२० बर्षमा रामेछापलाई समृद्ध बनाउछौंः सांसद श्रेष्ठ



रामेछापमा नेकपा माओवादी केन्द्रले चुनावी अभियान सम्पन्न गरेको छ । माओवादीले रामेछापको ६ गाउँपालिका र २ नगरपालिकामा निर्वाचन जित्ने दावी गरेको छ । माओवादीले आफ्नो एजेण्डामा जनताको ठूलो साथ र सहयोग गरेको बताएका छ । रामेछापमा माओवादीको अवस्था आगामी निर्वाचनपछि रामेछापको समृद्धिको लागि गर्ने काम लगायतको विषयमा केन्द्रीत रहेर नेकपा माओवादीका पोलिटब्यूरो सदस्य, निर्वाचन परिचालन समितिका संयोजक समेत रहेका रामेछाप क्षेत्र नम्बर २ का सांसद श्यामकुमार श्रेष्ठ ‘कुशल’सँग रामेछाप न्युजले गरेको कुराकानीः–

स्थानीय तहको निर्वाचनमा जनताको अभिमत कस्तो पाउनु भएको छ ?
–स्थानीय तहको निर्वाचनमा माओवादीलई भोट नदिने हो भने गणतन्त्र, संघीयता समाजिका न्याय सहितको अधिकार धरापमा पर्छ । संविधान कार्यान्वयन गर्नको लागि पहिलो पटक स्थानीय तहको निर्वाचन हुन लागेकोछ । जनताको प्रतिनिधि मार्फत जनताले स्थानीय तहको सरकार सञ्चालन गर्ने, दैनिक शासन प्रशासन सञ्चालन गर्ने मात्र होइन, स्थानीय तहमा रोजगारी सृजना गर्ने, स्रोत सोधनको परिचालन गर्ने काम पनि गर्छ ।
थुप्रै पार्टीहरु छन् माओवादीलाई नै किन मतदान गर्ने ?
–माओवादीले हार्यो भने अहिलेसम्म प्राप्त उपलब्धि धरामा पर्छ । माओवादीकै नेतृत्वमा अहिलेको परिवर्तन सम्भव भएको हो । जनता सचेत भएका छन् । परिवर्तनको लागि माओवादीले गरेको संघर्षलाई राम्रोसँग बुझेका छन् । माओवादीले नजित्ने हो भने नयाँ र आधुनिक नेपाल सम्भव छैन् । सिंहदरवारको अधिकार गाउँगाउँमा ल्याउने काम माओवादीले गरेको हो । त्यस कारण पनि माओवादीलाई जनताले मतदान गर्छन ।

रामेछापमा त सत्ता गठबन्धन कांग्रेस र माओवादीबीच चुनावी तालमेल हुन सकेन नि किन ?
–सुरुमा हामीले चुनावी तालमेल गर्ने कुरा गरेको हो । कतिपय राजनीतिक दलरुसँग छलफल नचलेको पनि होइन । तर इच्छाशक्ति सहितको छलफल भने चल्न सकेन । हाम्रो पार्टी सापेक्षित एकताको विरोधी होइन । सत्ता गठबन्धनको शक्तिबीच पनि चुनावी तालमेल हुन सकेन । स्थानीय तहको कतिपय वडामा घोषित रुपमा गठबन्धन त होइन वडा स्तरमा कार्यगत एकता भएको छ ।

रामेछापको ८ स्थानीय तहमा कति वटा जित्ने तपाईहरुको दावी हो ?
–८ वटा स्थानीयतमा नै हामी प्रतिस्पर्धी हौं । अहिलेसम्म हामीले जित्ने बलियो आधार छ । रामेछापको २ नगरपालिका र ६ वटै गाउँपालिकामा हामी जित्छौं भन्ने आधार छ ।

रामेछापलाई समृद्ध बनाउने माओवादीको योजना के छ ?
–हामीले रामेछापलाई तीन चरणमा विकास गर्ने खाका अगाडि सारेका छौं । तत्कालिन, मध्यकालिन र दिर्घकालिन योजना अगाडि सारेका छौं । पहिलो चरणमा जनताले तत्कालिन रुपमा नै अनुभूति गर्ने कामलाई प्राथमिता दिइने छ । यातायातको सहज पुहँज पुर्याउने, पक्की पुल निर्माण गरेर आठ वटै स्थानीय तहमा १२ महिना नै यातायात सहज रुपमा सञ्चालन गर्न सकिने बनाइने छ । अबको एक बर्षभित्र सबै स्थानीय तहमा विद्युतीकरण गरी सक्ने लक्ष्य लिएका छौं । प्रतिबद्धता अनुसार काम पनि गरेर देखाउछौं । कृषि क्षेत्रमा तत्काल सुधारको काम थाल्ने, सिंचाईको उचित व्यवस्थापन गरेर सामुहिक खेती प्रणालीको विकास गर्ने योजना ल्याएका छौं । दोस्रो चरणमा भुकम्पबाट प्रभावित भुकम्प पीडितहरुको निजी घर निर्माणमा जोड दिइने छ । पाँच बर्षभित्र सबै भुकम्प पीडितहरुको घर निर्माण गरिसक्ने हाम्रो प्रतिबद्धता छ । दिर्घकालिमा सुनकोसी, लिखु खोला लगायतका क्षेत्रमा जलाशय युक्त विद्युत आयोजना अगाडि बढाउने योनजा रहेको छ ।

रामेछापमा बेरोजगारीको समस्या निकै जटिल बन्दै गएको छ रोजगारीको अवस्था सृजना गर्न के गर्नुहुन्छ ?
–माओवादीले जल, जमिन र जङगलेको नारा अगाडि सारेको छ । जल अन्तर्गत सुनकोसी तेस्रो योजना अगाडि बढाउने, लिखु खोलामा थप जलविद्युत आयोजना सञ्चालन, गर्ने चौरीखोलामा विद्युत उत्पादनको काम अगाडि बढाउन माओवादीले भूमिका खेल्छ । जमिन अन्तर्गत कृषिको आधुनिकरण, लिफ्ठट सिस्टम मार्फत सुख्खा र बाझो रहेका टारीहरुमा सिंचाईको व्यवस्था गरिनेछ । कृषिलाई औद्योगिकरण गर्ने बजारीकरण गरिनेछ । त्यसैगरी जङगल अन्तर्गत रामेछापके सैलुङ्ग, गुम्देल, बाम्ती, चुचुरे लगायतका क्षेत्रमा जडिबुटी उद्योग स्थापना गरिनेछ । जलविद्युत, कृृषिमा आनुनिकरण र जडिबुटीको उद्योग स्थापना गरेर रोजगारीको अवस्था सृजना गरिनेछ ।

रामेछापलाई कति बर्षमा समृद्ध बनाउने त ?
–रामेछापलाई २० बर्षभित्र समृद्धि रामेछाप बनाउने योजना बनाएका छौं । रोजगारीको अवस्था सृजना गर्न सम्भाव्य ठाउँको अध्यायन गरी उद्योग सञ्चालन गरिनेछ । ठोसमा १ हजार मेगावाटको जलाशाययुक्त जलविद्युत आयोगजना अगाडि बढाइनेछ । रामेछापमा सञ्चालन हुने सबै उद्योग धन्दामा जनतालाई अनिवार्य रुपमा सेयर दिने ग्यारेन्टी गरिनेछ । २० बर्षभित्र रामेछापलाई समृद्ध बनाउने प्र्रक्ष्पण गरेका छौं ।

अन्त्यमा रामेछापवासी जनतालाई के भन्न चाहनुहुन्छ ?
–मलाई जसरी दोस्रो संविधानसभा निर्वाचनमा विश्वासको साथ मत दिएर जिताउनु भयो । संविधानसभा निर्वाचनमा गरेको प्रतिबद्धता मैले पूरा गरेको छु । रामेछापका जनतालाई नै मलाई निर्वाचित गराउनुभएको हो । विगतमा पटक–पटक अन्य पार्टीलाई हेर्नुभयो । यस पटक माओवादीलाई जिताउनुहोस । माओवादीलाई जिताएको अवस्थामा प्रतिबद्धता अनुसार व्यवहारमाा देखिने गरी विकास निर्माण गरेर देखाउछौं । स्थानीय तहको निर्वाचनमा माओवादीलाई जिताउन साथ र समर्थनको ठूलो खाँचो छ ।

प्रतिक्रिया दिनुहोस्