रामेछापको पहिलो जिल्ला सभाको बैठकमै नोटअफ डिसेन्ट



१५ असार, रामेछाप ।
स्थानीय तहको निर्वाचन सम्पन्न भएको डेढ महिनापछि रामेछापको जिल्ला समन्वय समितिको संयोजक र सदस्यहरु चयन गर्न बसेको बसेको पहिलो जिल्ला सभाको बैठकमा नै विवाद भएको छ । नेकपा एमालेबाट निर्वाचित प्रतिनिधिहरुले जिल्ला समन्वय समितिमा नौ सदस्य बनाउने निर्णयप्रति नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले नोटअफ डिसेन्ट लेखेका हुन् ।



रामेछापको ८ वटा स्थानीय तह मध्ये नेकपा एमालेले बहुमत अर्थात नौ स्थानमा जित हासिल गरेको छ भने कांग्रेस र माओवादीका ७ जना रहेका छन् । जिल्ला समन्वय समिति गठन गर्दा नगरपालिका र गाउँपालिका प्रमुख र उपप्रमुखले मात्र मतदान गर्न पाउने प्रावधान छ । निर्वाचनमा विजयी भएका वडा सदस्यदेखि नगरपालिका र गाउँपालिकाको प्रमुख उप्रमुख समन्वय समितिको संयोजकको उम्मेदवार बन्ने पाउने छन् ।
कानुन अनुसार जिल्ला समन्वय समिति ६ देखि ९ जना बनाउन पाउने व्यवस्था छ । कांग्रेस र माओवादीले सुरुमा ७ सदस्यीय जिल्ला समन्वय समिति गठन गर्नपर्ने प्रस्ताव राखेका थिए । तर मन्थली नगरपालिका नगर प्रमुख रमेश बस्नेतले प्रक्रियाबाटै जिल्ला समन्वय समितिको सदस्य टुंगो लगाउने बताएपछि कांग्रेस र माओवादीले नोटअफ डिसेन्ट लेखेर बाहिरिएका थिए ।
सुनापति गाउँपालिका उपाध्यक्ष गिता विष्टले बहुमतको आधारमा एमालेले जिल्ला समन्वय समिति गठन गर्ने निर्णय गरेपछि आफूहरुले नोटअफ डिसेन्ट लेखेको बताइन । उनले रामेछाप न्युजसँग भनिन,‘सुरुमा एमालेका साथीहरुले सहमति भन्नुभयो, तर निर्णय गर्ने बेलामा प्रक्रियाबाटै टुंगो लगाउने काम गर्नु भो, त्यसपछि हामीले सहमति जनायौं ।’
जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी दिनेशराज पन्तले विहिवार बोलाएको जिल्ला सभाको पहिलो बैठकमा ६ गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र २ नगरपालिकाका नगर प्रमुख र नगर उपप्रमुखको सहभागीता रहेको थियो । अबको १५ दिनपछि जिल्ला समन्वय समितिको संयोजक र सदस्यहरुको टुंगो लगाउनुपर्ने हुन्छ । कांग्रेस र माओवादीले नोटअफ डिसेन्ट लेखेपछि स्थानीय विकास अधिकारी पन्तले आपसी छलफल मार्फत जिल्ला समन्वय समिति गठन गर्ने प्रक्रिया अगाडि बढाउने तयारी गरेका छन् ।
१६ जनामा रमेश बस्नेत जेष्ठ
रामेछापको १६ जना प्रमुख उपप्रमुखमा सबै भन्दा जेष्ठ मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्नेत देखिएका छन् । जिल्ला सभाको बैठकमा जेष्ठताको आधारमा सभापतित्व गर्ने क्रममा बस्नेले जेष्ठ देखिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्