खिम्तीका बाढी पीडितलाई साढे ११ लाख दिने लिखु गाउँपालिकाको निर्णय



३ साउन, रामेछाप ।
खिम्ती खोलामा आएको बाढीबाट पीडित भएका नौ घरपरिवारलाई लिखु गाउँपालिकाले साढे ११ लाख रुपैयाँ दिने निर्णय गरेको छ । बाढीबाट दुई जनाको मृत्यु भएको थियो भने तीन जना वेपत्ता हुनुको साथै नौ जना घाइते भएका थिए ।

तस्बीरः निरज सापकोटा

लिखु गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काले बाढी पीडितलाइ गाउँपालिकाले साढे ११ लाख रुपैयाँ दिने निर्णय गरेको रामेछाप न्युजलाई बताए । ‘आपत विपतमा सहयोग गर्नु गाउँपालिकाको पहिलो दायित्व हो’, अध्यक्ष खड्काले भने,‘बाढी पीडितहरुको व्यवस्थापनमा कुनै पनि कमी हुन दिदैनौ, रातदिन नभनी पीडितहरुको सहयोगमा जुटेका छौं ।’
बाढी पीडितहरुको लागि जिल्ला प्रशासन कार्यालय रामेछापले सोमवार राहत वितरण गरेको थियो । रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले गाउँपालिकाले मृतक र बाढी प्रभावितहरु नामावली सहितको मुजुल्का आउना साथ मृतकका परिवारलाई १ लाख ५५ हजार रुपैयाँ र बाढी प्रभावितहरुलाई बसोबासको लागि १५ हजार रुपैयाँ उपलब्ध गराउने रामेछाप न्युजलाई बताए ।

लिखु गाउँपालिका अध्यक्ष खड्काले मृतृक, वेपत्ता र बाढीबाट प्रभावितहरुको नामावली जिल्ला प्रशासन कार्यालयमा बुझाउनको लागि सबै काम सम्पन्न भएको र बुझाउन मात्र बाँकी रहेको बताए । उनले वेपत्ता भएका तीन जनाको अहिले पनि खोजी कार्य जारी रहेको बताउदै आगामी दिनमा सुरक्षित बस्ती विकास गर्न पनि गाउँपालिकाले गृहकार्य सुरु गरेको बताए ।
खिम्तीमा आएको बाढी पहिरोको कारण नौ घरपरिवार विस्थापित भएका छन् । बाढी पहिरोमा घाइते भएका नौ जनाको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । चार जनाको अवस्था सामान्य रहेको र बाँकी पाँच जनाको पनि स्वास्थ्यमा क्रमश सुधार हुँदै गएको ट्रमा सेन्टरले बताएको छ । खिम्तीमा गएको बाढी पहिरो पीडितहरुको लागि विभिन्न संघ संस्था राहत प्रदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्