रामेछापका बाढी पीडितलाई राहत वितरण, मृतकका परिवारले १ लाख ५५ हजार पाउने



२ साउन, रामेछाप ।
रामेछापको लिखु गाउँपालिकास्थित खिम्ती खोलमा आएको पहिरो र बाढीको कारण मृत्यु वेपत्ता र विस्थापित भएका नौ घरपरिवारलाई सरकारले राहत वितरण गरेको छ । जिल्लाको उत्तर पूर्वी खिम्ती खोलामा आएको बाढीको कारण साबि खिम्ती र फर्पु गाविसको सीमाना भएर बहस छतिवने खोलामाथिको पक्की पुल बगाउदा २ जनाको मृत्यु भएको थियो । बाढीमा परी ३ जना वेपत्ता भएका छन भने घाइते ९ जनाको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

बाढीबाट विस्तापित भएका नौ परिवारको लागि जिल्ला प्रशासन कार्यालय रामेछाप अन्तर्गत रहको दैविक प्रकोप उद्दार समितिले संघ संस्थाको समन्वयमा राहत वितरण गरेको छ । बाढीबाट विस्थापित प्रति परिवारलाई एक÷एक वटा त्रिपाल, तीन÷तीन वटा ब्लाङकेट,पचास केजी चामल, दस केजी दाल, भाडाकुडा, खानेपानी तरकारी लगायतका सामाग्री वितरण गरेको छ ।
रामेछाप क्षेत्र नम्बर १ का सांसद आङटावा शेर्पा र रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी सिताराम थापाले संयुक्त रुपमा बाढी पीडितलाई सोमवार राहत वितरण गरका हुन् । राहतसँगै सांसद शेर्पाले व्यक्तिगत रुपमा सात÷सात हजार नगद पनि वितरण गरेका छन् ।

पीडितहरुको उचित व्यवस्थापन गर्न विषयमा सम्बन्धित गाउँपालिकाको अध्यक्ष र वडा अध्यक्षलाई आग्रह गरेको बताउदै रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले रामेछाप न्युजसँग भने,‘बाढी पीडितलाई राहतको अभाव छैन, हामीले आवश्यक राहत पुर्याइसकेका छौ, अब सुरक्षित स्थानमा बसोबास गर्नतिर सोचिरहेका छौं ।’ जिल्ला प्रशासन कार्यालय रामेछापले दैविक प्रकोप उद्दार समितिको अनुमति लिएर मात्र राहत वितरण गर्न संघ संस्था र व्यक्तिहरुलाई आग्रह गरेका छ ।
मृतकको परिवारलाई १ लाख ५५ हजार
बाढीमा परी ज्यान गुमाउने २ जनाको परिवारलाई १ लाख ५५ हजार राहत प्रदान गर्ने जिल्ला प्रशासन कार्यालय रामेछापले तयारी गरेको छ । गाउँपालिका र प्रहरीको रिपोर्ट प्राप्त भएलगत्तै १ लाख रुपैयाँ राहत, ४० हजार किरिया खर्च र बसोबासको लागि १५ हजार रुपैयाँ प्रदान गर्ने प्रजिअ खत्रीले बताए । दुई दिन वितिसक्दा समेत गाउँपालिका र प्रहरीले विवरण बुझाउन सकेको छैन् । वेपत्ताहरुको पत्ता नलागेको अवस्थामा मृतक सरह नै राहत प्रदान गरिने भएको छ ।
९ जना घाइतेको ट्रमा सेन्टरमा उपचार हुदै
खिम्तीको बाढीमा परी घाइते भएका नौ जनाको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ५० वर्षीय कुमार खत्री, ४५ वर्षकी राधा खत्री, ४० वर्षीया सुन्तली खत्री, १९ वर्षीया भगवती खत्री, १४ वर्षीया लक्ष्मी खत्री, २ वर्षीय पुनिस खत्री, २९ वर्षीय झकबहादुर घर्ती, १९ वर्षका रुद्र गुरुङ र १७ वर्षीय विशाल थापा रहेका छन् ।


घाइतेहरुको अवस्था क्रमश सुधार हुँदै गएको ट्रमा सेन्टरका डाइरेक्टर डा. प्रमोद उपाध्यायले रामेछाप न्युजलाई जानकारी दिए । घाइतेहरुको उपचारमा कुनै पनि कमी हुन नदिन रामेछाप क्षेत्र नम्बर २ का सांसद श्यामुकमार श्रेष्ठले सरकारसँग माग गरेका छन् । सांसद श्रेष्ठले आइतवार नै घाइतेहरुलाई भेट गरी उपचारमा कुनै पनि कमी हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

बाढीको बारेमा प्रधानमन्त्रीलाई बिफ्रिङ गर्छुः सांसद शेर्पा
खिम्ती खोलीका बाढीमा परी मृत्यु भएका वेपत्ता भएका र घाइते भएकाहरुको बारेमा प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराउने सांसद आङटावा शेर्पाले बताए । सरकारले समयमा नै हेलिकप्टर पठाएकै कारण घाइतेहरुलाई समयमा नै अस्पताल ल्याउन सकिएको उनले बताए । आगामी पाँच गते बस्ने संसदको बैठकमा आफूले विशेष समय लिएर बाढी पहिरोको बारेमा बोल्ने बताउदै शेर्पाले रामेछाप न्युजसँग भने,‘मैले व्यक्तिगत रुपमा पाँच जनाको परिवारलाई सात सात हजार पीडित परिवारलाई दिएको छु । उनले बाढी पहिरोको कारण खानीखोलामा पुल नहुँदा समस्या भएको बताउदै स्काइभेटर लगाएर खोल्ने प्रयास भइरहेको बताए । केही दिनमा नै यातायात सहज रुपमा सञ्चालन गर्ने गरी काम अगाडि बढछ, उनले भने ।

प्रतिक्रिया दिनुहोस्