रामेछापमा भिषण बाढीले बगाउँदा २ को मृत्यु ३ वेपत्ता, ९ घाइते



निरज सापकोटा
१ साउन, रामेछाप ।
रामेछाप जिल्लाको उत्तर पूर्वी खिम्तीमा गए राती भएको भिषण वर्षा पछिको बाढीका कारण साविक खिम्ती गाविस र र फर्पु गाविसको सीमाना भएर बहने छतिवने खोलामाथिको मोटरेवल पुल बगाउँदा दुई जनाको मृत्यु हुनुका साथै ७ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भिर रहेको छ भने ३ जनाको अवस्था अझै अज्ञात रहेको छ । मृत्यु हुने मध्ये लिखु ६ की लाल कुमारी खत्रीको शव घरमै र वासु भनिने जय प्रकाश कार्कीको शव खिम्ती भन्दा ७ किलोमिटर दक्षिण तामाकोसीको किनारमा मृत अवस्थामा फेला परेको थियो । वेपत्ता हुनेहरुमा अशोक तामाङ, उनकी छोरी मनिता तामाङ र घर सहित खिम्ती खोलाले बगाएको सुमन कुमारी खत्री रहेका छन् । घाइते हुनेहरुमा लक्ष्मी खत्री, कुमार खत्री, भगवती खत्री, सुन्तली खत्री, राधा खत्री, प्रमिशा खत्री, रुद्र गुरुङ्ग र विशाल बुढा रहेका छन् । गुरुङ र बुढा फर्पु–खिम्ती सडकमा काम गर्ने मजदुरहरु हुन ।


छतिवने खोलामा आएको बाढीले खोलामाथिको मोटरेवल पुल तथा पुल नजिकै रहेको २ वटा घर समेत बगाएको छ । छतिवने खोलामा आएको बाढीले खिम्ती खोलालाई थुनेपछि जम्मा भएको पानीको बहाव एक्कासी खुल्दा सो घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले रामेछाप न्युजलाई बताए ।


खिम्ती खोला र छतिवने खोला किनारमा रहेको सयौं रोपनी खेत समेत खोलाले बगाएको छ । यता खिम्तीकै खानी खोलामा आएको बाढीले खानीखोलामा रहेको मोटर तर्ने पक्की डाइभर्सन बगाउँदा पुष्पलाल मार्गको सम्पूर्ण यातायात सेवा अवरुद्ध भएको छ


घटना लगत्तै रामेछाप प्रहरी प्रम्ुख डिएसपि कुमोध ढुंगेलको टोली, मिन बहादुर थापाको नेतृत्वमा नेपाली सेनाको टोली, रेडक्रसको टोली, स्थानीय वासिन्दाका साथै स्वास्थ्य कर्मी सहितको टोलीले उद्धार घाइतेहरुको उद्दार गरेको थियो । गम्भीर घाइतेहरुलाई हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं पाठाइएको रामेछापका डिएसपी कुमोध ढुङगेलले बताए ।

 

प्रतिक्रिया दिनुहोस्