युवा



विशाल धराको गर्भबाट
अंकुराउँदै,
बिज उम्रिए झैं
एउटा आत्मा
भू–लोकमा पर्दापर्ण गर्छ
जीवनको नद–नाद गर्जन उरालेर
पुष्ट बाहुमा भरिएका अनगिन्ती
साहासका प्रतिच्छायाँ हरुलाई
निख्खर बैजनी जीवनको घोलमा घोल्दैगर्दा
आफ्नै आँगनमा सुकाएको विस्कुन लुटिएपछि

                           प्रकाश न्यौपाने (परिष्कार प्रकाश)

आम नवयुवाहरु
भोको पेटलाई साँक्षी राखेरै
संघर्षको मैदानमा उत्रंदा रहेछन्
चिसो चुल्होमा तातो अभिलाषा पर्परी तताउँदै
रोग भोक र शोकको बर्खिलापको खातिर
उठ–उठ ए युवा हो ! मसाल बालेर ।

विपन्नताको जर्जर बयरघारीबाट
अन्याय अत्याचार र व्यभिचारको
भड्खारोमा खाँदिदै–खाँदिदै
बेहाल युवाहरुले भनेका थिए
आमा ! ओखती खाइरहेकी छ्यौ ?
अदृष्य, दृष्य वार्तालाप
अरबको पचास उक्लेको तापक्रममा
असिन पसिन पसिना पुछ्दै पुछ्दै
परदेशीले खुइलेको कपाल देखाएका थिए
हातमा सर्वस्व रत्तधारा प्रतित् खञ्जर देखाएर
आमासँग तुरुक्क आँशु चुहाउँदा
यता विप्रेषणको रम उन्मादमा बौलाएका
घनटाउकेहरु पिलिक्क प्याला निल्दारहेछन्
आँशुको सागर–खोला, खहरे, र नदी बनेर
महाकालीमा मिसिरहँदा
प्रिय सरीतालाई बेचिखाने
प्रकृति दोहनकर्ताहरु
चक्षुच्यानलमा झिर्झिराउँदा रहेछन्
आम नेपाली युवाहरुको रगत रेमिट्यान्सको मोलमा बेच्दै
जन, जगत र जननीको सौहार्द रक्षणको खातिर
उठ–उठ ए युवा हो ! मसाल बालेर ।

एका बिहानै फुस झुप्रोको आँगनीमा
एस.एस.बीका बुट बजारिँदा
छोरी बुहारी आँखै सामुन्ने लुटिँदा
लोग्ने छोराहरु भकाभक कुटिँदा
यातनाले अगाडी सारेको महाप्रलय
कहिल्यै अन्तरदृष्ट्रिले हे¥यौ ए ! सरकार
कति उत्पादन गर्छौ बेरोजगारको जमात ?
तिम्रा निशानी छापले प्रमाणित भएका
आम शैक्षिक प्रमाणपत्रहरु
हिमालको टसीग्याल्बो शेर्पा
पहाडको पर्वतबहादुर क्षेत्री
अनि तराइको
अनि तराईको मख्खनलाल चौधरीले
किन संहालेर राख्ने अब ?

विद्यालय तह पार गर्ने पर्दैन तिमो घिनौन राजनीतिमा
समाजशास्त्र पढ्नै पर्दैन तिम्रो सोसियोलोजीमा
जनता ढाँट्न लिएको टिकटधारी आत्माहरु
सरासर सिँहदरबारको ढोकाबाट भित्र घुसिरहँदा
तिमीले नै प्रमाणित गरेर दिएको डिग्रीधारी युवा
अरब यात्राको टिकट हातमा बोकेर
बोइङ्गको ढोका भित्र पसिरहेको छ
कतिन्जेल गरिरहन्छौ सरकार युवाको लिगल व्यापार
हठात् ! एकदिन सुरज अस्ताउने नै छ
बस् त्यहीदिन तिमीले देख्ने छौ
जीवन्त ढाँटेर चलाएको युवा विहिन तिम्रा राज्य
आश्वासन, अर्जी र अहंकारको काजक्रियाको खातिर
उठ–उठ ए युवा हो ! मसाल बालेर ।

सुर्य अंध्यारो भएपछिको हालात्
युरोपपियन मुलुकहरु
विश्वका शक्तिका बादशाहहरुले
एकदिन तिम्रो उछितो काढ्नेछन्
युगका नवीनतम् गहनाहरुको दुर्दशा
भोली तिम्रा सन्तानका लागि
के भारी नपर्ला र ?
भए अदृष्य समयका संवाहक युवाहरु
नालयक सरकार अन्धो भएपछि
छिमेकीको गिद्धे नजर परेका बख्त्
नियतिको घिड्घिडोमा के नै हुन्छ र ?
युवा सपना लुटिँदा
आकाँक्षा र जीवन परिधि हराउँदा
तब त राष्ट्रभावले युवा जोसमा नगरा बजाउँदै
मन, माटो र मक्सतका खातिर
उठ–उठ ए युवा हो ! मसाल बालेर ।

(जिल्ला युवा समिति रामेछापले आयोजना गरेको युवा प्रतिभा पहिचान कविता प्रतियोगीतामा प्रथम हुन सफल भएको कविता) ।

प्रतिक्रिया दिनुहोस्