ढुक्क भएर मतदान गर्नुहोस, हामी सुरक्षा दिन तयार छौंः डिएसी ढुंगेल



स्थानीय तहको निर्वाचनको लागि रामेछापको २ गाउँपालिका र ६ गाउँपालिकामा गरी १ सय ७० मतदान केन्द्र तोकिएको छ । निर्वाचनको लागि जिल्ला सुरक्षा समितिले सम्पूर्ण तयारी गरेर सुरक्षा रणनीति लागू गरिसकेको छ । जिल्ला निर्वाचन कार्यालय रामेछाप र मुख्य निर्वाचन अधिकृतको कार्यालयले चुनावको लागि आवश्यक पर्ने व्यवस्थापनको काम सम्पन्न गरिसकेको बताएका छन् । ८ स्थानीय तहको निर्वाचनको लागि ३ सय ४० जना मतदान अधिकृत र सहायक मतदान अधिकृत खटिएका छन् ।

रामेछापको आठ स्थानीय तहमा १ हजार २ सय ५४ जनाले उम्मेदवारी दिएका छन् । स्थानीय तहको निर्वाचनमा पहिलो घेरामा नेपाल प्रहरी दोस्रो घेरामा शसस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाली सेना परिचालन गर्ने सरकारले निर्णय गरेको छ । रामेछापको आठ स्थानीय तहमा प्रहरीसँगै ५ सय ६७ जना म्यादी प्रहरी परिचालन हुनेछन् ।

रामेछापको ८ स्थानीय तहमा १ लाख ४३ हजार ६ सय २० जना मतदाता रहेका छन् । जिल्ला सुरक्षा समितिले अति संवेदशिल, संवदेशिल र सामान्य गरी तीन तहमा वर्गीकरण गरेर सुरक्षा रणनीति लागू गरेको छ । निर्वाचनमा रामेछापको सुरक्षा अवस्था, निर्वाचनमा प्रहरीले खेल्ने भूमिका लागयतको विषयमा केन्द्रीत रहेर जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी कुमोद ढुंगेलसँग रामेछाप न्युजले गरेको कुराकानीः–

निर्वाचनको लागि रामेछापको आठ स्थानीय तहमा कस्तो तयारी भइरहेको छ ?
–प्रहरीको केन्द्रीय सुरक्षा नीति बमोजिमकै रणनीति जिल्लामा पनि लागू गरिएको छ । जिल्लाको आठ वटै तहमा सुरक्षाकर्मी परिचालन गरिएको छ । पहिलो घेरामा नेपाल प्रहरी दोस्रो घेरामा शसस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाली सेना रहेने व्यवस्था जिल्ला सुरक्षा समितिले गरेको छ । निर्वाचनको लागि नगरपालिकामा २ वटा र गाउँपालिकामा १ वटा मोबाइल टोली खटिएको छ । निर्वाचनको लागि सम्पूर्ण सुरक्षा तयारी पूरा गरिएको छ ।

१ सय ७० मतदान केन्द्रको लागि कसरी सुरक्षा प्रदान हुन्छ ?
–रामेछापको ८ वटा स्थानीय तहमा १ सय ७० मतदान केन्द्र रहेका छन् । सोही बमोजिम जिल्ला सुरक्षा समितिको सम्पूर्ण तयारी भइसकेको छ । एक हजारसम्म मतदाता रहेको बुथमा तीन जना प्रहरी र चार जना म्यादी प्रहरी परिचालन हुनेछन् । एक हजार भन्दा बढी मतदाता रहेको बुथमा चार जना प्रहरी ६ जना म्यादी प्रहरी परिचालन गर्ने व्यवस्था सुरक्षा समितिले मिलाएको छ । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सबै मतदान केन्द्रमा भरपर्दो सुरक्षा व्यवस्था कायम गर्न लागि परेका छौं ।

जिल्लामा कति म्यादी परिचालन हुन्छन ?
–आठ स्थानीय तहमा ५ सय ६७ जना म्यादी प्रहरी र आवश्यकता अनुसार प्रहरी परिचालन हुनेछ । अति संवेदनशिल संवेदशिल र सामान्य गरी केन्द्रीय सुरक्षा नीति अनुसारको व्यवस्था हामीले गरेका छौं । सोही अनुसार टोली परिचालन गरेका छौं ।

निर्वाचनलाई धाँधली हुनबाट रोक्न प्रहरीको भूमिका के हुन्छ ?
–सुरक्षाकर्मीले निष्पक्ष ढंगले सुरक्षा प्रदान गर्छ । राजनीतिक दलहरुबीच देखिने विवादको समाधान गर्न अहिले समन्वय गर्ने काम पनि गरेका छौं । केही स्थानमा विवाद र झडप भएका छन् । थप झडप हुन नदिने हामी लागि रहेका छौं । नियम कानुनको परिधिभित्र रहेर स्वतन्त्रतापूर्वक जनताले भोट हाल्ने व्यवस्था गछौं । कुनै पनि निर्वाचन केन्द्रमा धाँधली गर्ने बुथ कब्जा गर्ने कल्पना कसैले पनि नगरे हुन्छ । प्रहरीले कुनै पनि राजनीतिक दलहरुसँग आग्रह पूर्वाग्रह राख्दैन ।

रामेछापमा विभिन्न जिल्लामा केही  व्यक्तिहरुलाई पक्राउ गरिएको भन्ने कुरा आएको छ नि ?
–रामेछापमा विभिन्न जिल्लाबाट आएको केही युवाहरुलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक मुद्दा दर्ता गराएको छ । जिल्ला सुरक्षा समितिको बैठकमा राजनीतिक दलहरुले निर्वाचनमा बाहिरी जिल्लाका कुनै पनि व्यक्तिहरुलाई नल्याउने सहमति जनाउनुभएको थियो । सहमति पालना हुनेमा हामी आशावादी छौं । कहीकतै असहज अवस्था सृजना हुने वित्तिकै राजनीतिक दलहरुले नै हामीलाई खबर गर्नुभएको छ ।सबै मतदान केन्द्रमा सुरक्षाकर्मीले उच्च सतर्कता अपनाएको छ ।

आचारसंहिताको उल्लघन भएको कुरा आइरहेका छ, कति उजुरी परेका छन ? कतिलाई कारवाही भयो ?
–आचारसंहिताको केही उजुरी परेको छ । मौन अवधिनमा भोज खुवाएको, निर्वाचनको प्रचार प्रसार गरेको उजुरी परेको छ । जिल्लामा विभिन्न स्थानमा गरी झण्डै चार दर्जन भन्दा बढी व्यक्तिहरुलाइ पक्राउ गरिएको छ । कतिपय उजुरी राजनीतिक टकराबको कारण परेको छ । राजनीतिमा एक दलले अर्को दलको विरुद्ध हुने नै गर्छ । हामी तटस्ट भएर मात्र प्रक्रिया अगाडि बढाउछौ । तर कोही कसैले आचारसंहिता विपरीत काम गरे कानुन अनुसार कारवाही हुन्छ ।

मतपेटीको सुरक्षा कसरी हुन्छ ?
–मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट खटिने मतदान अधिकृतले निर्वाचनको लागि आवश्यक पर्ने मतपेटीका लगायतका सबै सामाग्रीहरु सुरक्षा सुरक्षाकर्मीहरु लिन्छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयदेखि सम्बन्धित गाउँपालिका र नगरपालिकासम्म लैजाने र सुरक्षा दिने काम सुरक्षाकर्मीले गर्छन ।

प्रतिक्रिया दिनुहोस्