रामेछापमा एमालेले माओवादीका कार्यकर्तामाथि सुतेकै अवस्थामा खकुरी हानेपछि….



३० वैशाख, रामेछाप ।
रामेछापको दोरम्बा गाउँपालिका–४ गौश्वरामा नेकपा एमालेका कार्यकर्ताले सुतकै अवस्थामा नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुमाथि खुकुरी प्रहार गरेका छन् । शुक्रवार राती ११ बजे सुतेकै अवस्थामा एमालेका कार्यकर्ताले खुकुरी प्रहार गर्दा माओवादीका सात जना कार्यकर्ता घाइते भएका छन् ।
रामछापका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले सुतेकै अवस्थामा माओवादीका कार्यकर्तामाथि खुकुरी प्रहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको बताए । पक्राउ पर्नेहरुमा एमालेका कार्यकर्ता होमबहादुर थापामगर, दिपबहादुर थापामगर र वेयवबहादुर थापामगर रहेका छन् ।
खुकुरी प्रहारबाट घाइते मध्ये तुलबहादुर थापा, हिराबहादुर थापा र जितबहादुर थापामगर गम्भीर रहेका छन् । खुकुरी प्रहारबाट देवीमाया थापामगर, हेमबहादु थापामगर, लोकबहादुर थापामगर र तुलकबहादुर थापामागर घाइते भएका छन् । घाइतेहरुलाई शनिबार बिहानै काठमाडौं पठाइएको थियो ।
‘घटना निकै गम्भीर प्रकृतिको छ, घटनामा संलग्न व्यक्तिहरुमाथि अनुसन्धान गरेर ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता हुन्छ’, प्रजिअ खत्रीले रामेछाप न्युजसँग भने,‘दुई पक्षबीच झडप विना नै सुतेकै अवस्थामा महिलाहरुमाथि समेत आक्रमण गरिएको अनुसन्धानबाट देखिएको छ ।’
एमालेका नेताको निर्देशनमा शुक्रवार राती ११ बजे सुतेकै अवस्थामा झण्डै वीस जनाका एमालेका कार्यकर्ताले घरमा ढुङगाबुढा गर्दै भाला कुखरीले सुतेकै अवस्थामा आक्रमण गरेको माओवादीले बताएको छ । घटनाप्रति नेकपा माओवादी केन्द्र रामेछापले गम्भीर रुपमा लिएको बताएको छ । नेकपा माओवादीका पोलिटब्यूरो सदस्य एवं रामेछाप क्षेत्र नम्बर २ का सांसद श्यामकुमार श्रेष्ठले घटना निन्दनीय र अपराधिक मानसिकताबाट प्रेरित रहेको बताए ।

उनले रामेछाप न्युजसँग भने,‘हत्या गर्ने र हिंसा मच्चकाउने उदेश्यले माओवादीका कार्यकतामाथि खुकुरी प्रहार भएको छ,एमालेले अपराधिक घटना घटाएर निर्वाचनको वातावरण सृजना गर्ने षडयन्त्रमा लागेको छ ।’ प्रहरीले विभिन्न स्थानमा झडप गर्न खोज्ने दर्जनौ व्यक्तिहरुलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्