पार्टीभित्र अन्तरघात गर्नेलाई कारवाही गर्न रामेछाप कांग्रेसले बनायो समिति



२१ जेठ, रामेछाप ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति रामेछापले स्थानीय तहको निर्वाचनमा पार्टीभित्र अन्तरघात गर्नेहरुको सूचि तयार गरेर कारवाही गर्ने निर्णय गरेको छ । जिल्ला कार्य समितिको बैठकले रामेछापको स्थानीय तहको निर्वाचनमा पार्टीभित्र भएको अन्तरघातकै कारण पराजित हुनु परेको निष्कर्ष निकालेको छ ।
पार्टीभित्र भएको अन्तरघातको विषयमा छानबिन गर्न पार्टी सचिव लेखबहादुर कार्कीको संयोजकत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको छ । सदस्यहरुमा सृजना खड्का, राजु श्रेष्ठ, कपिल कार्की र एकबहादुर बस्नेत रहेका छन् । बैठकले समितिलाई असार मसान्तभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।


पार्टीभित्रको अन्तरघातकै कारण रामेछापको ८ स्थानीय तह मध्ये रामेछाप नगरपालिका नगर प्रमुख, उपप्रमुख र उमाकुण्ड गाउँपालिको उपाध्यक्षमा मात्र कांग्रेसले विजय हासिल गरेको बैठकले निष्कर्ष निकालेको छ । जिल्लाको ६४ वटा वडा मध्ये १३ वटा वडा अध्यक्षमा मात्र कांग्रेसले जितेको छ । पार्टी संगठन बलियो रहेको र विगतमा कांग्रेसले रामेछापमा संसदीय र्विाचनमा विजयी भएपनि पार्टीभित्र टिकट नपाएको असन्तुष्टिकै कारण बढी अन्तरघात भएको निष्कर्ष बैठकको छ ।

कांग्रेसमा पार्टी नेतृत्वमा देखिएको गुटबन्दीको असर रामेछापमा पनि देखिएको छ । टिकट वितरणमा संस्थापन पक्ष, रामचन्द्र पौडेल पक्ष र कृष्णप्रसाद सिटौला पक्षबीच भागवण्डा गर्दा इमान्दार कार्यकर्ताले टिकट नपाएको गुनासो पनि कांग्रेसभित्र चलेको छ ।
जिल्लामा पार्टी नेतृत्वले टिकट वितरणमा इमान्दार र योग्य व्यक्त छनोट गर्नुपर्नेमा जोड दिएपनि पौडेल र सिटौला पक्षका दबाबमा टिकट वितरण गर्दा स्थानीय तहको निर्वाचनमा सोचे अनुसारको परिणाम ल्याउन नसकेको कांग्रेसको प्रारम्भिक निष्कर्ष छ ।
सुनापति गाउँपालिका, दोरम्बा गाउँपालिका, खाँडादेवी गाउँपालिका र मन्थली नगरपालिका जित्ने दावी कांग्रेसले गरेको थियो । तर पूर्व जिल्ला सभापति समेत रहेका रामचन्द्र खड्काले सुनापति गाउँपालिकामा एक जना वडा सदस्य पनि विजयी गराउन सकेनन् । कांग्रेसबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका विकेश तामाङलाई नेकपा माओवादी केन्द्रबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका खडक घिसिङलाई सहयोग गर्ने निर्णय खड्काले गरेका थिए ।

तर वडामा चारै जना कांग्रेसका वडा सदस्य पराजित भएका थिए । सुनापति गाउँपालिकामा निर्वाचनको मतपरिणाम नआउदै कांग्रेसले आफूहरुले गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको भन्दै खुसीयाली मनाएका थिए । अन्ततः गाउँपालिकाको २७ सिट नै माओवादी केन्द्रले जितेपछि रामचन्द्र खड्का तीन छक परेका छन् । सुनापति गाउँपालिकामा कांग्रेसभित्रको विवाद पनि उत्कर्षमा पुगेको छ । गाउँपालिका र वडा वडाबाट पार्टीभित्र अन्तरघात गर्नेमाथि कारवाही गर्नुपर्ने माग उठेको छ । तर काठमाडौंमा भएको भेलामा रामचन्द्र खड्काले कसैलाई पनि कारवाही नहुने र यदी कारवाही हुन्छ भने आफूलाई गर्न भन्दै कार्यकर्ताको बचाउ गरेका थिए ।

त्यसैगरी रामेछाप २ नम्बर क्षेत्रका क्षेत्रीय सभापति विनोद कार्कीले मन्थली नगरपालिकामा पराजित भएलगत्तै पार्टी केन्द्रमा राजिनामा बुझाएका छन् । उनले पार्टीभित्र शुद्धिकरणको आवश्यकता रहेको र निर्वाचनमा अन्तरघात भएको निष्कर्ष सहित राजिनामा बुझाएका हुन् । निर्वाचनमा पराजित हुने वित्तकै राजिनामा दिनु कार्कीको केटाकेटीपना भएको भन्दै पार्टीभित्रबाटै चर्को आलोचना भएको छ ।
जिल्ला कार्यसमिति रामेछापका सचिव लेखबहादुर कार्कीले निर्वाचनमा पराजित भएलगत्तै पार्टीबाट राजिनामा दिएर हिडनु कायरता भएको बताए । उनले रामेछाप न्युजसँग भने,‘पार्टीभित्र देखिएको विकृति र सिंगतीलाई हटाउन लाग्ने कि पराजित हुनेवित्तिकै राजिनामा दिएर हिडने ?’ कार्कीले जिल्ला कार्य समितिलाई क्षेत्रीय सभापति कार्कीले राजिनामा दिएको विषयमा कुनै जानकारी नभएको बताए ।

पार्टीभित्र शुद्धिकरण गर्न आवश्यक रहेकाले छानबिन प्रतिवदेन बनाउदा निर्वाचनमा सहयोग गर्ने र असहयोग गर्नेको सूचि बनाउने बताउदै कार्कीले छानबिन प्रतिवेदनको आधारमा नै कारवाही हुने बताए । कार्कीले भने,‘जसले निर्वाचनमा प्रतिबद्ध भएर सहयोग गरे उहाँहरु धन्यवादको पात्र हुनहुुन्छ, जसले असहयोग गरे उहाँहरु कारवाहीको भागिदार बन्नुपर्छ ।’

बैठकले निष्पक्ष रुपमा छानबिन गरेर मात्र कारवाहीको लागि जिल्ला कार्यसमितिले केन्द्रलाई सिफारिस गर्ने बताएको छ । सचिव कार्कीले पार्टीलाई अपठ्यारो परेको बेला राजिनामा दिएर हिड्नु बुद्धिमानी नहुने बताए । निर्वाचनमा पराजित भएपछि रामेछाप नगरपालिका बाहेका सात वटै स्थानीय तहमा कांग्रेसभित्र आन्तरिक विवाद चुलिएको छ । पार्टीभित्र देखिएको असन्तुष्टि र विवाद समाधान गर्नको लागि शुद्धिकरण गर्ने अभियान अन्तरर्गत कांग्रेसले छानबिन समिति बनाएरै कारवाही गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्