शान्ति सुरक्षामाथि खलल पुग्ने काम भए प्रशासनले ‘एक्सन’ लिन्छः प्रजिअ खत्री



रामेछाप जिल्लामा चुनावी माहाले छाएको छ । स्थानीय तहको निर्वाचनको लागि राजनीतिक दलहरुले उम्मेदवार छनोट गरिसकेका छन् । जिल्लामा मुख्य निर्वाचन अधिकृत,  ६ गाउँपालिका र २ नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।   निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय रामेछापले मतदाता शिक्षा कार्यकर्ता र मतदाता स्वमसेवक खटाएको छ । रामेछाप जिल्लामा २ लाख ७ हजार जनसंख्या रहेको छ । वैशाख ३१ गने हुने स्थानीय तहको निर्वाचनमा रामेछापको ८ स्थानीय तहबाट १ लाख ३४ हजार ६ सय २० जना मतदाता रहेका छन् । स्थानीय तहको निर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालय रामेछापमा १७ राजनीतिक दलले दल दर्ता गराएका छन् । जिल्ला प्रशासन कार्यालयले जिल्लामा निर्वाचनको लागि सुरक्षा रणनीति अगाडि सारिसकेको छ ।

जिल्ला प्रशासन कार्यालयले निर्वाचनमा स्वच्छ र भय रहित  ढंगले सम्पन्न गराउनको लागि पटक–पटक सर्वदलिय बैठकको आह्वान गर्दै आएको छ । स्थानीय तहको निर्वाचन, जिल्लामा शान्ति सुरक्षाको अवस्था र जिल्ला प्रशासन कार्यालयले लिने नीति लगायतको विषयमा केन्द्रीत रहेर रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीसँग रामेछाप न्युजले गरेको कुराकानीः–

सूर्यबहादुर खत्री, प्रमुख जिल्ला अधिकारी, रामेछाप

निर्वाचनको तयारी कुन रुपमा अगाडि बढ्को छ ?
–स्थानीय तहको निर्वाचनको लागि जिल्लास्थित राजनीतिक दलका नेताहरुसँग पटक–पटक छलफल गरेका छौं । कार्यालय प्रमुख गैर सरकारी संस्था सहितसँग छलफल गरेर निर्वाचनलाई कसरी भयरहित ढंगले शान्तिपूर्ण र स्वच्छ वातावरणमा कसरी सम्पन्न गर्न सकिन्छ भन्ने परामर्श गरेका छौं ।
विना डर त्रास मतदान गर्ने वातावरण सृजना गर्न नै हाम्रो ध्यान केन्द्रीत भएको छ । निर्वाचनको लागि हामीले सुरक्षा योजना तयार गरेका छौं । स्वच्छ र निष्पक्ष बनाउने हामी सबैको प्रयास भइरहेको छ । राजनीतिक दलहरुको सहयोग प्राप्त गरेर त्यस अनुसार निर्वाचनलाई सफल बनाउने हाम्रो प्राथमिकता हो ।

नयाँ संरचना अनुसार स्थानीय तहको निर्वाचन हुने लागेको छ । के कस्ता चुनौती रहेका छन ?
–विगतको भन्दा केही फरक ढंगेको स्थानीय तहको निर्वाचन हुँदैछ । २०७० मा संविधानसभाको निर्वाचन भएको थियो । अहिले आफनै घर दैलोमै जनप्रतिनिधि चुनिदै छन् । विकास निर्माणमा प्रत्यक्ष रुपमा सरोकार राख्ने, संविधान अनुसार शक्तिशाली स्थानीय तहको निर्माण भएको छ । यो निर्वाचनमा जनताको अझ बढी सरोकार हुन्छ । यो निर्वाचन अझ बढी उत्साहपूर्ण हुनेछ ।
१९ बर्षपछि हुन लागेको निर्वाचनमा चासो र सक्रियता बढी देखाउने हुनाले विगतको चुनाव भन्दा यो चुनाव अझ बढी संवेदनशिल हुन्छ । अझै बढी चुनौतीपूर्ण हुन्छ । चुनौतीलाई व्यवस्थापन गर्ने काममा हामी लागेका छौं । अहिलेको निर्वाचन भनेको सम्बन्धित स्थानीय तहमा कर्मचारी खटिन्छन् । वैशाक १९ गते उम्मेदवारको मनोनय दर्ता गर्ने कार्यक्रम छ ।  स्थानीय तहमै उम्मेदवारको मनोनय दर्तादेखि अन्तिम नामावली प्रकाशन गर्ने, मतगनणा गरेर निर्वाचन परिणाम समेत घोषणा गरेर आउने छन् । लामो अवधिसम्म कर्मचारी त्यहाँ बस्ने हुँदा  त्यहाँ कर्मचारीको सुरक्षा गर्ने,मतपेटीकालाई केन्द्रमा ल्याएर मतपरिणाम घोषणा गरेर आउने कारण गत संविधान सभा  निर्वाचन भन्दा जटिल र संवेदनशिल छ ।

जिल्लाको ८ स्थानीय तहमा कति सुरक्षाकर्मी परिचालन हुन्छन ?
–मोटामोटी तयारी गरेका छौं । जिल्लाको सुरक्षा योजना बनाएका छौं । सुरक्षाकर्मीको तथ्याङक सार्वजनिक गरेका छैनौ । जिल्लामा भएको भन्दा बढी सुरक्षाकर्मी चाहिने भएकाले केन्द्र र क्षेत्रसँग समन्वय गरेका छौं । निर्वाचनमा प्रभावकारी सुरक्षा प्रदान गछौं ।

राजनीतिक दललाई के भन्न चाहनुहुन्छ ?
–स्वच्छ प्रतिस्पर्धा मार्फत आफ्नो कार्यक्रम लिएर जानुहोस् । अस्वस्थ प्रतिस्पर्धा नगर्नुहोस । एक आपसमा द्धन्द्ध फैलाउने क्रियाकलापहरु नगर्नुहोस । आमसभा र कार्यक्रम गर्दा निर्वाचन आयोगले तोकेको आचारसंहिता अनुसार गर्नुहोस् । स्थानीय प्रशासनसँग समन्वय गरेर कार्यक्रम सञ्चालन गर्नुहोस । कुनै पनि सार्वजनिक स्थलमा कार्यक्रम गर्नु ४८ घण्टा अघि प्रशासनलाई जानकारी गराउनु पर्छ । कुनै खालको घटनाले शान्ति सुरक्षामा  खलल पुग्ने अवस्था भयो त्यति बेला प्रशासनले कडा भन्दा कडा कारवाही गर्छ । त्यति बेला तपाईहरुका कार्यकर्ता समस्यामा  पर्न सक्छन् । स्वच्छ प्रतिस्पर्धा मार्फत हार्दिकतापूर्वक आफ्ना कार्यक्रमहरु गर्नुहोस् । जनताको मन जितेर मत ल्याउने हो । दबाब दिएर मत ल्याउने होइन । शान्ति सुरक्षामाथि खलल पुग्ने काम भयो भने प्रशासनले एक्सन लिन्छ । राजनीतिक दलहरुले आफ्नो कार्यकर्तालाई सम्झाउने काम गर्नुहोस । रामेछापमा राजनीतिक दलहरुकोबीचमा तिक्क्तता छैन् । सौर्हादता छ । एक आपसमा नराम्रो छैन् । मेलमिलापको व्यवहार देखेको छु । राजनीतिक दलको द्धन्द्ध भएको देखिएको छैन । यो राम्रो पक्ष हो ।
मतदान केन्द्रको सुरक्षाको लागि के कस्तो योजना अगाडि सानुभएको छ ?
–हामीले पूर्ण रुपमा तयारी गरेका छौं । मतदान केन्द्रमा गएरे निर्धक्कसँग मतदान गर्ने वातावरण प्रशासन तयार गर्छ । सबै मतदातालाई स्वतन्त्रतापूर्वक ढुक्क भएर मतदान खसाल्न पाउछन् । सुरक्षा दिने काम हाम्रो हो । बढी भन्दा बढी मत खसाल्ने काम राजनीतिक दलहरुको हो ।

प्रतिक्रिया दिनुहोस्