सुनापति गाउँपालिकाको केन्द्र हिलेदेवीलाई नमूना बनाएर देखाउछुःतामाङ



हिलेदवी–३ नम्बर वडा सुनापति गाउँपालिको केन्द्र पनि हो । गाउँपालिकाको केन्द्रमा निर्वाचित हुनको लागि नेकपा माओवादी केन्द्रले सोही अनुसारको योजना अगाडि सारेको छ । गाउँपालिकाको केन्द्र स्थापना गर्न भूमिका खेलेको माओवादीले हिलेदवी वडा जसरी पनि जित्ने दावी गरेको छ ।


२०५४ सालबाट अखिल क्रान्तिकारीबाट राजनीतिक सुरु गरेका सुनापति गाउँपालिका–३ हिलेदेवीका वडा अध्यक्षका उम्मेदवार बाबुराम तामाङ वाइसीयलको केन्द्रीय सदस्य हुँदै हाल रामेछाप जिल्ला आयोजक समितिका सदस्य समेत हुन् । उनले वडामा आफ्नो जित सुनिश्ति रहेको बताएका छन् । वडा अध्यक्षका उम्मेदवार तामाङ भन्छन–सुनापति गाउँपालिकाको केन्द्र हिलेदेवीलाई नमूना गाउँपालिकाको रुपमा विकास गर्ने योजना छ ।’ हिलेदेवी गाउँपालिकामा २४ सय मतदाता रहेका छन् । यसै विषयमा वडा अध्यक्षका उम्मेदवार बाबुराम तामाङ (मोक्तान)सँग रामेछाप न्युजले गरेको कुराकानीः–

बाबुराम तामाङ (मोक्तान),  वडा अध्यक्षका उम्मेदवार, सुनापति गाउँपालिका–३ हिलदेवी

सुनापति गाउँपालिका–३ को विकास गर्ने तपाईको के योजना छ ?
–सुनपाति गाउँपालिकाको केन्द्र पनि वडा नम्बर ३ हिलेदेवी नै रहेको छ । हिलेदवीमा गाउँपालिकाको केन्द्र स्थापना गर्नको लागि पनि माओवादीले भूमिका खेलेको छ । हिलेदेवी प्राकृतिक स्रोत साधनले सम्पन्न भएर पनि यहाँको उचित विकास हुन सकेको छैन् । सिंहदरवारको अधिकार गाउँगाउँसम्म आइपुगेको छ । सुनापति गाउँपालिको केन्द्र हिलेदेवीलाई नमूना गाउँपालिकाको रुपमा विकास गर्ने योजना अगाडि सारिएको छ । मन बचन र कर्मले नमूना गाउँपालिको केन्द्रको रुपमा विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।

नमूना गाउँपालिका बनाउने आधार के–के हुन ?
–गाउँपालिको केन्द्रमा अहिले भौतिक पूर्वाधार विकास हुन सकेको छैन् । एकीकृत रुपमा जग्गा खरिद गरेर सरकारी कार्यालय स्थापना गर्नुपर्ने हुन्छ । सादिडाँडामा सबै कार्यालय स्थापना गर्न योजना अगाडि सारिएको छ । अब निर्माण हुने सरकारी भवनहरु नमूनाको रुपमा निर्माण गरिने छ । अब टाढाटाढा कार्यालय स्थापना गर्ने भन्दा पनि गाउँपालिकामा रहेन सबै कार्यालयहरुलाई एकै ठाउँमा स्थापना गर्न भूमिका खेल्छु । यसो गर्न सकिएको अवस्थामा सेवाग्राहीरुले एकै ठाउँबाट सेवा लिन सहज हुन्छ ।

भुकम्प गएको दुई बर्ष वितिसक्दा समेत भुकम्प पीडितको घर निर्माण हुन सकेको छैन नि ?
–हो, भुकम्प पीडितको समस्या अहिले पनि जटिल छ । यदी मलाई विजय गराए पहिलो प्राथमिकता भुकम्प पीडितको घर निर्माण गर्न पहल गर्छु । सबैसँगको समन्वयमा सकेसम्म अब परम्परागत रुपमा भन्दा पनि आधुनिक ढंगले एकीकृत वस्ती विकास गनुर्पछ । एकीकृत वस्ती विकास गर्न सकेको अवस्थामा स्वास्थ्य, शिक्षा खानेपानी, सडक लगायतका आधारभुत सेवा सुविधा पुर्याउन सहज हुन्छ । वडाका सबै जनताको साथ र सहयोगमा एकीकृत वस्ती विकास गर्ने योजना अगाडि सानुपर्छ भन्ने मेरो मान्यता छ ।

कृषि क्षेत्रको विकास गर्ने यो योजना छ ?
–हिलेदेवी वडामा प्रशस्त रुपमा फलफुल उत्पादन हुने क्षेत्रमा पर्छ । हिलेदवी वडामा उत्पादन हुने जुनार सुन्तला, स्याउ लगायतको फलफुल खेतीलाई अब पकेट क्षेत्रको रुपमा विकास गर्नुपर्छ । अब परम्परागत रुपमा भन्दा पनि व्यवसायिक रुपमा खेती गर्ने योजना मैले बनाएको छ । अहिले सस्तो मुल्यमा जुनार बेच्ने प्रचलन छ । अब जुनार लगायतका फलफुल खेतीको लागि शितभण्डारण स्थापनाको लागि पहल गर्छु ।

युवाहरुलाई गाउँघरमै नै रोजगारी सृजना गर्ने के सोच्नु भएको छ ?
–गाउँघरमा नै रोजगारी नपाउदा सस्तो श्रम बेच्न आज हजारौ युवाहरु विदेशिन बाँध्य भएका छन् । अब गाउँघरमा नै उद्योग धन्दा स्थापना गर्ने, भएको प्राकृतिक स्रोत र साधनको उचित उत्खनन गर्ने, परम्परागत रुपमा गरिदै आएको कृषि पेशालाई आधुनिकरण गरेर पनि रोजगारीको अवस्था सृजना गर्न सकिन्छ । हिलदेवी वडामा पाइने जडिबुटीलाई प्रशोधन गर्न उद्योग स्थापना गर्ने सोच बनाएको छ । सिंचाईको उचित प्रबन्ध गरेर कृषि क्षेत्रमा नै बढी सुधार गर्नुपर्छ भन्ने योजना बनाएको छु ।

पर्यटन क्षेत्रका विकास गर्ने योजना छ ?
–सुनापति डाँडा सुनापति गाउँपालिकाको मुख्य पर्यटकीय क्षेत्र हो । यसको वृहत्तर विकासको लागि काम गर्नेछु । सुनापति डाँडामा भ्यु टावर निर्माण गर्ने पिकनिक स्पोट निर्माण गर्ने लगायतका कामलाई उच्च प्राथमिकता दिइनेछ । वडाभित्रको परम्परागत संस्कतिलाई उजागर गर्न होमस्टे सञ्चालन गरिनेछ ।

माओवादीलाई नै भोट दिनुपर्ने कारण के हो ?
–अहिलेको परिवर्तन ल्याउन माओवादीको ठूलो त्याग र वलिदान दिएको छ । माओवादीकै नेतृत्वमा सिंहदरवारको अधिकार गाउँगाउँसम्म आइपुगेको छ । अब प्राप्त अधिकार संस्थागत गर्ने काम पनि माओवादीको नेतृत्वमा मात्र सम्भव छ । जसको नीति उसकैको नेतृत्व भन्ने मान्यतालाई स्थापित गर्न पनि माओवादीलाई भोट दिनुपर्छ । माओवादीलाई मात्र अब सुनापति गाउँपालिकाको विकास गर्न सक्छ । गाउँपालिकाको विकासको लागि माओवादीले ३२ वटा प्रतिबद्धता जारी गरेको छ । अब माओवादीले गरेको प्रतिबद्धता अनुसार निर्वाचनमा विजय भएपछि काम गर्छ । त्यसकारण पनि माओवादीलाई भोट दिनुपर्छ । माओवादीलाई जिताएको खण्डमा अबको पाँच बर्षको अवधिमा सुनापति गाउँपालिकाको जनताको जीवनस्तरमा परवर्तन हुने गरी विकास निर्माणको काम अगाडि बढाउछौं ।

प्रतिक्रिया दिनुहोस्