रामेछापमा  ६० जना पक्राउ, १३ जनालाई सार्वजनिक मुद्दा



३० वैशाख, काठमाडौं ।
भोली हुने स्थानीय तहको निर्वाचन विथोल्न खोल्ने ६० जनालाई प्रहरीले पक्राउ गरेको छ । मौन अवधिमा पनि निर्वाचन प्रचार गर्ने र रामेछाप भन्दा बाहिरी जिल्लाबाट चुनावमा प्रभाव पार्न आएका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापले अहिलेसम्म ६० जनालाई पक्राउ गरेको बताएको छ । पक्राउ पर्ने १३ जनालाई सार्वजनिक मुद्दा दर्ता गराएको प्रहरीले बताएको छ । प्रहरीले रामेछाप नगरपालिका–८ गोठगाउँका एमालेका वडा अध्यक्षका उम्मेदवार नरबहादुर थापालाई पनि पक्राउ गरेर हिरासतमा राखेको छ ।


जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रेम जोशीले रामेछापका विभिन्न स्थानमा निर्वाचनलाई प्रभावित पार्ने हुल दगां गर्ने, मौन अवधिमा निर्वाचनको प्रचार गर्ने, घरेलु हतियार देखाएर विवाद गर्न कार्यमा संलग्न करिब ६० जना व्यक्तिहरुलाई पक्राउ गरिएको बताए । उनले रामेछाप न्युजसँग भने,‘मन्थली नगरपालिका, रामेछाप नगरपालिका, दोरम्बा गाउँपालिका र विभिन्न स्थानमा निर्वाचन विरोधी गतिविधिमा संलग्न व्यक्तिहरु पक्राउ गरिएको छ, १३ जनालाई सार्वजनिक मुद्दा दर्ता गराइएको छ ।’
जिल्ला प्रहरी कार्यालय रामेछाप अनुसार वैशाख २८ गते मन्थली नगरपालिकाको खिम्तीबाट पक्राउ गरेका १३ जनालाई सार्वजनिक मुद्दा दर्ता गराइएको छ । मुद्दा दर्ता गराएकाहरुमा रामेछापका राज मगरती, रामेछाप दोरम्बा गाउँपालिकाका धनबहादुर नेपाली, भक्तपुरका अमसि श्रेष्ठ, काभ्रेका उज्जवल थापा, भक्तपुरको सचिन तण्डुकार, डोरमनि तामाङ, काभ्रको सुमन लामा, पाँचथरका गंगा लिम्बु, भक्तपुरका समिर तन्डुकार, भक्तपुरकै योगेन थापा, ललितपुरका गजे तामाङ, भक्तपुरका विक्रम श्रेष्ठ, सिन्धुलाल्चोकका रमेश गुरुङ गरेका छन् ।
प्रवक्ता जोशीका अनुसार शुक्रवार राती मन्थली नगरपालिकाको भलुवाजोरबाट ५ जना, गुलुमा ७ जना र दोरम्बा गाउँपालिको डडुवामा ३ जना पक्राउ गरिएको छ । राजनीतिक दलहरुबीच जिल्लको विभिन्न ठाउँमा झडप गर्ने, घाइते बनाउनेहरुलाई पनि प्रहरीले खोजी रहेको उनले बताए ।

शनिवार राती नै रामेछाप नगरपालिका–१  गोठगाउँका एमालेका उम्मेदवार नरबहादुर थापालाई पनि प्रहरीले पक्राउ गरेको छ । अन्य दलका कार्यकर्ताले पैसा बाड्दै गरेको र जनतालाई भोज खुवाएको भन्दै प्रहरीमा उजुरी परेपछि थापालाई पनि प्रहरीले पक्राउ गरेको प्रवक्ता जोशीले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय रामेछापले विभिन्न स्थानमा हुन सक्ने सम्भावित झडपबाट रोक्नको लागि रामेछापमाा उच्च सुरक्षा सतर्कता अपनाएको छ । सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त राख्नको लागि जिल्ला सुरक्षा समिति रमेछाप सुरक्षाकर्मीसँगै नगरपालिकामा २ र गाउँपालिकामा १ वटा मोबाइल टोली परिचालन गरेको छ । रामेछापको ६ गाउँपालिका र २ नगरपालिकामा आवश्यक सुरक्षा सर्तकता अपनाएको रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले रामेछाप न्युजलाई जानकारी दिए । उनले भने,‘कुनै पनि घटना घटन नदिने सबै तयारी पूरा गरिएको छ, निर्वाचन विरोधी गतिविधि गर्नेलाई प्रशासनले तत्काल पक्राउ गर्छ ।’

प्रतिक्रिया दिनुहोस्