‘मन बचन र कर्मबाट लागौं रामेछापलाई समृद्ध बनाऔं’



रामेछाप जिल्ला प्राकृतिक स्रोत र साधनले भरिपूर्ण छ । रामेछापलाई समृद्ध बनाउने चार आधार जल, जमिन, जङगल पर्यटन नै हुन् । तामाकोसी, सुनकोसी, लिखु, खिम्ती, चौरीखोला लगायतका नदी र खोलाहरु जलविद्युतका स्रोत हुन् । पछिल्लो तथ्याङक अनुसार रामेछापको नदीनालाबाट बाट मात्रै १८ सय मेगावाट भन्दा बढी विद्युत उत्पादन गर्न सकिन्छ । अहिले सुनकोसी दोस्रो र तेस्रो जलविद्युत आयोजनाको अध्ययान भइरहेको छ । लिखु र खिम्ती खोलामा केही जलविद्युत आयोजना निर्माणको चरणमा रहेका छन् । रामेछापले विस्तारै विकासको गतिमा लम्किएको छ ।

                                      होम बुढाथोकी

रामेछापको ८ वटै स्थानीय तहमा सडक पुगेको छ । रामेछापमा निर्माण भएका ११ सय मिलोमिटर सडक मध्ये जम्मा ३० किलोमिटर सडक मात्र पिच भएको छ । बाँकी सबै कच्ची सडक मात्र छन् । बर्षाको समयमा आधा सडकमा पनि यातायात सञ्चालन गर्न मुस्किल छ । अब जथाभावी सडक खन्ने कार्यलाई रोक्नु पर्छ । गुणस्तरीय सडक निर्माणमा जोड दिनुपर्छ ।
अब रामेछापको विकासको गतिलाई अगाडि बढाउनुको अर्को विकल्प छ । अब गफ र भाषणले मात्र रामेछापको विकास हुन सक्दैन । विकासको लागि तत्पर्ता र इच्छा शक्तिको खाँचो छ । योजना निर्माण गरेर जनताको दैनिक आवश्यकतालाई प्राथमिकतामा राख्दै रामेछापको जल, जमिन, पर्यटन र जङगलको उचित प्रयोग गर्नुपर्छ । रामेछापको हरेक गाउँपालिकामा समस्या छन् । सडक, खानोपानी, शिक्षा, स्वास्थ्य, विद्युत जुन विषय जनताको दैनिकीसँग जोडिएको छ । रामेछापलाई समृद्धि बनाउनको लागि अब योजनाबद्ध रुपमा कार्यक्रम अगाडि बढाउनु पर्छ । उद्योग धन्दा स्थापना गर्ने, रोजगारीको अवस्था सृजना गर्ने, युवाहरुलाई विदेशिनबाट रोकेर गाउँघरमै स्वरोजगार बनाउने कार्यक्रम ल्याउनु पर्छ ।
मन बचन र कर्मबाट लाग्ने हो भने रोछापको समृद्धि धेरै टाढा छैन् । काम गर्ने जाँगर, उदेश्य प्राप्तिको लागि अठोट नै पहिलो शर्त हो । जसरी धुर्मुस सुन्तलीको पहलमा एकीकृत वस्ती निर्माण गरेर देखाए । हो, हामीले पनि त्यसबाट पाठ सिक्दै आप्mनो नगरपालिका र गाउँपालिकालाई कसरी विकास गर्ने भन्नेमा गम्भीर भएर सोच्ने बेला आएको छ ।
विगततिर भन्दा पनि आगामी दिनमा समृद्ध रामेछाप निर्माण गर्नको लागि अग्रसर हुनुपर्छ । समयको गतिलाई पक्रदै जनताको चाहना र भावना अनुसार अबको कार्यक्रम अगाडि सानुपर्छ । परम्परागत रुपमा विकासका बजेट कनिका छरेकोजस्तो गरी अब विकास सम्भव छैन् । अब नगरपालिका र गाउँपालिकाले गुरु योजना निर्माण गरेर नै काम गर्नुपर्छ । गुरु योजना विना नै निर्माण हुने भौतिक संरचना दिगो र स्थायी हुन सक्दैनन् । अब जति पनि सडक खन्ने काम गरिएको छ । ती सडकहरुलाई नगरपालिका, गाउँपालिका र वडासँग जोडने मुख्य सडकलाई प्राथमिकता दिनुपर्छ । गाउँघरमा हचुवाकै भरमा सडक निर्माण गर्दा विकाससँगै विनाश पनि निम्तिनेतर्फ हामी सबै सचेत र चनाखो हुनुपर्छ ।

अब निर्वाचनमा जनप्रतिनिधिहरुले गरेको प्रतिबद्धता अनुसार नै नगरपालिका, गाउँपालिका र वडामा नमूना काम सुरु गर्नुपर्छ । कृषिलाई आनुनिकरण गर्ने, उद्योग धन्दा स्थापना गर्ने, जडिबुडीको उत्पादन र प्रशोधन गर्ने, कृषिलाई समय सुहाउदो ढंगले आनुनिकीकरण गर्दै लैजाने काममा ध्यान दिनुपर्छ । परम्परागत सोच र संस्कारलाई परिवर्तन गर्दै व्यवसायिक रुपमा फलफुल खेती, व्यवसायिक रुपमा तरकारी खेतीलाई प्राथमिकता दिनुपर्छ । जहाँ जे सम्भावना छ । त्यसको खोजी गरेर अब कार्यान्वयनको दिशामा अगाडि बढ्नु पर्छ ।
समृद्ध रामेछाप निर्माण गर्ने पक्ष प्रतिपक्ष भन्दा पनि एकताको खाँचो छ । निर्वाचनमा राजनीति गरौ । आफ्ना एजेण्डाहरु जनता समक्ष लैजाऔ । जितेर आउने जनप्रतिनिधिहरुले सबै जनताको मर्म र भावना अनुसार काम गरौं । स्थानीय तहमा हुने विकास निर्माणमा जनताको आवश्यकतालाई बढी ध्यान दिऔं । परिवर्तन असम्भव छैन् । के काम गर्ने ? कसरी गर्ने भन्नेमा स्पष्ट भएर काम गर्नुपर्छ । अन्यौलता र आशका गरेर कुनै पनि कामको थालनी गर्नु हुँदैन । आत्मविश्वासले मात्र कुनै पनि सम्पन्न गराउछ भन्ने मान्यतालाई जनप्रतिनिधिहरुले ख्याल गर्नुपर्छ ।
शिक्षालाई हामीले उच्च प्राथमिकता दिदै प्राविधिक र व्यवसायिक शिक्षामा जोड दिनुपर्छ । जहिलेसम्म गुणस्तरीय शिक्षा दिन सकेका छैनौ । कतिपय गाउँपालिकाहरुले अग्रेजी माध्यबाट पठनपाठन गराउने निर्णय नै गरिसकेको अवस्था छ । शिक्षामा आमूल परिवर्तन गर्नुपर्छ । अहिलेको शिक्षा प्रणालीमा नै समस्या छ । समग्र शिक्षा प्रणालीमा नै परिवर्तन गनुपर्छ । शिक्षा क्षेत्रमा चरम राजनीति छ । शिक्षकहरु पार्टीमा लाग्दा नपढाउदा पनि हुन्छ भन्ने गलत संस्कारमा लागेका छन् । जुन कुरा सरासर गलत छ ।
रामेछापको अर्को समृद्धको आधार पर्यटन हो । ऐतिहासिक धार्मिक र सांस्कृतिक रुपमा रामेछाप धनी छ । विभिन्न जातजाति धर्म संस्कृतिको संरक्षणसँगै आन्तरिक एवं बाह्य पर्यटकलाई पनि रामेछापमा भित्र्याउन सकिन्छ । रामेछापलाई पर्यटन उद्योगको रुपमा पनि विकास गर्न सकिन्छ ।

रामेछापको दुई बर्ष अघि नै सित्खाबाट खाँडादेवी मन्दिरसम्म केबुलकार सञ्चालन गर्ने योजना पनि अगाडि सारिएको थियो । तर प्राविधिक रुपमा अगाडि बढन सकेको छैन् । रामेछापलाई समृद्ध बनाउन सम्भव छ । आवश्यकता छ त केबल जोस जाँगर र आँट काम गर्ने इच्छा शक्तिको । हातमा हात र काँधमा काँध मिलाएर लाग्ने हो भने समृद्धि रामेछाप सम्भव छ । विकास निर्माणमा अनावश्यक राजनीति नगरौं । जनताको चाहना र भावनालाई केन्द्रमा राखेर काम गरौ, केही बर्षभित्र नै रामेछाप समृद्ध बन्न सक्छ ।

(रामेछाप खाडाँदेवी गाउँपालिका निवासी बुढाथोकी नेकपा एमालेकाका नेता एवं पार्टीको केन्द्रीय लेखा आयोगको सदस्य हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्