भरतपुर महानगरपालिकामा पुनः मतदान गर्न सर्वोच्च अदालतको निर्णय



१५ साउन, काठमाडौं ।
सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतपत्र च्यातिए पछिको विवादको टुंगो लगाएको छ । लामो समयदेखि पुनः मतदान कि मतगणना भन्ने विवादले
करिब दुई महिना लामो सुनुवाईपछि आइतबार न्यायाधीशद्धय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले पुनः मतदान गर्न आदेश दिएको हो ।
सर्वोच्च अदालतले यसअघि निर्वाचन आयोगले गरेको पुनःमतदानकै निर्णयलाई सदर गर्ने फैसला सुनाएको हो। भरतपुर महानगर वडा नम्बर १९ का सम्पूर्ण मतपत्र अवैध घोषित गर्दै निर्वाचन आयोगले पुनः मतदान गर्ने विषयमा गरेको निर्णयलाई सदर गरेको छ ।


स्थानीय तह निर्वाचन ऐन, २०७३ ले मतपत्र च्यातिएको अवस्थामा पुनः मतदान गर्नुपर्ने कानुनी व्यवस्था अनुसार सर्वोच्चले फैसला गरेको हो । ऐनको दफा ४९ मा उक्त व्यवस्था समेटिएको छ। निर्वाचन ऐन दफा ४९ को (१) मा भनिएको छ, ‘मतगणना पूरा हुनुभन्दा पहिले कुनै मतदान केन्द्रमा प्रयोग गरिएको मतपत्र, मतपत्र रहेको मतपेटिका निर्वाचन अधिकृतको यिन्त्रणबाट गैरकानुनी तवरले अन्यत्र लगिएमा वा खोलिएमा वा नोक्सान गरिएमा वा तोडफोड गरिएमा वा हराएमा वा दुर्घटनावश नोक्सान भएमा निर्वाचन अधिकृतले मतगणनाको काम स्थगित गरी त्यसको प्रतिवेदन आयोगलाई तुरुन्त दिनु पर्नेछ।’

४९ कै उपदफमा भनिएको छ, ‘उपदफा ९१० बमोजिम मतगणनाको काम स्थगित गरिएपछि आयोगले त्यस्तो मतदान केन्द्रको सम्पूर्ण मतदान अवैध भएको घोषणा गर्नेछ र आयोगको निर्देशनमा निर्वाचन अधिकृतले त्यस्तो मतदान केन्द्रमा पुनः मतदान गर्ने स्थान, मिति र समय यथाशिघ्र तोकी सूचना प्रकाशन गर्ने छ।’
भरतपुर महानगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रकी नगर प्रमुखको उम्मेदवार रेणु दाहाल र एमालेकाका तर्फबाट नगर प्रमुका देवी ज्ञवालीबीच चर्को प्रतिस्पर्धा हुँदै गर्दा मतगणना स्थगित भएको थियो।

निर्वाचन आयोगले पुनः मतदान गर्न दिएको आदेश विरुद्ध भरतपुर– ९ मा एमालेका वडा सदस्यका उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुलसी पाण्डेले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेपछि मुद्दामा अदालतले हाललाई जे जस्तो अवस्थामा छ सो अवस्थाबाट अगाडि नबढाउनू भनी आदेश दिएपछि प्रक्रिया रोकिएको थियो। त्यसपछि पटक पटक पेशी तोक्दै आएको अदालतले आइतबार मात्र फैसला गरेको हो।

जेठ १४ को मध्यरात पौने १२ बजे भरतपुर–१९ को मतगणना हुँदै थियो। दुई हजार ८९७ मत खसेको मध्ये एक हजार ८०९ मत गनेर सकिएको थियो। यसमा ज्ञवालीले ४१ हजार ६४१ तथा दाहालले ४० हजार ९०८ मत ल्याएका थिए। उनीहरुको मतान्तर ७३३ थियो। उक्त वडामा एक हजार ८०९ मत गन्दा दाहालले ५१ मत बढी ल्याएकी थिइन्। करिब एक हजार र केही मत गन्न बाँकी थियो। अनि भरतपुर २० को तीन हजार ३०२ मत गन्न बाँकी नै थियो।
रातभर गनेर भोलिपल्ट बिहान गणतन्त्र दिवसमा घोषणा गरिने तयारी थियो। एकाएक राति पौने १२ बजे मतपत्र च्यातिएपछि मतगणना रोकियो जसमा ९० मत च्यातिएको पाइएको थियो।
यसैबीच प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सर्वोच्च अदालतको निर्णयको सम्मान गर्दै भतरपुर–१९ वडामा पुनः हुने मतदान प्रक्रियामा भाग लिने बताएको छ । नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले रामेछाप न्युजसँग भने,‘सर्वोच्च अदालतको निर्णय दुर्भाग्यपूर्ण छ । तर, नागरिक सर्वोच्चता स्थापित गर्नको लागि पुनः हुने निर्वाचनमा भाग लिन्छौ ।’

प्रतिक्रिया दिनुहोस्