सुनापति र दोरम्बालाई नमूना गाउँपालिका बनाउनु पर्छः वादल



१५ जेठ, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘वादल’ले रामेछापको सुनापति गाउँपालिका र दोरम्बा गाउँपालिकामा पार्टीले जित्नु राजनीतिक रुपमा अर्थपूर्ण रहेको बताएका छन् । उनले जनयुद्धमा बेथान र दोरम्बाले ठूलो योगदान गरेको बताउदै दुवै गाउँपालिकालाई नमूना गाउँपालिका बनाउनु पर्ने बताएका हुन् ।

सोमवार माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुनापति–काठमाडौं संघीय जनसम्पर्क मञ्चद्धारा आयोजित निर्वाचित विजयी जनप्रतिनिधिहरुलाई बधाई एवं सम्मान कार्यक्रममा बोल्दै नेता वादलले ऐतिहासिक दुवै गाउँपालिकाको विकास र समृद्धिको लागि पार्टीले सक्दो सहयोग गर्ने बताए । उनले भने,‘जनयुद्धको समयमा योगदान गरेको सुनापति र दोरम्बा गाउँपालिका जित्नु ठूलो उपलब्धि हो ।’

कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य समेत रहेका सुनापति गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष धावा लामाले शहीदको वलिदानबाट अहिलेको परिवर्तन सम्भव भएको बताए । उनले सिंहदरवारको अधिकार गाउँगाउँमा पुर्याउनको लागि शहीदहरुको ठूलो योगदान रहेको बताउदै अब प्राप्त उपलब्धिको संस्थागत विकास गर्ने कार्यमा जुटने बताए । अध्यक्ष लामाले सुनापति गाउँपालिकालाई नमूना गाउँपालिका बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उक्त कार्यक्रममा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य समेत रहेका रामेछाप क्षेत्र नम्बर २ का सांसद श्यामकुमार श्रेष्ठ ‘कुशल’ले रामेछापको विकास निर्माणको लागि माओवादीले नै नेतृत्व गर्ने बताए । स्थानीय तहको निर्वाचनमा विपक्षीले विभिन्न षडयन्त्र र भ्रम छरे पनि राम्रो परिणाम ल्याउन सकेको बताउदै उनले आगामी दिनमा पार्टी नेतृत्व प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं रामेछाप जिल्लाका संयोजक मैनकुमार मोक्तानले राजनीतिक रुपमा दुई गाउँपालिका जितेर विजयको सुरुवात गरेको बताए । उनले भने,‘दुई गाउँपालिका मात्र जितेर हुने अवस्था छैन, आगामी प्रदेश र केन्द्रको निर्वाचनमा जित्ने गरी लाग्नु पर्छ ।’

कार्यक्रममा दोरम्बा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष कमानसिंह मोक्तानले ऐतिहासिक दोरम्बाको विकासको लागि काम गर्ने बताए । उनले भने,‘शहीदको सपना साकार पार्ने गरी दोरम्बा गाउँपालिको विकास गर्ने गरी काम गर्छु ।’


त्यसैगरी कार्यक्रममा सुनापति गाउँपालिकाकी उपाध्यक्ष गिता विष्ट (चौलागाई)ले गाउँपालिकाको समृद्धिको लागि प्रतिबद्ध भएर लाग्ने बताइन । उनले निर्वाचनमा माओवादीलाई विश्वास गरेर मतदान गरेको स्मरण गर्दै जनताको चाहना र भावना अनुसार काम गर्ने बताइन । उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं विदेश विभाग सचिव युवराज चौलागाई, पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव प्रल्हाद बुढाथोकी लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्