देउवाका समकक्षी रामेछापका सांसद शिवबहादुर खड्का मन्त्री बन्ने सूचिमा



२२ जेठ, काठमाडौं ।
प्रधानमन्त्रीका उम्मेदवार समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समकक्षी नेपाली कांग्रेस रामेछापका सांसद शिवबहादुर खड्का पनि यस पटक मन्त्री बन्ने सूचिमा रहेका छन् । सँगै राजनीतिक सुरु गरेका देउवा र खड्का मिल्ने साथी समेत हुन् । देउवाकै सिफारिसमा खड्कालाई दोस्रो संविधानसभा निर्वाचनपछि मन्त्रीपरिषद्बाट मनोनितबाट सांसद बनाइएको थियो ।


लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय भएपनि खड्काले लाभको पद लिएका छैनन् । रामेछापको पूर्व जिल्ला विकास समितिका सभापति समेत भइसकेका खड्का र देउवा एउटै कोठामा बसेर अध्याय गरेका समकक्षी हुन् । देउवा र खड्काबीच अहिले पनि पारिवारिक रुपमा राम्रो सम्बन्ध रहेको छ । सांसद शिवबहादुर खड्काले आफूले मन्त्री बन्नको लागि दबाब नदिएको र पार्टीले आफ्नो योगदान सम्झिएर मन्त्री बनाए स्वीकार गर्ने बताए । उनले रामेछाप न्युजसँग भने,‘मन्त्री बन्नको लागि कुनै लविङ गरेको छैन, जिम्मेवारी दिए पूरा गर्छु ।’
खड्कालाई देउवाले पार्टीको केन्द्रीय सदस्य बन्ने कि मन्त्री बन्ने दुई मध्ये एउटा छान्न यस अघि आग्रह गरेका थिए । जवाफमा खड्काले उमेर र स्वास्थ्यको कारणले केन्द्रीय सदस्य भन्दा एक पटक मन्त्री नै बन्ने देउवालाई बताईसकेका छन् । कांग्रेसका एक नेताका अनुसार देउवाले यस पटक खड्कालाई मन्त्री बनाउने सूचिमा राखेका छन् । पार्टीमा लामो समय दुःख गरेर पनि कुनै लाभको पद नलिएको भन्दै देउवाले यस पटक मन्त्री बनाउने तयारी गरेका छन् । यतिसम्म कि देउवा र खड्काबीच अहिले पनि एकले अर्कालाई त भनेर बोलाउने सम्बन्ध रहेको छ । देउवा तीन पटक प्रधानमन्त्री बनिसकेको अवस्थामा यस पटक भने मन्त्री बन्ने सूचिमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्