खिम्ती खोलाको बाढीबाट घाइते भएकाहरुको स्वास्थ्यमा सुधार हुँदै



४ साउन, काठमाडौं ।
रामेछापको लिखु गाउँपालिकाको खिम्ती खोलामा आएको बाढीको कारण घाइते भएकाहरुको स्वास्थ्यमा सुधार हुदै गएको छ । बाढीमा परी घाइते भएका नौ जनालाई हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको थियो । राजधानीको ट्रमा सेन्टरमा उपचार गरेर तीन जना डिस्चार्ज भएका छन् भने बाँकी छ जनाको उपचार भइरहेको छ ।

छ जना मध्ये दुई जना १४ बर्षिय लक्ष्मी खत्री र ४५ बर्षिय सुन्लती खत्रीको अवस्था गम्भीर रहेको छ । तर उपचारमा संलग्न डाक्टहरुले पनि स्वास्थ्यमा क्रमश सुधार हुँदै गएको बताएका छन् । बाढीबाट घाइते भएका ५० बर्षिय कुमार खत्री, ४५ बर्षिय राधा खत्री, १९ बर्षिय भगवती खत्री र २ बर्षिय प्रनिसा खत्रीको को अवस्था भने सामान्य रहेको ट्रमा सेन्टरले बताएको छ । घाइते मध्ये तीन जना विशाल थापा, झकुबहादुर घर्ती र रुद्र गुरुङ भने डिस्चार्ज भएका छन् ।

 

ट्रमा सेन्टरमा उपचारत घाइतेहरुको बारेमा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् । बुधवार ट्रमा सेन्टरमा पुगेर वरिष्ठ नेता खनालले उपचारमा कुनै कमजोरी हुन नदिने सरकारसँग माग गर्ने घाइतेहरुसँग प्रतिबद्धता जनाएका छन् । उनले घाइतेहरुको अवस्थाको बारेमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउने बताए ।


त्यसैगरी नेपाली कांग्रेसबाट रामेछाप क्षेत्र नम्बर १ बा निर्वाचित सांसद आङटावा शेर्पाले पनि घाइतेहरुलाई भेटेर उपचारमा कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । सांसद शेर्पाले बाढीबाट प्रभावित परिवारलाई राहत र पुनस्थापना गर्नै कार्यमा आफू लागि परेको बताउदै घाइतेहरुको उपचारमा कुनै अभाव हुन नदिन प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराइएको बताए ।

घाइतेहरुको स्वास्थ्य अवस्थाको बारेमा रामेछाप–पत्रकार समाजले पनि जानकारी दिएको छ । खिम्तीमा आएको बाढीको कारण २ जनाले ज्यान गुमाएका थिए भने तीन जना अझै वेपत्ता छन् । बाढीमा परी नौ जना घाइते भएका थिए । बाढीपीडितहरुको लागि लिखु गाउँपालिकाले साढे ११ लाख रुपैयाँ वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालय पनि बाढीबाट पीडित भएकाहरुलाई राहत वितरण गर्ने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्