रामेछाप कांग्रेसको निष्कर्षः ६ कारणले चुनाव हारियो



४ असार, रामेछाप ।
नेपाली कांग्रेस रामेछापले निर्वाचनमा पराजय हुनुको पाँच कारण रहेको निष्कर्ष निकालेको छ । निर्वाचनमा पराजयपछि पार्टीभित्रै आरोप–प्रत्यारोप भइरहेको बेला चुनावी समिक्षा बैठकले निर्वाचनमा पराजय भोग्नुको कारण पत्ता लगाएको हो । रामेछापमा पार्टीको संगठन बलियो भएर पनि पार्टीभित्रको अन्तरघात र टिकट नपाएको झोकमा पार्टीका नेता तथा कार्यकर्ताले अन्य पार्टीलाई भोट दिएको भन्दै नेतृत्वको आलोचना भएको छ ।

जताततै अन्तरघात भएको भन्दै आरोप प्रत्यारोप उत्कर्षमा पुगेको छ । निर्वाचनमा पराजय भोग्नुको कारण पत्ता लगाउन र दोषीमाथि कारवाही गर्न जिल्ला कार्यसमितिको बैठकले सचिव लेखबहादुर कार्कीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । छानबिन समितिले निर्वाचनको क्रममा सहयोग गर्ने र असहयोग गर्नेको सूचि तयार गरेर कारवाहीको लागि सिफारिस गर्नेछ ।

टिकट वितरणमा त्रुटी
पार्टीले निर्वाचनमा पराजय भएपछि बोलाइएको समिक्षा भेलामा वडा, गाउँपालिका, नगरपालिकाका सभापतिहरु जिल्लाका अगुवा नेता तथा कार्यकर्ताहरुको सहभागीता थियो । भेलामा नै पार्टीले हार ब्यहोर्नुको कारण आरोप–प्रत्यारोप चलेको थियो । समिक्षा बैठकमा टिकट वितरणमा नै मुख्य त्रुटी भएको निष्कर्ष निकालेको छ । टिकट वितरणमा योग्य र क्षमतावान व्यक्ति भन्दा पनि व्यक्तिवाद गुटगत रुपमा अल्झिदाको परिणाम भएको समिक्षा बैठकमा चर्को ढंगले कुरा उठेको छ । पार्टीले टिकट वितरण अन्तिम समयमा आएर निर्णय गर्दा प्रचार प्रसारमा ढिलाई हुनु र सबै मतदातासँग पुग्न नसक्नु पनि हारको कारण भएको निष्कर्ष निकालेको छ ।
गुटगत मानसिकता
जिल्लामा पार्टीले हार्नुको कारण गुटगत मानसिकता अर्को कारण भएको निष्कर्ष भेलाले निकालेको छ । समिक्षा भेलामा सहभागी एक नेताले भने,‘केन्द्रदेखि जिल्ला हुँदै गाउँपालिकाको वडासम्म गुटगत मानसिकता झाँङगिदा कार्यकर्ताले उच्च मनोवलको साथ काम गर्न सकेनन, जसको परिणाम हार भोग्नु पर्यो ।’ जिल्ला नेतृत्वले गुटगत मानसिकता हटाउन भूमिका नखेलेको समेत आरोप लागेको छ । जिल्लामा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलाको गुट सक्रिय छ । गुटबन्दीको अन्त्य नभएसम्म पार्टीले अपेक्षा गरे अनुसारको नतिजा हासिल गर्न नसक्ने सुझाव पनि भेलामा सहभागीहरुले जिल्ल नेतृत्वलाई दिएका छन् ।

सांसदबाटै असहयोग
रामेछाप जिल्ला क्षेत्र नम्बर १ बाट २०७० को संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसद आङटावा शेर्पा र समानुपातिबाट शिवबहादुर खड्का सांसद छन् । निर्वाचनको क्रममा सांसद शेर्पाले ठूलो असहयोग गरेको वात लागेको छ । प्रत्यक्ष रुपमा निर्वाचित भएपछि गाउँगाउँमा गएर जनताको समस्या बुझ्ने काम समेत नभएको आरोप सांसद शेर्पा माथि लाग्दै आएको छ । सांसद विकास कोषबाट आएको बजेट पार्टीको सल्लाह अनुसार वितरण नगर्दा पनि ठूलो समस्या सृजना भएको भेलामा सहभागीले प्रश्न उठाएका छन् । निर्वाचनको क्रममा सांसद शेर्पा सक्रिय रुपमा सहभागी नहुँनु र कांग्रेसकै पकेट क्षेत्रबाट धेरै भोट नखस्नु पनि हारको कारण भएको भेलाका सहभागीहरुले आरोप लगाएका छन् ।

अरु पार्टीको पैसा खाएर कांग्रेसका कार्यकर्ताले भोट हाले
निर्वाचनको क्रममा पार्टी कार्यकताको मनोविज्ञान नबुझ्नु, गुटगत मानसिकता, अन्तरघातको घटनाक्रम बढ्दै गएपछि अरु पार्टीको पैसा खाएर समेत कांग्रेसका कार्यकर्ताले भोट हालेको विषयले पनि समिक्षा बैठकमा ठूलै चर्चा पाएको छ । कांग्रेसका कार्यकताले नै अरु पार्टीको पैसा खाएर भोट हालेको पाएका छौ, भेलामा सहभागी एक कार्यकर्ताले भने,‘हारको कारण विपक्षी पार्टी होइन, कांग्रेसकैै कारण भएको हो, यस्ता नेता र कार्यकर्तालाई कारवाही गर्नुपर्छ’, उनले भने ।
संगठन सक्रिय बनाउन नसक्नु
निर्वाचनमा हार्नुको अर्को कारण जिल्लामा पार्टीको संगठन बलियो र सक्रिय नबनाउनु पनि मुख्य रहेको भेलाका सहभागीले बताएका छन् । भएको संगठनलाई पनि चलायमान र सक्रिय बनाउन सकिएन, गुटगत मानसिकता यतिसम्म देखियो कि एकले भनेको अर्कोले नमान्नेसम्मको अवस्था देखियो, भेलामा सहभागी ती नेताले भने । जिल्ला अधिवेशन सम्पन्न भएको झण्डै दुई बर्ष पुग्न लाग्दा समेत कुनै कार्यक्रम सञ्चालन गर्न सकेको भन्दै जिल्ला सभापति लवश्री न्यौपानको चर्को आलोचना भएको छ ।
एमालेको एनजिओले भ्रम छर्दा कांग्रेसको हार
रामेछापको गाउँपालिका, नगरपालिका र वडासम्म एमाले निजट एनजिओको राम्रो सञ्जाल छ । जिल्ला कार्यसमितिका रामेछापका सचिव लेखबहादुर कार्कीले भने,‘एमालेले कांग्रेसले जित्यो भने बृद्धभत्ता पाँच हजार बनाउदैन, बृद्धभत्ता बढाउने हो भने एमालेलाई भोट दिनु भनेर भ्रमको राजनीति गरे ।’ उनका अनुसार एमाले निकट एनजिओले आफ्नो संगठनको प्रभाव भएको ठाउँमा मात्र कार्यक्रम सञ्चालन गरेको र यदी एमालेलाई नजिताउने हो भने आगामी बर्षदेखि कार्यक्रम समेत नल्याउने धम्की दिएर भोट मागेको पाइयो ।
कांग्रेसले अब कार्यकर्ता जगाउने
जिल्लाभित्र देखिएको संगठनको अस्तव्यस्ता हटाउनको लागि भेलाले विपी स्मृति दिवसको अवसर पारेर साउन ८ गतेदेखि भदौ २४ गतेसम्म रामेछापको ८ वटै स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । रामेछापको ८ स्थानीय तहमा रहेको ६४ वटा वडामा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको सचिव कार्कीले बताए ।

भेलामा कसले के भने ?
हराउन लाग्नेमाथि कारवाही हुन्छः सभापति न्यौपाने
रामेछापका पार्टी सभापति लवश्री न्यौपानेले निर्वाचनको क्रममा अन्तरघात गर्ने व्यक्तिहरुमाथि कारवाही हुने बताए । उनले भने,‘जो–जो निर्वाचनको क्रममा पार्टीलाई हराउन लागे उनीहरुलाई पार्टीमा बस्ने अधिकार छैन्, छानबिन समितिको प्रतिवेदन आएपछि कारवाही हुन्छ ।’ पार्टीमा अन्तरघात गर्ने व्यक्तिहरुमाथि छानबिन गर्न समिति गठन गरेको बताउदै उनले गलत गर्नेहरुमाथि पहिचान गरेर पार्टी कारवाही गर्न तयार रहेको चेतावनी दिए । सभापति न्यौपानले उच्च मनोवलको साथ आ–आफ्नो क्षेत्रमा खटिन र सफल प्रतिपक्षको भूमिका निवाह गर्न पनि कार्यकर्तालाई निर्देशन दिए ।
कारवाहीको नाममा कार्यकर्तामा आतङक मच्चकाउन हुँदैनः खड्का
रामेछापका पूर्व पार्टी सभापति समेत रहेका नेता रामचन्द्र खड्काले अन्तरघात गर्ने आफू भएको पुष्टि भए कारवाही भोग्न तयार रहेको बताए । उनले भने,‘कारवाहीको नाममा कार्यकर्तालाई आङकित बनाउने काम गर्नु हुँदैन ।’ खड्काले पार्टीभित्र बदमास गर्नेहरुलाई सचेत बनाउन पार्टी चुक्न नहुने बताउदै विगतमा म माथि अन्तरघात गरेको आरोप गलत भएको जवाफ दिएका थिए । उनले भने,‘रामहरि ढुङगेलले म माथि अन्तरघात गरेको भनेर आरोप लगाएका थिए तर मैले कहीकतै पनि अन्तरघात गरेको थिइन ।’

पार्टीले हार्ला भन्ने नै लागेको थिएनः घिमिरे
नेपाली कांग्रेसका नेता लक्ष्मण घिमिरेले स्थानीय तहको निर्वाचनमा रामेछापमा यसरी पार्टीले हार्ला भन्ने नलागेको बताए । उनले रामेछापमा पार्टीको संगठन बलियो भएर पनि हार्नु दुःखत भएको बताए । उनले भने,‘यदी पार्टीभित्र अन्तरघातकै कारण निर्वाचनमा हार भएको हो भने अब कारवाही गर्न ढिला गर्नु हुँदैन ।’

संगठनलाई बलियो बनाउन सबै लाग्छु पर्छः कार्की
पार्टी सचिव लेखबहादुर कार्कीले स्थानीय तहको निर्वाचनमा जो–जो हार्नु भएको छ सबै जना पार्टीको पुँजी भएको बताए । ‘मेरो नेतृत्वमा छानबिन समिति बनेको छ, निष्पक्ष भएर प्रतिवेदन बुझाउछौ, पूर्वाग्रह राखेर प्रतिवेदन बन्दैन, निर्वाचनमा सहयोग गर्ने र असहयोग गर्नेको सूचि बनाएर बुझाउछौ’, उनले भने । अब विगतमा भएको नकारात्मक घटनाक्रमलाई विर्सिएर पार्टीमा एकताबद्ध भएर लाग्ने हो भने प्रदेश र केन्द्रका निर्वाचनमा विजयी हुन सकिने बताउदै कार्कीले सबैले आफ्नो दायित्व र जिम्मेवारी सम्झिएर लागे रामेछापमा पार्टी विजयी हुने सम्भावना अहिले पनि बलियो रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्