डिल्लीमाया तामाङसँग गरेको बाचा पूरा गरेः डिएसपी ढुङगेल



पाँच बर्ष अघि रामेछापको लिखु गाउँपालिका तत्कालिन सैपु– की १४ बर्षिय सुन्तली तामाङको बलात्कारपछि हत्या भएको आरोपमा फरार रहेका श्याम राउत पक्राउ परेका छन् । साढे पाँचसम्म छोरीको हत्यारा पत्ता लगाउन सुन्तली तामाङकी आमा डिल्लीमाया तामाङले प्रहरी प्रशासन, मानवअधिकार आयोगदेखि विभिन्न संघ संस्सथा धाइन । न्यायको खोजीमा आँखाको आँशु रित्याइन । न्याय खोज्न जग्गा जमिन बेचिन । छोरीको हत्यापछि न्याय पाउनको सट्टा उनको परिवार छ महिना गाउँबाट नै विस्थापित हुन पर्यो ।
यस बीचमा रामेछापका प्रहरी प्रमुख धेरै फेरिए । तर पनि डिल्लीमायाले न्याय पाइनन । दोषी श्याम राउतलाई तत्कालिन रामेछापका प्रहरी प्रमुख डिएसपी सञ्जिव शर्मा दासले पक्राउ गरेर पनि छोडदा न्याय पाउनको लागि डिल्लीमाया तामाङले असाध्यै पीडा र दुःख झेल्नु परेको थियो । कुनै दिन न्याय पाउने आशामा भौतारिएकी डिल्लीमाया तामाङले रामेछापका प्रहरी प्रमुख कुमोध ढुङगेको सक्रियतामा न्याय पाउन सफल भएकी छिन् ।
डिएसपी ढुङगेको सक्रियतामा सुन्तली तामाङको हत्यामा सलग्न फरार अभियुक्त पक्राउ परेका छन् । छोराको हत्यापछि विछिप्त बनेकी डिल्लीमाया तामाङ अपराधी पक्राउ परेकोमा खुसी छिन् । डिएसपी ढुङगेल नै आफ्नो लागि भगवानको रुपमा पाएको बताउदै अपराधी पक्राउ पर्दा छोरीको आत्माले समेत शान्ति पाएको बताउछिन् । डिल्लीमायालाई न्याय दिलाउन फरार रहेका अभियुक्त श्याम राउत कसरी पक्राउ परे ? भन्ने विषयमा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख कुमोध ढुगेलसँग रामेछाप न्युजले गरेको विशेष अन्तर्वार्ताः–

कुमोध ढुगेल डिएसपी, जिल्ला प्रहरी कार्यालय रामेछाप

पाँच बर्ष अघिबाट फरार अभियुक्तलाई कसरी पक्राउ गर्नु अघि कसरी अनुसन्धान सुरु गर्नुभयो ?
–सुन्तली तामाङलाई बलात्कार गरेर हत्या गरेको २०६८ सालमा यो घटना घटेको थियो । म त्यति बेला केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत थिए । त्यति बेला केन्द्रीय अनुसन्धान ब्युरोको प्रमुखमा उपेन्द्रकान्त अर्याल हुनुहुन्थ्यो । लिलामणि पौडेल त्यति बेला मुख्य सचिव हुनुहुन्थ्यो । रविन्द्रप्रताप शाह प्रहरीको आइजिपी हुुनुहुन्थ्यो । रामेछापको सुन्तली तामाङको बलात्कारपछि हत्या भएको घटनाको बारेमा अपिसमा छलफल भएको थियो ।
त्यो केसको लागि तत्कालिन डिएसपी सञ्जिव शर्मा दासलाई हटाएर गोपालचन्द्र भट्टराई सरलाई पठाइएको थियो । प्रहरी कर्मचारीको नाताले जहाँ कार्यरत भएपनि घजन्य प्रकृतिको घटनाको बारेमा जानकारी राख्ने मेरो व्यक्तिगत स्वभावको कारणले त्यो घटनाको बारेमा पनि चासो राखेको थिए । अझ त्यो घटनामा रमेश बाहुन भन्ने सुजना पौडेललाई समेत जोडिएको थियो ।

संगठनको आदेश बमोजिम जिल्ला प्रहरी कार्यालय रामेछापको प्रहरी प्रमुखको रुपमा मेरो सरुवा भएपछि यो केसलाई मैले आफ्नो क्यारियरको चुनौती र अवसरको रुपमा लिए । मैले रामेछाप जिल्लामा भएका जघन्य प्रकृतिका अपराधका घटनाहरु मध्ये सुन्तली तामाङको हत्याको अनुसन्धानलाई प्राथमिकता दिइ अनुसन्धान प्रक्रिया अगाडि बढाए ।

भारतमा रहेको अभियुक्तको बारेमा भारतीय प्रहरीसँग समन्वय र सूचनाको आदान प्रदान भएको थियो । त्यसको लागि तत्कालिन प्रहरी प्रमुख उपेन्द्रकान्त आर्यालज्यू, वर्तमान प्रहरी प्रमुख प्रकाश अचार्यलज्यू, सचिवालयको टिम, मध्ये क्षेत्रीय प्रहरी कार्यालयका  तत्कालिन प्रहरी प्रमुख पशुपति उपाध्यक्ष, मध्ये क्षेत्रीय प्रहरी कार्यालयका वर्तमान  प्रमुख गणेश केसीज्यु, इन्टरपोल शाखाका अधिकारीहरुको सहयोग र समन्वय भएर अभियुक्त श्याम राउत पक्राउ गर्न सफल भएको हो ।
रमेश बाहुनसँगको सम्बन्ध के पाउनुभयो ?
–त्यस्तो केही पनि पाइएन । यो केसमा बाहुनको संलग्नता देखिएको छ । तर पनि अनुसन्धान भइरहेको छ ।
पीडित डिल्लीमाया तामाङ न्यायको खोजीमा हुनुहुन्थ्यो । तपाई रामेछाप गएपछि कहिले भेट भयो ?
–जिल्ला प्रहरी कार्यालय रामेछापमा हाजिर भएपछि त्यहाँका सबै पक्षसँग भएको परिचात्मक कार्यक्रम भएको थियो । त्यहाँ मैले भनेको थिए,बोल्नु भन्दा पनि काम गरेर देखाउछु, योजना सहित म रामेछाप आएको छु, जनताको पक्षमा काम गरेर देखाउछु । त्यति बेला सुन्तली तामाङको बलात्कारपछि हत्या भएको घटनाको बारेमा धेरैले चासो राख्नुभएको थियो । मैले सबैको चासो र चिन्तालाई गम्भीरताको साथ लिएको थिए ।
डिल्लीमाया तामाङसँग २०७३ सालको प्रहरी दिवसको दिन भेट भएको थियो । उहाँ मलाई भेटन मन्थली आउनुभएको थियो । मैले डिल्लीमाया तामाङसँग बाचा गरेको थिए–‘यो केसको बारेमा धेरथोरै जानकारी मैले पनि दिमागमा राखेको छु, केही कुरा मैले पनि बुझेको छु, यो केसमा सलग्न मान्छे म रामेछाप रहदा नै पक्राउ गर्छु ।’
त्यसपछि डिल्लीमायाले कति पटक भेट गर्न आउनुभयो ?
–डिएसपीलाई सरुवा गरिदियो रे भन्ने हल्ला भएपछि मलाई भेटन आउनुभएको थियो । डिएसपी चेन्ज भएर गएपछि आउने डिएसपीले गर्दैन भन्ने सुनाइदिएछन् । मैले उहाँलाई भनेको थिए–‘म रामेछापबाट सरुवा भएर गएपनि नेपाल प्रहरीको जागिरमै रहन्छु, जहाँ गएपनि प्रहरीको सदस्यको हैसियतमा रहन्छु । यो केसको बारेमा मैले जहाँ बसेर पनि काम गर्न सक्छु, ढुक्क भएर बस्नुहोस, तपाईको छोरीको हत्या गर्ने अपराधीलाई पक्राउ गरेर तपाईको अगाडि उभ्याउछु ।
त्यसपछि डिल्लीमाया तामाङ के भन्नुभयो थियो ?
–रामेछापको मझुवामा गाडीभित्र जलाएर विशाल खड्काको हत्यामा संलग्न अपराधीलाई मेरो नेतृत्वमा नै पक्राउ गर्न भएपछि डिल्लीमाया तामाङमा छोरीको हत्यारा पक्राउ पर्ने नयाँ आशा पलाएको थियो र डिल्लीमायाले चाँडै नै न्याय पाउछु होला भनेर भन्नुभएको थियो ।
दोस्रो पटकको भेटमा के आश्वासन दिएर फर्काउनुभएको थियो ?
–मैले दस औला जोडेर डिल्लीमाया तामाङलाई  यो घटनाको बारेमा अनुसन्धान गरिरहेको छ भनेर कहीकतै पनि कुरा नगर्नु  भनेको थिए  र तपाईलाई प्रहरी संगठनबाट गर्नुपर्ने काममा कुनै कमिकमजोरी हुँदैन र अपराधीलाई पक्राउ गछौ भनेर बचन दिएको थिए ।

जसरी पाँच बर्षदेखि फरार रहेको अभियुक्त पक्राउ गर्न सफल हुँदा र अपराधीलाई पीडित डिल्लीमाया तामाङको अगाडि उभ्याउदा तपाईलाई कस्तो महशुस भयो ?
–डिल्लीमायाको जुन खालको बेदना थियो । त्यो वेदना देखेर हामी स्तब्ध थियौ । हामी सबै मौन थियौ । हामीसँग फरार अभियुक्त खोजेर नल्याउदासम्म बोल्ने शब्द पनि थिएन । हाम्रो घरपरिवारको जो कोही दिदी बहिनीलाई पर्दाखेरि पनि के कति पीडा हुन्छ भन्ने कुरा त आफूलाई परेपछि मात्र थाहा हुन्छ नि ? डिल्लीमायाको पीडा शब्दमा अभिव्यक्त गर्न सकिने अवस्था नै थिएन ।

जब अभियुक्तलाई पक्राउ गरेर सार्वजनिक गर्दाको समयमा डिल्लीमाया तामाङबाट व्यक्त पीडाले हामीसँग बोल्न शब्द नभएपनि अभियुक्तलाई पक्राउ गर्न नसक्दा प्रहरी संगठनमाथि प्रश्न उठेको थियो । तर प्रहरीले अभियुक्तलाई पक्राउ गरेर सार्वजनिक गर्दा संगठनको इज्वत बढाउनको लागि केही थोरै योगदान गर्न सकेको हो भन्ने कुरा महशुस भयो ।

पक्राउ गर्न जादै गर्दा यस पटक फरार अभियुक्त राउत पक्राउ हुनेमा तपाई विश्वस्त हुनुहुन्थ्यो ?
–यस पटक फरार अभियुक्त श्याम राउत पक्राउ पर्नेमा कुनै शंका नै थिएन । मझुवाको घटना नघटेको भए पाँच महिना अघि नै श्याम राउत पक्राउ परिसक्थ्यो ।
राउतलाई कस्तो अवस्थामा पक्राउ गरिएको थियो ?
–श्याम राउत भारतमै लुकीछिपी बसेको थियो । । भारतमै बसेर अन्य देश जानको लागि डकुमेन्ट बनाउने प्रक्रियासम्म पुगेको थियो ।  भारतमा उसलाई ‘राम’ु नामबाट चिनिने गरेको थियो र श्याम राउतले आफने जीविकोपार्जनको लागि होटलमा मजदुरी गरेर बसेको थिथो । श्याम राउत भैरहवामा आफन्त भेटन आउदै छ भन्ने गोप्य सूचनाको आधारमा हाम्रो टोली नेपाल–भारत सिमा क्षेत्रमा गएको थियो । उ नेपाल आउदै गरेको अवस्थामा पक्राउ पर्यो ।
रामेछापमा गएपछि तीन महिनाभित्र जनताले महशुस गर्ने गरी काम गर्छु भन्नुभएको थियो । अहिले कसरी काम गरिरहनुभएको छ ?
–रामेछापमा कहीकतै पनि दादागिरी देखाउने गुन्डागर्दी गर्ने परम्पराको अन्त्य भएको छ । ट्राफिक नियम कडाईपूर्वक लागू भएको छ । खुल्मखुल्ला रुपमा खेल्ने जुवातास बन्द भएको छ ।
इच्छा शक्ति र प्रतिबद्धता भयो भने समाजमा छोटो अवधिमा पनि परिवर्तन गर्न सकिने रहेछ नि होइन ?

–इच्छा शक्ति र प्रतिबद्धता भयो भने राम्रो काम गरेर देखाउन सकिन्छ । काम भनेको टिमवर्क हो । व्यक्तिले गर्ने भन्दा पनि टिमले गर्ने हो । जसरी फुटबल खेलमा ११ जना खेलाडीकै एकतामा गोल गर्न सम्भव हुन्छ । त्यसैगरी हरेक काममा सफलता प्राप्त गर्नको लागि टिमर्वक चाहिन्छ । किपर जति नै राम्रो भएपनि गोल हान्ने स्टाइकर नै चाहियो ।
मझुवाको घटनामा संलग्न एक जना दोषी कहिले पक्राउ पर्ला ?
–हामी अनुसन्धान गरिरहेका छौं । आशा गरौ छिट्टै पक्राउ पर्छ । अरु पुराना केसहरु पनि छन् । ती केसमाथि पनि प्रक्रिया अगाडि बढाइएको छ ।
तपाईले रामेछापमा जिम्मेवारी सम्हालेपछि प्रहरीलाई नै कारवाही गरेको बाहिर सार्वजनिक भएको छ नि हो ?
–हो, प्रहरी संगठनको विभागीय, आचारसंहिता जुन छ । त्यसमा सानो मिस्टेक गर्छ भनेपनि कारवाही हुन्छ । कसैले अन्जानमा गर्ने गल्तीमा पुर्नविचार हुन सक्छ । तर जानेर गल्ती दोहोर्याउ छन म कारवाही गर्न पछि पर्दिन ।
रामेछापका जनतालाई तपाई के भन्न चाहनुहुन्छ ?
–हामी कस्तो सामाजिक संस्कारमा हुर्किएका छौ भन्दा मैले गरेको सबै ठिक, अरुले गरेको सबै कुरा बेठिक । मेरो अधिकार छ । त्यो अधिकार मैले प्रयोग गर्नुपर्छ । मैले मेरो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन गर्नु हुन्छ कि हुँदैन ? भन्ने कुरा ख्याल गर्नुपर्छ । व्यवसाय गर्ने मान्छेले व्यवसाय गर्न पाउन छ तर सामान सडकमा राखेर बेच्न पाउदैन । बाटोमा हिडनु पाउनु त पैदल यात्रीको अधिकार हो । रामेछापवासीलाई मेरो अनुरोध छ–‘आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार पनि रक्षा गर्नु पर्यो । प्रहरीले कुनै कमीकमजोरी गर्छ भने सिधा मेरो नम्बर ९८५४०५५५५५ नम्बरमा फोन गर्नुहोस् । जतिखेर  गर्दा पनि मैले रेस्पोन्स गरेको छु । सानो सूचना पनि हाम्रो लागि ठूलो हुन्छ ।’ अपराध गर्ने मान्छेको जात धर्म लिङ्ग,राष्ट्रियता केही पनि हुँदैन । त्यस्ता व्यक्तिको बारेमा सानो सूचना पनि विना बर्दीका प्रहरीको रुपमा रहेका रामेछापवासीले प्रहरीलाई दिनुहुन अनुरोध गर्दछु ।

 

प्रतिक्रिया दिनुहोस्