श्यामकुमार श्रेष्ठलाई गृह राज्यमन्त्रीको प्रस्ताव, मन्त्री नबनाएको भन्दै माओवादीमा असन्तुष्टि



११ साउन, काठमाडौं ।
नेकपा माओवादी केन्द्रले रामेछाप क्षेत्र नम्बर २ का सांसद श्यामकुमार श्रेष्ठलाई सामान्य प्रशासन मन्त्री बनाउने तयारी गरेपनि अन्तिम समयमा आएर मन्त्री बन्ने सूचिबाट हटाएर गृह राज्य मन्त्री बन्न प्रस्ताव गरेको छ । माओवादीले सुरुबाट नै श्रेष्ठलाई मन्त्री बनाउने सूचिमा राखेको थियो ।

रामेछाप क्षेत्र नम्बर २ बाट प्रत्यक्ष रुपमा निर्वाचित श्रेष्ठ यस पटक प्रदेश नम्बर ३ बाट मन्त्री बन्नेमा आशावादी पनि थिए । तर अन्तिम अवस्थामा आएर प्रदेश नम्बर ६ बाट तीन जना सहभागी गराएर प्रदेश नम्बर ३ बाट भने एक जना पनि मन्त्री नबढाउने निर्णय माओवादीले लिएको छ । आज बसेको माओवादीको बैठकले सरकारमा सहभागी हुने ६ जना मन्त्रीको नाम टुंगो लगाएर प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसद श्रेष्ठलाई गृह राज्य मन्त्री बन्न आग्रह गरेको बताइएको छ । सुरुबाट नै सामान्य प्रशासन मन्त्रीको बन्ने चर्चामा रहेपनि अन्तिम समयमा आएर पार्टीले राज्य मन्त्री बन्न प्रस्ताव गरेपछि यस विषयमा धारणा बनाउने माओवादी केन्द्र रामेछापको जिल्ला कार्यालयको बैठक राजधानीको एक घरमा जारी छ । बैठकमा सहभागी एक नेताले रामेछाप न्युजसँग भने,‘पार्टीले गृह राज्यमन्त्री बन्न प्रस्ताव गरेको छ, गृह राज्य मन्त्रीमा जाने कि नजाने भन्ने विषयमा छलफल जारी छ ।’

रामेछापले मन्त्री नपाएको भन्दै रामेछापका नेताहरु पार्टी नेतृत्वको विरुद्ध खनिएका छन् । श्रेष्ठलाई गृह राज्यमा पठाउने कि नपठाउने भन्ने विषयमा जिल्ला कार्यालय रामेछापका नेताहरुबीच छलफल भइरहेको छ । छलफलमा नेताहरु गृह राज्य मन्त्री भएपनि सहभागी हुनुपर्ने दबाब दिएका छन् भने एकाथरीले पार्टीले रामेछाप जिल्लालाई हेपेको भन्दै सरकारमा सहभागी नहुन दबाब दिइरहेको, एक नेताले रामेछाप न्युजसँग भने ।

प्रतिक्रिया दिनुहोस्