रामेछापमा ७० प्रतिशत मत खस्यो, भोलीबाट ८ स्थानीय तहमा मत गणना हुने



३१ वैशाख, रामेछाप ।
स्थानीय तहको आज सम्पन्न निर्वाचनमा रामेछापबाट ७० प्रतिशत मत खसेको छ । रामेछापको २ नगरपालिका र ६ गाउँपालिकाको ६४ वडामा गरी १ लाख ४३ हजार ६ सय २० मतदाता रहेकोमा निर्वाचनमा ९४ हजार ३ सय ८ जनाले मतदान गरका छन् । रामेछापका मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले रामेछापको ८ स्थानीय तहमा ७० प्रतिशत मत खसेको बताए ।

रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले रामेछापको ८ स्थानीय तहमा शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न भएको बताए । उनले रामेछाप न्युजसँग भने,‘मतदान स्थलबाट सम्बन्धित गाउँपालिकाको केन्द्रमा मतको संकलन गर्ने काम अगाडि बढेको छ, कतिपय स्थानमा भोली मात्र गाउँपालिकाको केन्द्रमा आइपुग्ने अवस्था रहेको छ ।

उमाकुण्ड गाउँपालिकाबाट भने मतपेटिका केन्द्रसम्म ल्याउनको लागि पानी परेको कारण कठिनाई भएको छ । पानी पर्दा यातायात सञ्चालन नहुने भएकाले मानिसहरुले बोकेरै पनि मत ल्याउनु पर्ने अवस्था रहेको उनले बताए । स्थानीय तहको निर्वाचनको लागि रामेछापमा १ सय ७० मतदान केन्द्रमा निर्वाचन भएको थियो । मुख्य निर्वाचन अधिकृत सिवाकोटीले आज सबै स्थानीय तहको केन्द्रमा मत संकलन गरेर सम्भवत भोलीबाट मत गणना गर्ने काम सुरु हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्