रामेछापको सुनापति र खाँडादेवी गाउँपालिकाको सिमानामा विप्लव माओवादीको उपद्रो



२ असार, काठमाडौं ।
रामेछापको सुनापति र खाँडादेवी गाउँपालिकाको सिमानामा रहेको गाल्वा बजारमा रहेको व्यक्तिको घरमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादीले उपद्रो मच्चकाएको छ । व्यक्तिको घरमा झण्डा गाढेर विप्लव नेतृत्वको माओवादीले आफूलाई बहादुरी देखाउने काम गरेको छ ।

व्यक्तिगत रिसिइवीको कारण विप्लवका केही कार्यकर्ताहरुले सस्तो लोकप्रियताको लागि जग्गा कब्जा गरेको आरोपमा व्यक्तिको जग्गामाथि गाढेको झण्डै प्रहरीले हटाएको छ । सुनापति गाउँपालिका–२ का मोहन घिसिङले जग्गा कब्जाको नाममा शम्भु तामाङको घर जग्गामा पार्टीको झण्डा गाढेर मोहन घिसिङको ४० रोपनी जग्गा कब्जा गरेको प्रचार गरेका छन् । २०४४ सालको पञ्चायतको निर्वाचनको क्रममा मतपेटीका फालेर चर्चामा आएका घिसिङ मतपेटीका फालेको अभियोगमा एक महिना जेल परेका थिए ।

बहुदलीय ब्यवस्था स्थापनामा कम्युनिष्ट भएकै कारण १४ वटा झुठा मुद्दा खेपेका उनी लामो समयदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय रहदै आएका छन् । राजनीतिसँगै घिसिङ लामो समयदेखि नर्सरी ब्यवसाय गर्दै आएका छन् ।मोहन घिसिङले विप्लव माओवादीले जग्गा कब्जाको नाममा आफ्नो चरित्र हत्या गर्ने काम गरेकोप्रति दुःख लागेको बताए । उनले रामेछाप न्युजसँग भने,‘विना कुनै कारण मेरो चरित्र हत्या गर्ने काम भएको छ, दोषीमाथि कारवाही हुनुपर्छ ।’

४० रोपनी जग्गा कब्जा गरेको भनिएको स्थानमा आफ्नो नाममा जम्मा २ रोपनी मात्र जग्गा रहेको बताउदै उनले गलत र कपोकल्पित आरोप लगाउने अधिकार कसैलाई पनि नभएको बताए । उनले भने,‘ खाएको विष मात्र लाग्छ नखाएको विष लाग्दैन, आरोप लगाउनेहरुसँग तथ्य र प्रमाण चाहिन्छ, विना आधार कसैको पनि इज्वतमाथि प्रश्न उठाउन पाइदैन ।’
चियाखेती गर्ने उद्देश्यले शम्भु तामाङ, रामबहादुर लामा, बसन्त मोक्तान र मोहन घिसिङले संयुक्त रुपमा २९ रोपनी जग्गा खरिद गरेका थिए । ४ जनाले संयुक्त किनेको २९ रोपनी जग्गा डिकबहादुर मगर र दानबहादुर मगरसँग २०५४ साल असार २५ गते पास गरेका थिए ।

शम्भु तामाङले १ रोपनी १४ आना आफ्नो नाममा पास गरेर घर बनाएको र मोहन घिसिङले २ रोपनी जग्गा आफ्ना नाममा पास गरेपछि शम्भु तामाङ, रामबहादुर लामा र बसन्त मोक्ताको नाममा २६ रोपनी २ आना जग्गा रहेको थियो । सो जग्गा अहिले रामबहादुर लामा र शम्भु तामाङको नाममा संयुक्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस्