रामेछापको मन्थलीमा किन पानी पर्दैन ?



२९ असार, रामेछाप ।
रामेछापको मन्थली नगरपालिका तामाकोसी नदीको किनारमा अवस्थित छ । बर्षाको कारण तामाकोसी उर्लिएको छ । तर कोसी किनारामा रहेको मन्थली बजारमा पनि गर्मीले टिक्न निकै गाह्रो छ । मन्थलीमा विगत वीस बर्षयता पर्याप्त बर्षा हुन सकेको छैन् ।
हरियाली कायम गराउनको लागि मन्थली नगरपालिका, विभिन्न सरकारी कार्यालय र संघसंस्थाहरुले बृक्षरोपण कार्यक्रमलाई तीब्रता दिएका छन् । तर सुख्खा भएको कारण बिरुवा कमै मात्र सर्ने गरेको छ । मन्थली धुलो अत्याधिक रहेको छ । मुख्य सडकहरु पनि व्यवस्थित हुन सकेका छैनन् । सडक सफा हुन सकेको छैन् । सडक पिच भएपनि सडकको दायाँवायाँ राम्रोसँग पिच नहदा धुलो उडेर धुलाम्य हुँदा मन्थलीवासी हैरान हुँदै आएका छन् ।


मन्थली नगरपालिकाका अधिकाशं क्षेत्र सुख्खा रहेको छ । सुख्खा भएकै कारण तामाकोसीबाट लिफ्टिङ मार्फत खानेपानीको व्यवस्था गरिएको छ । मन्थलीमा पर्याप्त पानी किन परेन ? भन्ने चासो र चिन्ता व्याप्त छ । वरीपरी पानी परेपनि मन्थली बजार क्षेत्रमा निकै कम पानी पर्ने गरेको छ । पानी नपर्दा हरियाली कायम हुन नसक्नुको साथै अत्याधिक रुपमा गर्मीले मन्थलीवासीलाई सताउने गरेको छ ।
मन्थलीमा विगत वीस बर्षदेखि पर्याप्त नभएको विषयमा पत्ता लगाउने गत बर्ष नै मन्थली नगरपालिकाले पानी नपर्नुको कारण पत्ता लगाउन जनसंख्या वातावरण मन्त्रालयलाई पत्राचार गरेको छ ।

मन्थली नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम सापकोटाले मन्थलीमा पानी नपर्नुको कारणको बारेमा अध्यायन गरिदिन वातावरण मन्त्रालयलाई पत्राचार गरेपनि अध्ययन हुन नसकेको रामेछाप न्युजलाई बताए । उनले भने,‘प्राकृतिक कारण हरियाली नहुदा पनि पानी कम परेको हो कि? भन्ने विषय पत्ता लगाउन वातावरण मन्त्रालयलाई पत्राचार गरेका छौं ।’ पर्याप्त पानी नपर्दा आकाशे पानीको भरमा उत्पादन हुने कृषिजन्य उत्पादन न्युन भएको छ ।
पर्याप्त बर्षा नहुदा कृषकले लगाएको मकै बारीमै सुकेको छ भने रोपाइँ समेत हुन सकेको छैन् । तामाकोसी नदी किनाराका खेतमा पम्प मार्फत पानी तानेर रोपाइँ गरेपनि मन्थलीको अधिकाशं स्थानमा रोपाई हुन नसकेको जिल्ला कृषि विकास कार्यालय रामेछापले बताएको छ ।

जिल्ला कृषि विकास कार्यालय रामेछापका प्रमुख राजेन्द्र मल्लले पानी नपर्दा सबै भन्दा बढी कृषक मारमा परेको रामेछाप न्युजलाई बताए । उनले भने,‘असार अन्तिम भयो तर अहिलेसम्म रामेछापमा २३ प्रतिशत मात्र रोपाइँ भएको छ, पानी नपर्दा कृषक सबै भन्दा बढी मर्कामा छन ।’
उनले रामेछापको दक्षिण क्षेत्रमा कम बर्षा हुने गरेको बताए ।

रामेछापका मन्थली नगरपालिका, रामेछाप नगरपालिका, खाँडादेवी गाउँपालिका, सुनापति गाउँपालिका लगायतका क्षेत्रमा भौगोलिक कारणले गर्दा कम बर्षा हुने गरेको अनुमान गरिएको छ । वैज्ञानिक रुपमा पानी नपर्नुको कारण पुष्टि नभए पनि विज्ञहरुले भौगोलिक कारणले नै पानी कम पर्ने गरेको अनुमान गरेका छन् । यस अघि केही बर्ष अघि मात्रै जिल्ला विकास समितिले झण्डै तत्कालिन २९ वटा गाविसलाई सुख्खाग्रस्त घोषणा गरेको थियो । पानी नपर्दा मकै बाली मात्र होइन गेडागुडी लगायतका बाली समेत नहुने अवस्था रहेको छ ।
रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले विष्टृ छाँया परेको कारण मन्थली लगायतका क्षेत्रमा कम पानी पर्ने गरेको अनुमान रहेको बताए । उनले रामेछाप न्युजसँग भने,‘सिन्धली गढी आसपासमा रहेको महाभारत क्षेत्रको पहाडले छेक्दा कम पानी परेको अनुमान गरेका छौं ।’

प्रजिअ खत्रीले मुस्ताङ चीनको तिब्बत लगायको ठाउँमा पनि पानी नपनुमा भौगोलिक कारण नै मुख्य रहेको तथ्य रहेको बताए । मन्थलीमा पानी नपर्नुको कारण अध्याय गर्नको लागि जनसंख्या तथा वातावरण मन्त्रालयले भुगार्वविदहरुलाई अध्यायनको लागि पठाउने तयारी गरेको बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्