रामेछापमा विकासको नेतृत्व माओवादीले गर्छःसांसद श्रेष्ठ 



३० असार, रामेछाप ।

नेकपा माओवादी केन्द्र्रका पोलिटब्यूरो सदस्य एवं रामेछाप क्षेत्र नम्बर २ का सांसद श्यामकुमार श्रेष्ठ ‘कुशल’ले रामेछाप जिल्लाको विकास निर्माणको नेतृत्व माओवादीले गर्ने बताएका छन् ।

माओवादी शािन्त पक्रियामा आएपछि जिल्लाको विकासको लागि पार्टीले निरन्तर रुपमा भूमिका खेलेको बताउदै सांसद श्रेष्ठले आगामी दिनमा पनि जिल्लामा विकासको नेतृत्व गर्ने बताएका हुन् । जिल्लाको विकास निर्माणमा भेदभाव नगरी आफूले काम गरेको बताउदै उनले जनताको चाहना र भावना अनुसार नै विकास निर्माणको कामलाई अगाडि बढाउनु पर्ने बताए ।

सुनापति गाउँपालिकाको प्रथम गाउँ सभालाई शुक्रवार सुनापति गाउँपालिकाको केन्द्र हिलेदेवीमा सम्बोधन गर्दै सांसद श्रेष्ठले रामेछापको पश्चिम क्षेत्र जोडने सुनकोसीको खैरेनीघाटमा निर्मानाधिन पक्की पुल समयमा नै निर्माण गर्न भूमिका खेल्ने बताए । उनले भने,‘खैरेनीघाटमा पक्की पुल समयमा नै निर्माण नहुदा जनताले दुःख पाएका छन, यही बर्षभित्र पुल सञ्चालनमा ल्याउने गरी काम गर्न भूमिका खेल्छौ ।’

माओवादीले गरेको आन्दोलनकै परिणाम आज सिंहदरवारको अधिकार गाउँगाउँ ल्याउन सफल भएको बताउदै सांसद श्रेष्ठले जनताको दैनिक समस्या समाधान गर्दै दिगो भौतिक पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताए । स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि गाउँलाई विकास र समृद्ध बनाउन जनप्रतिनिधिहरु जिम्मेवार बन्नु पर्छ, सांसद श्रेष्ठले भने ।

फरक प्रसंगमा उनले मधेसको समस्या समाधान गर्नको लागि प्रमुख प्रतिपक्ष दल एमाले जिम्मेवार हुनुपर्ने बताए । ‘मधेसको मुद्दालाई ठिक ढंगले सम्बोधन गर्नुपर्छ, प्रतिपक्ष दलले समस्या बल्झाउने होइन, समाधान गर्न जिम्मेवार बन्ने बेला  आएको छ’, उनले भने ।  सांसद श्रेष्ठले जारी समस्या समाधान गर्नको लागि सबै राजनीतिक दलहरु जिम्मेवार बन्नु पर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्