५ अर्ब बजेटमा धुर्मुस–सुन्तलीले ‘नमूना नेपाल’ बनाउने (भिडियो सहित)



२२ जेठ, काठमाडौं ।
भुकम्प गएपछि तीन वटा नमूना बस्ती निर्माण गरेर उदाहरणीय काम गर्न सफल धुर्मुस–सुन्तली फाउण्डेशनले अब नमूना नेपाल बनाउने घोषणा गरेको छ । आज काठमाण्डौमा आयोजित कार्यक्रममा फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले ५ अर्ब बजेटमा तयार हुने ‘नमूना नेपाल’को अवधारणा अगाडि सारेका हुन् ।

हिमाल, पहाड र तराइलाई एउटै स्थानमा चित्रित गर्दै बन्ने यो ‘नमुना नेपाल’ निर्माणमा सहयोग गर्न सितारामले सबैसँग आग्रह गरेका छन् । जग्गा उपलब्ध भएकै दिन हामी शिलान्यास गर्ने घुर्मुसले बताए । शिलान्यास गरेकै दिन कुन मितिमा निर्माण सम्पन्न हुनेछ भनेर पनि घोषणा गर्ने बताउदै उनले भने,‘अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल, नमूना नेपाल’ भन्ने मूल नारा लिएर यो प्रोजेक्ट निर्माणको अवधारणा अगाडि सारिएको हो ।’

उनले यो पजेक्ट निर्माणमा सरकारको साथ र सहयोग हुने विश्वास व्यक्त गर्दै यदि, मिलेन भने पनि हामी यो प्रोजेक्ट बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । उनले ‘हरेक नेपालीले २ सयका दरले सहयोग गर्नुभयो भने पनि ६ अर्ब उठ्नेछ । विदेशमा रहने नेपालीले २ हजारका दरले सहयोग गर्नुभयो भने पनि ८ अर्ब बढी रकम उठ्नेछ । हामीलाई विश्वास छ, सबैको सहयोग हामीले पाउँनेछौ’, उनले भने ।
नेपाल आएर सबै स्थान घुम्न नसकेका पर्यटकले पनि ‘नमुना नेपाल’ भ्रमण गरेपछि सिंगो नेपाल घुमेको अनुभव गर्ने गरी निर्माण गर्ने उनले बताए ।
‘नमुना नेपाल’ भित्र वुद्धको जन्मस्थान लुम्बिनीदेखि हिमाल, मोनो रेले, गुब्बा, स्तुपा, खेल मैदान, विद्यालय, संग्राहलय सबै हुनेछ ।कार्यक्रममा कुञ्जना घिमिरे सुन्तलीलेले केही बर्ष अगाडि देखेको सपना अहिले साकार हुँदै गएको महशुश गरेको बताइन । उनले आफ्नी सानी छोरीले पनि नेपाल आमाको सेवा गरुन् भन्ने चाहना व्यक्त गरेकी थिइन् ।

यस्तो बन्ने छ नमूना नेपाल भिडियो

प्रतिक्रिया दिनुहोस्