मन्थली र रामेछाप नगरपालिकामा मत गनणा सुरु हुदै, गाउँपालिकामा सर्वदलिय बैठक बस्दै



१ जेठ, रामेछाप ।

आइतवार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना आजबाट हुने भएको छ । रामेछापको २ नगरपालिका र ६ गाउँपालिकाको ९० मतदान स्थलका १ सय ७० मतदान केन्द्रबाट ९४ हजार ३ सय ८ मत खसेको छ । अर्थात रामेछापबाट स्थानीय तहको निर्वाचनमा ७० मत खसेको छ ।
मन्थली नगरपालिकामा अहिले ११ बजेटबाट मतगणना सुरु गर्नको लागि सर्वदलिय बैठक सम्पन्न भएको रामेछापका मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले रामेछाप न्युजलाई जानकारी दिए । त्यसैगरी रामेछाप नगरपालिकामा पनि मतगणना गर्ने सहमति भएको छ । केही समयपछि लिखु गाउँपालिकामा भने मतगणना सुरु भएको छ ।

गोगुलगंगा गाउँपालिमा मतगणना गर्ने तयारी भइरहेको छ । त्यसैगरी दोरम्बा र उमाकुण्ड गाउँपालिकामा पानीको कारण केही मतदान केन्द्रबाट अझै पनि मत पेटिका गाउँपालिकाको केन्द्रमा आइपुग्न सकेको छैन् । सुनापति गाउँपालिका र खाडाँदेवी गाउँपालिकामा पनि मतगणना गर्नको लागि सर्वदलिय बैठकको तयारी भइरहेको छ ।
रामेछापमा स्थानीय तहको निर्वाचनको लागि १ लाख ३४ हजार ६ सय २० मतदाता रहेकोमा ९४ हजार ३ सय ८ मत मात्र खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले भोलीसम्ममा मत परिणाम आइपुग्ने अनुमान गरेको छ । सबै भन्दा बढी मत मन्थली नगरपालिकामा १९ हजार ६ सय ४१ खसेको छ भने सबै भन्दा कम उमाकुण्ड गाउँपालिकामा ७ हजार ९ सय ८२ मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार लिखु गाउँपालिकामा १० हजार २ सय ५९, सुनापति गाउँपालिकामा १० हजार ८ सय, गोगुलगंगा गाउँपालिकामा ९ हजार ३ सय १९ मत खसेको छ । दोरम्बा र खाडाँदेवी गाउँपालिकामा ७० प्रतिशत मत खसेको निर्वाचन अधिकृतहरुले बताएका छन् । स्थानीय तहको निर्वाचनको लागि रामेछापको ८ स्थानीय तहको लागि झण्डै १२ सयले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्