सुनापति गाउँपालिकाभित्र सञ्चालित सबै विद्यालयमा अग्रेजी माध्यमबाट पढाई हुने



४ असार,रामेछाप ।
रामेछापको सुनापति गाउँपालिकाभित्र सञ्चालित सबै सामुदायिक विद्यालयहरुमा अब अग्रेजी माध्यमबाट पठनपाठन हुने भएको छ । सुनापति गाउँपालिकाको पहिलो कार्यपालिकाको बैठकले शैक्षिक गुणस्तर उकास्न र समयको माग अनुसार अग्रेजी माध्यमबाट शिक्षा प्रदान गर्ने निर्णय गरेको हो ।


गाउँपालिकाको वडा नम्बर ४ बेथानस्थित डहु मावि डहुले भने केही बर्ष अघिबाट नै अग्रेजी माध्यबाट पठनपाठन गर्दै नमूना सामुदायिक विद्यालयको रुपमा स्थापित गरेको छ । कार्यपालिको बैठकले गाउँपालिकाभित्र सञ्चालित एनजिओ र आइएनजिओहरुले अनिवार्य रुपमा अनुमति लिनुपर्ने निर्णय गरेको छ । सुनापति गाउँपालिकाका उपाध्यक्ष गिता विष्टले गाउँपालिकाको सबै वडामा युवा क्लव निर्माण गरेर प्रत्येक टोलटोलमा खेल मैदान निर्माण गर्ने निर्णय गरेको बताइन ।

उनले गाउँपालिकाभित्र नमूनाको रुपमा प्रत्येक वडाको सार्वजनिक स्थलमा सरसफाई अभियान सञ्चालन गर्ने निर्णय भएको जानकारी दिइन । गाउँपालिकाले केही समयभित्र नै सुनापति गाउँपालिकालाई छुवाछुतमुक्त गाउँपालिका घोषणा गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्