सडको स्तरउन्नती गर्ने, खानीखोला र चौरीखोलामा पक्की पुल सञ्चालनमा ल्याउनु हुनुपर्ने छ । अब कच्ची सडकलाई कालोपत्रे गराउन ध्यान जानु पर्छ । गाउँपालिकाभित्र अझै पनि विद्युतीकरण हुन नसकेको क्षेत्रमा तत्काल विद्युतीकरण गर्नुपर्छ ।
विगतदेखि नै परम्परागत रुपमा कृषकहरुले खेतीपाती गर्दै आएका छन् । अब आधुनिक र वैज्ञानिक ढंगले कृषि पेसालाई व्यवसायिकरण गरेर लैजानु पर्छ । गाउँपालिको लखनपुर वडामा राम्रो सुन्तला उत्पादन हुँदै आएको छ । अब सुन्तला उत्पादनलाई पकेट क्षेत्रको रुपमा घोषणा गरेर व्यवसायिक रुपमा सञ्चालन गर्नुपर्छ । दोरम्बा गाउँपालिकामा उच्च पहाडी क्षेत्र रहेकाले जडिबुटीको पनि राम्रो सम्भावना रहको छ । गाउँपालिकाभित्र रहेका रहेका जडिबुटीलाई प्रशोधन गर्ने उद्योग सञ्चालन गनुर्पछ । दोरम्बा गाउँपालिकाभित्र नै पर्ने डोप्ला ढुंगा खानीलाई उद्योगको रुपमा विकास गरी जनतालाई स्थानीयस्तरमा नै रोजगारी सृजना गनुपर्छ ।
शिक्षालाई युग सुहाउदो बनाउदै प्राविधिक शिक्षामा जोड दिने गरी कार्यक्रम अगाडि बढाउनु पर्छ । भुकम्प गएको दुई बर्ष वितिसक्दा समेत अझै पनि गाउँपालिकाका कतिपय जनता अहिले पनि अस्थायी टहरोमा नै बस्न बाँध्य छन् । अबको दुई बर्षभित्र सबै घर पुननिर्माण सम्पन्न गर्नेगरी काम अगाडि बढाउन ढिला गर्नु हुँदैन । अब भाषणा र प्रतिबद्धता मात्र व्यक्त गर्ने होइन । जनता समक्ष गरेको बाचा पूरा गर्ने समय आएको छ ।

प्रतिक्रिया दिनुहोस्