‘चार काम गरे सुनापति गाउँपालिका समृद्ध बन्छ’



कुनै पनि ठाउँको विकास रातारात हुने विषय होइन । विकास गर्नको लागि योजना र इच्छा शक्तिको खाँचो पर्छ । समृद्ध समाज निर्माणको लागि नीति निर्माण तहमा रहनेहरुको नै मुख्य भूमिका हुन्छ । आफ्नो गाउँठाउँ कस्तो बनाउने ? कति अवधिसम्म कुन–कुन काम गर्ने ?भन्ने प्राथमिकता निर्धारण गर्नुपर्छ । कुनै पनि काम हचुवाकै शैलीमा निर्माण थाल्दा त्यसको परिणाम सकारात्मक आउदैन । दिगो विकास गर्नको लागि योजना नै पहिलो शर्त हो ।

                            रोज थिङ

कल्पना नै एउटा योजना हो भन्ने भनाईझैं कुनै पनि गाउँठाउँको विकास गर्नको लागि सुरुमा योजना चाहिन्छ । योजना निर्माण गर्दा आज बनाउने र भोली भत्काउनु पर्ने गरी निर्माण गर्नु हुँदैन । कुनै विकास निर्माण गर्दा स्थानीय जनताले प्रत्यक्ष रुपमा फाइदा लिने गरी नीति निर्माण गर्नुपर्छ । समृद्ध समाज निर्माण गर्नको लागि जनताको पनि उत्तिकै साथ, सहयोग र तत्पर्ताको खाँचो हुन्छ । जनसहभागीतमा हुने कामले नै समाज समृद्ध बनाउछ ।
रामेछापको सुनापति गाउँपालिकामा पाँच वटा वडा रहेका छन् । सबै वडाका जनता आफ्नो गाउँठाउँको फुहार फेरिएको हर्ने चाहन्छन । अहिले सबै वडामा कच्ची सडक पुगेको छ । मुख्य–मुख्य सडक पिच भएर सहज यातायात सञ्चालन भएको हेर्न चाहन्छन । आर्थिक जीवनस्तरमा परिवर्तन गर्ने कार्यक्रम सञ्चालन होस भन्ने अपेक्षा अहिले जनतामा बढी व्याप्त छ । वीस बर्षपछि जनताहरुले आफ्नो घर आँगनमै जनप्रतिनिधिहरु पाउदा दंग मात्र छैनन्, विकास निर्माणको कामले गति लिने सपना पनि संगालेका छन् ।

सुनापतिदेखि गाल्वासम्म चिया बगान
सुनापति गाउँपालिको विकासको पहिलो आधार पर्यटन हो । सुनापति डाँडा नै गाउँपालिकाको आर्कषणको केन्द्र हो । सुनापतिमा पर्यटक भित्र्याउनको लागि भौतिक संरचना निर्माण गर्नुपर्ने आवश्यकता छ । सुनकोसीको खैरेनीघाटमा पक्की पुल सञ्चालनमा आएपछि राजधानी काठमाडौंसँगको आवतजावत सहज हुन्छ । पिक्निक स्पोटको रुपमा सुनापतिलाई विकास गर्न सकिन्छ । सुनापति धार्मिक, ऐतिहासिक र सांस्कृति रुपमा धनी भएर पनि उचित प्रचारप्रसार हुन सकेको छैन् । अब सुनापति गाउँपालिकाले ढिलासुस्ती नगरी सुनापति डाँडा (डोक्माको माथिल्लो भाग)देखि गाल्वासम्मको बाझो जमिनमा चिया बगानको रुपमा विकास गर्नुपर्छ । चिया बगानको रुपमा विकास गर्नको लागि यस अघि नै माटो परीक्षण मार्फत चिया खेतीको लागि योग्य रहेको सिफारिस विज्ञहरुले गरिसकेका छन् ।
चिया बगानको रुपमा विकास गर्न सकेको खण्डमा अहिले चिया बगान हेर्नको लागि ईलाम भन्दा रामेछापको सुनापति गाउँपालिका नै सहज र नजिक हुन्छ । रामेछापबाट राजधानी काठमाडौं करिब १ सय २० किलोमिटरको दुरीमा रहेको छ । यसै बर्षबाट गाउँपालिकाले चिया खेतीको लागि योजना सहित चिया बगानको कार्यक्रमलाई अगाडि बढाउनु पर्छ । चिया बगानको रुपमा विकास खर्च सकेको अवस्थामा फिल्म सुटिङस्थलदेखि आन्तरिक एवं बाह्य पर्यटकको आर्कषण केन्द्रको रुपमा विकास गर्न सकिन्छ । चिया बगानको योजना अगाडि सार्दा सयौ युवाहरुलाई रोजगारीको अवस्था समेत सृजना गर्न सकिन्छ । जुन योजनाले सुनापति गाउँपालिको मुहार फेर्न सक्छ ।

कृषिमा आनुनिकरण
सुनापति गाउँपालिकाको अधिकांश भू–भागमा सिचाइँको व्यवस्था छैन् । धेरै क्षेत्रमा खानेपानीकै समस्या छ । गाउँपालिकामा अपवाद बाहेक अधिकांश क्षेत्रमा परम्परागत रुपमा नै खेतीपाती हुँदै आएको छ । अब गाउँपालिकामा पुरानो सोच परिवर्तन गरेर दक्ष प्राविधिहरुको परामर्शमा हावा पानी सुहाउदो कृषि पेशा सञ्चालन गर्नुपर्छ । ठाउँ अनुसार फलफुल खेती लगाउने व्यवस्था गर्नुपर्छ । बर्षौदेखि लगाउदै आएको खेतवारीमा नयाँ प्रविधिबाट खेती गर्ने हो दोब्बर आम्दानी गर्न सकिन्छ । सुनापति गाउँपालिका–३ हिलेदेवीको माथिल्लो भाग स्वाँरा, डोक्मा लगायतको क्षेत्रलाई गाउँपालिकाले लिजमा लिएर स्थानीयलाई सेयर दिने व्यवस्था सहित व्यवसायीक रुपमा स्याउ खेती गर्नुपर्छ । जसबाट स्थानीयको आम्दानीमा बृद्धि हुनुको साथै पर्यटक भित्र्याउ समेत सहज हुन्छ ।सुनापति गाउँपालिका–४ बेथानको माथिल्लो क्षेत्रमा जुनार सुन्तलाको राम्रो सम्भावना छ । अब सधै मकै र गहुँ खती भन्दा पनि कुन खेती गर्दा बढी आम्दानी हुन्छ ? त्यतातिर ध्यान दिनुपर्छ । सुनापति गाउँपालिका–२ दिमिपोखरीमा पनि जुनार सुन्तला, कागती लगायतका फलफुल खेतीको राम्रो सम्भावना छ भने गाउँपालिको वडा नम्बर १ गुन्सीमा बाख्रा पालन गर्नको लागि राम्रो सम्भावना रहेको छ । सुनापति गाउँपालिका–५ खनियापानीको रुपाकोटमा फलफुल खेतीको राम्रो सम्भावना रहेको छ । गाउँपालिका वडा नम्बर ४ बेथानको डहुवेसीको फाँटलाई लिजमा लिएर व्यवसायीक रुपमा तरकारी खेती सञ्चालन गर्नुपर्छ । त्यहाँबाट उत्पादन हुने तरकारी रामेछाप जिल्लामा मात्र नभई राजधानी काठमाडौंसम्म पनि सहज रुपमा पुर्याउन सकिन्छ ।

हरेक वडामा नमूना बस्ती
गाउँपालिकाभित्र विकास भएको बस्ती एकीकृत छैनन् । परम्परागत रुपमा निर्माण भएको वस्ती छरिएर निर्माण हुँदा सहज रुपमा सेवा सुविधा पुग्न सकेको छैन् । अहिले भुकम्पपछिको पुननिर्माणको काम धमाधम भइरहेको छ । गाउँपालिकाले अनिवार्य रुपमा नीति निर्माण गरेर नै एकीकृत वस्तीको विकास गर्ने काममा ध्यान दिनुपर्छ । जसको कारण स्वास्थ्य शिक्षा, खानेपानी, सडक, विद्युत लगायतका अत्यावश्यक सेवा सुविधा पुर्याउन सकिन्छ । यो काम पाँच वटा वडाले नै तत्काल योजना बनाएर काम अगाडि बढाउनु पर्छ । पर्ख र हेर भन्ने छुट अब जनप्रतिनिधिहरुलाई छैन् । जनताको चाहना र भावना अनुसार एकीकृत वस्तीको विकास गर्ने काममा ढिलाई गर्नु हुँदैन ।

सुनकोसी तेस्रो जलविद्युत आयोजनामा जोड
सुनापति गाउँपालिका प्राकृतिक स्रोत र साधनमा धनी छ । भएका प्राकृतिक स्रोत र साधनको पहिचान हुन नसक्दा गाउँपालिकाको विकास हुन सकेको छैन् । अब गाउँपालिकाले जडिबुटी, खनिज पदार्थ, ढुङगा खानी लगायतका उद्योग स्थापना गर्नको लागि अध्यायन अनुसन्धानको कामलाई अगाडि बढाउनु पर्छ । प्राकृतिक स्रोत र साधनको अब अधिकतम प्रयोग गर्नुपर्छ । सुनापति गाउँपालिका चौरीखोला, खानी खोला र सुनकोसी नदीले घेरिएको छ । पानीको उचित व्यवस्थापन गर्न सक्ने हो भने सुनापति गाउँपालिकाका सबै चाडै जनता धनी बन्न सक्छन् । अहिले सुनकोसी तेस्रो जलविद्युत आयोजनाको काम अगाडि बढेको छ । सुनापति गाउँपालिका–४ बेथानस्थित दोभनटारमा ड्याम थेनेर जलाशययुक्त आयोजना निर्माण गर्नको लागि सर्भे गर्ने काम भइरहेको छ । यो आयोजना निर्माण कार्यलाई अगाडि बढाउन सुनापति गाउँपालिका जनता सचेत र जागरुप हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्