सुनापति गाउँपालिकालाई समृद्ध बनाएर देखाउछौःउपाध्यक्ष विष्ट



रामेछापको सुनापति गाउँपालिका ऐतिहास भूमि हो । सुनापति गाउँपालिकामा रहेको पाँच वटै वडामा नेकपा माओवादी केन्द्रले सबै पदमा विजयी हासिल गरेको छ । निर्वाचनमा विजयी भएपछि गाउँपालिकालाई कस्तो बनाउने भन्ने बहस सुरु भएको छ । वीस बर्षपछि जनताले अधिकार सम्पन्न स्थानीय निकाय र निर्वाचित जनप्रतिनिहरुसँग निकै ठूलो आशा र अपेक्षा गरेका छन् । निर्वाचित गाउँपालिका जनप्रतिनिधिहरुले पनि आफ्नो गाउँपालिकालाई कसरी विकास गर्ने भन्नेमा जनतासँग प्रत्यक्ष रुपमा संवाद थालेका छन् । आवश्यकता जताततै छ । स्रोत र साधन सीमित छ । यस्तो परिस्थितिको बीचबाट जनता आवश्यकता कसरी सम्बोधन होला ? चासोको विषय बनेको छ  ।

सुनापति गाउँपालिका नेकपा माओवादी केन्द्रबाट उपाध्यक्षमा विजयी हुनुभएको गिता विष्ट (चौलागाई) ले जनयुद्धकै जगमा देशमा आएको परिवर्तनले सिंहदरवारको अधिकार गाउँगाउँ पुर्याएकोमा खुसी व्यक्त गर्नुहुन्छ । सुनापति गाउँपालिकामा आगामी पाँच बर्षभित्र जनताले प्रत्यक्ष रुपमा महशुस गर्ने गरी काम गर्न गुरु योजना बनाएरै काम गर्ने उहाँले बताउनुभयो । सुनापति गाउँपालिकाको विकास, आगामी पाँच बर्षको योजना लगायतको विषयमा केन्द्रीत रहेर उपाध्यक्ष गिता विष्ट (चौलागाई)सँग रामेछाप न्युजले गरेको कुरकानीः–

सुनापति गाउँपालिकालाई समृद्धि बनाउने के योजना बनाउनुभएको छ ?
–रामेछापको सुनापति गाउँपालिकालाई नमूना गाउँपालिकाको रुपमा विकास गर्ने योजना बनाएका छौं । समृद्ध सुनापति गाउँपालिका कसरी बनाउने भन्ने भन्ने विषयमा स्पष्ट योजना अगाडि सारेका छौं । अब गाउँपालिकाको विकास गर्नको लागि गुरु योजना निर्माण गरेर नै काम गछौं । किनकी अब निर्माण हुने विकास निर्माणका पूर्वाधार दिगो हुनुपर्छ । गाउँपालिकाभित्र हुने विकास निर्माणको कामबाट जनताले प्रत्यक्ष रुपमा महशुस गर्ने खालको हुनुपर्छ । गाउँपालिकाभित्र विकास निर्माणको कामले गति लिन सकेको छैन् । गाउँपालिकाभित्र एउटा पनि सडक पिच छै्न् । सबै सडक कच्ची छ । विकासको मुख्य मेरुदण्ड सडक यातातात भएकाले गाउँपालिकाभित्रको सडकको स्तरउन्ती गरेर जनताको दैनिक जनजीवनसँग जोडिएको सडकलाई राम्रो र व्यवस्थित बनाउन हामीले ध्यान दिनेछौं ।
निर्वाचन अघि जनता समक्ष गर्नुभएको ३१ बुँदे घोषणा पत्र अुनसार काम गर्नुहुन्छ कि हुँदैन ?
–निर्वाचनको बेला जनतासँग जे प्रतिबद्धता व्यक्त गरेका छौं सोही अुनसार नै काम गछौं । अब झुट्टो आश्वासन बाँडने जमाना गयो । जनताको आवश्यता अनुसार काम गर्नु हाम्रो दायित्व र कर्तव्य हो । निर्वाचनको बेला जनतासँग हामीले नसक्ने बाचा गरेका छैनौं । पुग्ने र सम्भव हुने प्रतिबद्धता जनाएका छौं । सोही अुनसार काम गछौं । गाउँपालिकाको पहिलो बैठक मार्फत नै उज्यालो सुनापति अभियान सञ्चालन गर्ने निर्णय नै गरिसकेका छौं । सबै वडाहरुमा सहज रुपमा यातायात सञ्चालन गर्नुलाई पनि हामीले प्राथमिकतामा राखेका छौं ।
जनताले प्रत्यक्ष रुपमा महशुस गर्ने गरी चाहीँ के काम थाल्नुहुन्छ ?
–गाउँपालिकाभित्र निर्माण हुने हरेक विकास निर्माणको काममा जनताले प्रत्यक्ष रुपमा महशुस गर्छन । गाउँपालिकाभित्र हुने सबै विकास निर्माणको काम पारदर्शी रुपमा हुन्छ । अनियमितता हुन दिइने छैन् । विकास निर्माणको कामलाई प्रभावकारी रुपमा अनुगमन गरिनेछ । निर्वाचनको क्रममा पक्ष विपक्ष भएपनि अब राजनीतिक रुपमा कसैलाई पनि भेदभाव नगरी हामी काम गछौं । सबै जनता हाम्रो लागि समान हुनुहुन्छ । जनताको चाहना र भावना अुनसार नै काम गछौं ।
गाउँपालिकाभित्र पर्यटकीय क्षेत्र बनाउने के सोच छ ?
–कुनै पनि काम गर्नको लागि सुरुमा योजना चाहिन्छ । योजनासँग त्यसलाई कार्यान्वयन गर्न इच्छा शक्ति चाहिन्छ । सुनापति गाउँपालिकाभित्र आर्कषक पर्यटकीय गन्तव्यको रुपमा सुनापति डाँडा रहेको छ । आन्तरिक एवं बाह्य पर्यटकलाई आर्कषित गर्नको लागि सुनापति डाँडामा भ्यु टावर निर्माण गर्ने, सुनपाति डाँडामा पिकनिक स्पोट निर्माण गर्ने, सिन्धुलीको नेपालथोक लुभु, खनियापानी, बेथान हिलेदवी सुनपाति गाल्वा अग्लेश्वरी दोरम्बा हुँदै सैलुङसम्म पैदल यात्राको लागि पर्यटकीय गन्तव्य बनाउने योजना अगाडि सारेका छौं । गाउँपालिकाभित्र रहेका विभिन्न समुदायको सस्कृतिलाई समेत संरक्षण गर्ने उदेश्यले होमस्टे सञ्चालन गर्ने योजना बनाएका छौं । गाउँपालिकाभित्र सुनकोसी नदी पनि रहेको छ । जहाँ र्याफ्टिङ सञ्चालन गरेर पनि पर्यटक भित्र्याउन सकिन्छ ।
गाउँपालिकाभित्र रहेको व्याप्त बेरोजगारी अन्त्य गर्ने के योजना छ ?
–गाउँपालिकाबाट धेरै युवा वैदेशिक रोजगारीमा छन् । भएका युवाहरु पनि शहर केन्द्रीत छन् । गाउँघरमा युवाहरु बेरोजगारीको समस्याको कारण बाहिरिन बाँध्य छन् । अब युवाहरुलाई विस्तारै गाउँमै फर्काउने योजना बनाउछौं । गाउँपालिकाभित्र तरकारी खेती, फलफुल खेती, कृषिको आधुनिकरण लगायतको कामलाई प्राथमिकतामा राखेर काम गछौं । गाउँघरमा आज युवा जनशक्ति पलाय हुँदा काम गर्ने जनशक्तिकै अभाव भएको छ । युवाहरुलाई लक्षित गरेर योजना अगाडि साछौं । जुन योजनाबाट गाउँघरमा रहेका युवाहरु आफ्नै गाउँठाउँमा स्वरोजगार बनाउने र विदेशिएका युवाहरुलाई पनि गाउँ फर्किन आर्कषण गर्नेछौं । गाउँपालिकाभित्र रहेका बेरोजगार युवाहरुको तथ्याङक संकलन गरेर गाउँपालिकाभित्र सञ्चालन हुने मझौला उद्योगमा क्षमता र सीप अनुसारको रोजगारी दिन्छौं ।
सुनापति गाउँपालिकाभित्र पर्ने सुनकोसी तेस्रो जलाशययुक्त आयोजना बन्ने चर्चा चलेको छ नि ?
–नेपाल विद्युत प्राधिकरणले सुनकोसी तेस्रो जलाशययुक्त जलविद्युत आयोजना अगाडि बढाउने भएको कुरा सत्य हो । यसको लागि प्राधिकरणले केही प्राविधिक काम पनि अगाडि बढाएको छ । सुनकोसी जलविद्युत आयोजना निर्माणमा अनिवार्य रुपमा सुनापति गाउँपालिका सबै बासिन्दालाई सेयर हाल्ने व्यवस्था मिलाइने छ । गाउँपालिकाले यो आयोजना अगाडि बढाउन स्थानीय रुपमा खेल्नु पर्ने भूमिका खेल्छ । यो आयोजना अगाडि बढेको अवस्थामा गाउँपालिकामा रोजगारीको अवस्था सृजना हुनुको साथै जनताको आर्थिक जीवनस्तर समेत माथि उठाउन ठूलो टेवा पुग्छ ।
आठ बर्षदेखि बन्न नसकेको रामेछाप–सिन्धुली जोडने सुनकोसीको खैरेनीघाटको पक्की पुल कहिलेसम्म निर्माण होला ?
–सुनकोसी नदीको खैरेनीघाटको पक्की पुल निर्माणमा ढिलाई हुँदा रामेछापको तीन गाउँपालिका जनतालाई राजधानी काठमाडौं आवतजावत गर्न कठिन भएको छ । सुनापति गाउँपालिकाबाट काठमाडौं नजिकै रहेपनि पक्की पुल समयमा नै निर्माण नहुँदा जनताले दुःख र सास्ती खेप्दै आएका छन् । विगतको बर्षमा भन्दा यस बर्ष सुनकोसीको खैरेनीघाटमा समयमा नै पक्की पुल निर्माणको कामले गति लिएको छ । यस बर्ष मोटामोटी रुपमा पुलको सबै पिलर निर्माणको काम सम्पन्न हुने जानकारी पाएका छौं । बाँकी काम बर्षाको समयमा काम गर्न पनि ठेकेदार कम्पनीलाई आग्रह गरेका छौं । आगामी बर्षभित्र खैरेनीघाट पुल निर्माण सम्पन्न गर्ने पहल गछौं । त्यसैगरी चौरी खोलाको पक्की पुल निर्माण गर्न, खानीखोलाको खिम्तीवेसी डहूवेसीं र हिर्केटार मैरे जोडने पक्की पुल निर्माण कामलाई तत्काल अगाडि बढाउने योजना बनाएका छौं ।

भुकम्प गएको दुई बर्ष वितिसक्दा समेत पुननिर्माणको कामले गति लिन सकेको छैन ? अब के जनताले अपेक्षा गेर अनुसार काम अगाडि बढला ?
–भुकम्प पीडितहरुको समस्या जटिल छ । वास्तविक भुकम्प पीडितले अझै पनि राहत पाउन सकेका छैनन् । जति पनि राहत पाउन छुटेका भुकम्प पीडितहको हकमा तत्काल प्राविधिकहरुलाई ल्याएर सर्भे मार्फत पुनः राहत प्रदान गर्ने प्रतिबद्ध छौं । पहिलो किस्ता लिएर पनि निजी घर निर्माणको काम अगाडि बढन सकेको छैन् । अब पहिला किस्ता लिएकाहरुलाई पनि घर निर्माणको काम अगाडि बढाउन जागरुक बनाउछौं ।
पाँच बर्षको अवधिमा तपाईहरुले गर्ने काम के–के हुन ?
निकै लामो त्याग वलिदान र संघर्षबाट अहिलेको परिवर्तन सम्भव भएको हो । सिंंहदरवारको अधिकार जनताको मझेरीमा आइपुगेको छ । राजनैतिक परिवर्तनसँगै अब आर्थिक क्रान्ति र गाउँवस्तीलाई समृद्ध बनाउने दायित्व हाम्रो काँधमा आइपुगेको छ । सुनापति गाउँपालिकाभित्र रहेका गरिब शोषित, पीडित, एकल महिला, आदिवासी, जनजाति, दलित, जेष्ठ नागरिकहरुको जीवनस्तरमा परिवर्तन ल्याउनु अबको हामो कर्तव्य हो । हामी सुनापति गाउँपालिकाले समृद्धिको लागि मन बचन र कर्मले काम गर्नेछौं भन्ने विश्वास पनि दिलाउन चाहन्छु । सुनापति गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृति पर्यटन लगायतको दृष्टिकोणबाट धनी छ । गाउँपालिका प्राकृतिक स्रोत साधनमा धनी भएर पनि सही ढंगले उपयोग हुन सकेको छैन् । अब बोलीमा होइन व्यवहारमा नै गरेर देखाउछौं ।

प्रतिक्रिया दिनुहोस्