रामेछाप बजारमा झाडापखाला एक सय बिरामी, झाडापखालाबाट बच्ने १० उपाय



९ जेठ, रामेछाप ।
दुषित पानीको कारण रामेछापको रामेछाप नगरपालिकाभित्र एक सय जना भन्दा बढी मानिसहरु झाडापखालानको कारण बिरामी परेका छन् । सोमबार बिहानबाट रामेछाप बजारका मानिसहरुमा झाडापखाला देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालय रामेछापले रामेछाप बजार र आसपासका क्षेत्रबाट २ दिनको बिचमा झाडापखालाका एक सय भन्दबढी विरामीहरु उचारको लागि आएको बताएको छ ।
रामेछाप नगरपालिका–८को वादी, रामेछाप बजार र लामा गाउँमा झाडापखालाका विरामीहरु देखापरेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा. प्रकाशप्रसाद साहले रामेछाप न्युजलाई जानकारी दिए । उनले भने,‘झाडापखाला दुषित पानी सेवन गरेको कारण फैलिएको हुन सक्ने आशंकामा पानी परीक्षणका लागि काठमाडौं पठाएको छौ, केही दिनमै रिपोर्ट आउछ ।’ उनले थप स्थानमा झाडापखाला फैलिन नदिनको लागि नागरिकहरु सचेत हुनुपर्ने बताउदै पानी पिउदा उमालेर खान आग्रह गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय रामेछापले बिरामीको संख्या ठूलो भएपनि आत्तिनु पर्ने अवस्था नरहेको बताए ।

झाडापखालाबाट यसरी बचौं
तीन पटक भन्दा बढी पातलो दिसा हुनुलाई झाडापखाला भनिन्छ । झाडापखाला हुँदा दिनभरि दिसा लाग्छ, दिसाबाट पातलो पानी जस्तो तरल पदार्थ बग्दछ । यसले मानिसलाई हैरानी बनाउँदछ ।

झाडापखाला रोगको प्रकोप गर्मी मौसम लगायत अन्य समयमा पनि देखिन्छ । यो रोग सरुवा रोग भएकाले छिट्टै अन्य मानिसहरुमा पनि फैलिन सक्दछ । त्यसैले यो रोग लाग्नबाट बच्न र बचाउनका लागि खानेपानी राम्ररी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने गर्नुपर्छ ।

जीवनजलको पानी सकेसम्म पिउने । खाना खाँदा भात, दही अथवा नरम खालको जाउले खानु पर्छ । झोलिलो पदार्थ जस्तै चामलको चौलानी, मसुरोको दाल अथवा कुनै गेडागुडीको रस बनाएर पिउनु पर्दछ ।

लौकाको तरकारी अथवा दहि फिटेर खाने । जुसमा कागती,अनार, मौसम, सुन्तलाको रस खाने । जीवनजल नभएको खण्डमा एक चम्चा चिनी र एक चिम्टी नुन मिसाएर पानी बनाई पिउने । काँक्रो अथवा पाकेको मेवा, गुलियो स्याउ खानुपर्दछ ।

पिउने पानी उमालेर सेलाएपछि मात्र पिउने । पेटलाई तातो कपडाले छोपेर राख्ने । खाना खानु भन्दा पहिले हातलाई राम्रोसँग साबुनपानीले धोएर मात्र खाने । हातको नङहरु समय समयमा काट्नु पर्छ ।

घरेलु औषधीको रुपमा प्याजलाई पिधेर नाइटोनेर लेप बनाएर लगाउने गरेमा फाइदा हुन्छ ।

दिसा पिसाबलाई रोकेर नराख्ने । कहिले काही चिसोको कारणले गर्दा पनि झाडा पखाला लाग्ने भएकाले चिसो बाट बच्नु नै राम्रो कुरा हो, बासि र सडेगलेका खाने कुराहरु नखाने, तरकारीहरु पखालेर वा काँचो तरकारीलाइ तातो पानीले धोएर खाएमा राम्रो हुन्छ । त्यस्तै स्तनपान गरी रहेका बच्चालाई झाडापखाला लागेमा पटक पटक स्तनपान गराउने र झाडापखाला हुँदा साबिकमा जस्तै खानेकुरा खाने र खु वाउने गर्नुपर्छ ।

यसका साथै झाडापखाला लागेका बेलामा पेयपदार्थको रक्सी, चिया, कफी र दुध नपिउने, फ्रिजमा राखेको खानेकुरा बाहिर निकालेर तुरुन्तै नखाने, अमिलो अचार, आलु, भान्टा कोभी को सेवन नगर्ने , सलादमा केही समय पहिल्यैदेखि काटेर राखेको सलाद नखाने, झिंगा बसेको खुल्ला नछोपिकन राखेको धुलो मैलो परेको खानेकुराको सेवन नगर्नु राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्