२ नम्बर प्रदेशमा निर्वाचनको मिति फेरि सर्यो,अब के होला ?



१ असार, काठमाडौं ।
निर्वाचन आयोग र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोधका बाबजुद सरकारले २ नम्बर प्रदेशको स्थानीय तहको निर्वाचन तेस्रो चरणमा गर्ने निर्णय गरेको छ । सिंहदरवारमा सरकार र राजपाका नेताहरुबीच करिव साढे दुई घण्टा भएको छलफलमा राजपाका नेताहरुले सिंगो २ नम्बर प्रदेशका जिल्ला र ५ नम्बर प्रदेशका कपिलबस्तु, रुपन्देही र नवलपरासीको निर्वाचन पनि तेस्रो चरणमा नै गर्नुपर्ने अडान राखेको थियो । तर, राजपाको यो प्रस्तावमा सरकार पक्षले असहमति जनाउदै २ नम्बर प्रदेशबाहेक अरु कुनैपनि जिल्लाको निर्वाचन सार्न नसकिने बताएका थिए । यसरी प्रदेशबाट जिल्ला टुक्रयाउने विषय कानुनी हिसावमा समेत उपयुक्त नहुने सरकारी पक्षको भनाई थियो ।

त्यसमा मन्त्रिपरिषद बैठक बसेर सरकाले निर्वाचन आयोगलाई प्रदेश नम्बर २ को निर्वाचन सार्न गरेको निर्णयको पत्र पठाउने र राजपाले पनि जेठ २८ गते घोषणा गरेका विरोधका कार्यक्रम बैठक बसेर फिर्ता लिएको घोषणा गर्ने सहमति भएको थियो । सत्तारुढ दल र आन्दोलनरत दल राजपा नेपालबीच दुई नम्बर प्रदेशको चुनाव सार्ने समझदारी भएको छ । बाँकी १, ५ र ७ नम्बर प्रदेशको चुनाव भने असार १४ मै सम्पन्न गराउने गरी दलहरुबीच छलफल भइरहेको छ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहिबार बसेको बैठकमा दुई नम्बर प्रदेशको चुनाव सार्ने विषयमा समझदारी भएको गृहमन्त्री जनार्दन शर्माले जानकारी दिए । यद्यपी २ नम्बर प्रदेशको चुनाव सार्ने निर्णय भएपनि राजपाले भने अरु प्रदेशको चुनावमा भाग लिने या नलिने भन्नेमा स्पष्ट जवाफ दिएको छैन । राजपालाई मनाउन सरकारले निर्वाचनको मिति घोषणा गर्दे पटक–पटक सार्ने निर्णय गरेपनि अझै पनि राजपाले निर्वाचनमा भाग लिने सुनिश्चितता देखाएको छैन् । सरकार र राजपाबीच अझै पनि समझदारी नहुँदा निर्वाचन के होला ? भन्ने आशंका जन्माएको छ ।

प्रतिक्रिया दिनुहोस्