रामेछापबाट मन्त्री बन्ने सूचिमा सांसद श्रेष्ठ



२० जेठ, काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा बन्ने सरकारमा नेकपा माओवादी केन्दले कुन–कुन मन्त्रालय लिने मोटामोटी सहमति जुटेको छ । कांग्रेस र माओवादीबीच गृह र अर्थ मन्त्रालय साटने सहमति भएको छ भने बाँकी मन्त्रालय यसअघिकालाई नै निरन्तरता दिने सहमति प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भएको छ ।

नेकपा माओवादीका पोलिटब्यूरो सदस्य समेत रहेका रामेछाप क्षेत्र नम्बर २ का सांसद श्यामकुमार श्रेष्ठ ‘कुशल’ पनि यस पटकको मन्त्री बन्ने सूचिमा रहेका छन् । माओवादीले सबै नयाँ अनुहारलाई यस पटक मन्त्री बनाउने तयारी गरेको छ । प्रदेश नम्बर ३ बाट दोस्रो संविधानसभा निर्वाचनमा निर्वाचित अग्नी सापकोटा र हरिबोल गजुरेल यस अघि नै मन्त्री भइसककोले पनि यस पटक श्रेष्ठको मन्त्री बन्ने सम्भावना बलियो रहेको एक नेताले बताए ।

२०६४  सालको पहिलो संविधानसभा निर्वाचनमा रामेछापबाट चार जना सांसद रहेपनि कसैले पनि मन्त्री बन्न अवसर पाएनन् । जनयुद्धको समयमा रामेछापको बेथान र दोरम्बा हत्याकाण्ड अहिले पनि चर्चाको शिखरमा छ । तर रामेछापबाट नकेपा माओवादी केन्द्रले अहिलेसम्म मन्त्री पाउन भने सकेको छैन् । यस पटक भने रामेछापले माओवादीबाट मन्त्री पाउने सम्भावना बलियो रहेको बताइएको छ ।

नेकपा माओवादी केन्द्रले उपप्रधान सहित गृह मन्त्रालयको नेतृत्व कसलाई दिने भन्ने बहस सुरु भएको छ । उपप्रधान सहित गृहमन्त्रालयको नेतृत्व कृष्णबहादुर महरालाई दिने र जनार्दन शर्मालाई पुनः उर्जा मन्त्रालयमा निरन्तरता दिने विषयमा पनि माओवादीभित्र बहस सुरु भएको छ । प्रचण्ड नेतृत्वको सरकारमा रहेका महरा र शर्मा पुनः दोहोरिने सम्भावना बलियो रहेको छ । त्यसैगरी रेखा शर्मा, गिरिराजमणि पोखरेल, टोपबहादुर रायमाझी, प्रभु शाह, टेकबहादुर बस्नेत मन्त्री बन्ने सूचिमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्