रामेछाप कांग्रेसभित्र भाडभैलो,सभापतिले एकलौटी निर्णय गरेपछि बबाल



१७ साउन, रामेछाप ।
नेपाली कांग्रेस रामेछापको जिल्ला कार्यसमितिको पदाधिकारी मनोनयको विषयलाई लिएर विवाद पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । पार्टी सभापति लवश्री न्यौपानेले एकलौटी रुपमा पदाधिकारीमा नियुक्त गरेको भन्दै विवाद उत्कर्षमा पुगेको हो । उनले उपसभापति, सचिव र सहसचिमा मनोनयन गरेपछि विवाद सुरु भएको छ ।
विधान अनुसार मनोनित तीन पदाधिकारी र आठ जना कार्यसमिति सदस्य मनोनित गर्दा जिल्ला कार्यसमितिको पूर्ण बैठकले अनुमोदन गर्नुपर्छ । तर झण्डै एक बर्षपछि आएर सभापति न्यौपानेले जिल्ला समन्वय समितिको निर्वाचनमा उम्मेदवार छनोट भन्दै आफू निकटका केही सदस्यहरुलाई मात्र बोलाएर पदाधिकारीहरुको मनोनय गरेको भन्दै पार्टीभित्र नै असन्तुष्टि चुलिएको छ ।

सभापति न्यौपानले उपसभापतिमा सुनापति गाउँपालिकाको अध्यक्षमा पराजित भएका जितेन्द्र मोक्तानलाई मनोनयन गरेका छन् । त्यसैगरी उनले सचिवमा विष्णु वस्नेत र सह–सचिवमा सुभास घिसिङलाई मनोनित गरेपछि पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । सभापति न्यौपानेले जिल्लामै रहेका पदाधिकारी र निर्वाचित जिल्ला कार्यसमितिका सदस्यहरुलाई समेत झुक्याएर बैठक बोलाएर आर्थिक प्रलोभनमा परेर मनोनित गरेको आरोप पार्टीभित्रबाटै लागेको छ ।

पार्टीलाई योगदान गर्ने र सक्रिय कार्यकर्ताहरुलाई भन्दा पनि १३ औ जिल्ला अधिवेशनमा कांग्रेसका क्रियाशिल सदस्य लिएका व्यक्तिहरुलाई पदाधिकारी बनाएको भन्दै सभापति न्यौपानको चर्को आलोचना सुरु भएको छ ।
जिल्ला कार्यसमितका निर्वाचित सचिव लेखबहादुर कार्कीले विधान अुनसार जिल्ला कार्यसमितिका निर्वाचित कार्यसमितिले मनोनित पदाधिकारी र सदस्यहरुको टुंगो लगाउनु पर्ने भएपनि पार्टी सभापतिले मनोमानी रुपमा पदाधिकारी मनोनित गरेको बताए । उनले रामेछाप न्यजसँग भने,‘पार्टी विधि र संस्थागत रुपमा चल्नु पर्छ, जिल्ला कार्यसमितिको पूर्ण बैठकको बहुमत सदस्यले गर्नुपर्ने निर्णय सभापतिले सीमित व्यक्तिहरुको बैठक राखेर गर्नु गलत हो ।’

जिल्ला कार्यासतिको बैठक विधान अनुसार सचिवले बोलाउनु पर्ने भएपनि सभापति न्यौपानलेले जिल्ला समन्वय समितिको उम्मेदवार छनोट गर्ने भन्दै जिल्ला कार्यसमितिका सदस्यहरुलाई आफैले फोन गरेका थिए । सभापतिले पार्टीमा लामो समयदेखि सक्रिय र इमान्दार कार्यकर्ता छोडेर मनोमानी रुपमा पदाधिकारी मनोनय गरेको भन्दै नेताहरुले असन्ुतष्टि जनाएका छन् । ‘विधानलाई लत्याउदै, विधि र प्रक्रियालाई पाखा लगाउने काम सभापतिले गर्नुभएको छ’, सचिव कार्कीले थपे,‘पार्टी संस्थागत निर्णयबाट चल्नु पर्छ, व्यक्तिगत स्वार्थले होइन ।’
स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि रामेछापमा कांग्रेस तेस्रो स्थानमा रहेको छ । कांग्रेसले जिल्लाको रामेछाप नगरपालिकामा प्रमुख, उपप्रमुख, र उमाकुण्ड गाउँपालिकामा उपाध्यक्ष सहित १३ वटा मात्र वडामा जित हासिल गरेको थियो । स्थानीय तहपछि बसको जिल्ला कार्यसमितिको समिक्षा बैठकले निर्वाचनमा सहयोग गर्ने र असहयोग गर्नेको सूची तयार गर्न सचिव लेखबहादुर कार्कीको संयोजकत्वमा छानबिन समिति नै गठन गरेको थियो । छानबिन समितिको प्रतिवेदन नआउदै सभापति न्यौपानेले पदाधिकारीमा तीन जनालाई मनोनित गरेपछि पार्टीभित्र विवाद छताछुल्ल भएको हो । जिल्ला कार्यसमितिका एक सदस्यले भने,‘पार्टी बनाउन लाग्नु पर्ने सभापति नै पार्टी भत्काउन लागेपछि अब कसरी बन्छ पार्टी ?’
पार्टी सभापति लवश्री न्यौपानेले आफूले पार्टीको विधान अनुसार नै तीन जना पदाधिकारीको मनोनयन गरेको बताए । उनले रामेछाप न्युजसँग भने,‘बहुमत विना त म निर्णय नै गर्न सक्दिैन, जिल्ला समन्वय समितिको बैठक भएर बसेको जिल्ला कार्यसमितिको बैठकले नै मनोनय गर्नुपर्छ भनेपछि म बाँध्य भए ।’ पार्टीको बैठक त सचिवले बोलाउनु होइन र भन्ने जिज्ञासामा सभापति न्यौपानेले थपे,‘मैले पटक–पटक बैठक बोलाउन भने तर नबोलाएपछि म आफैले बोलाएको हुँ ।’ तर सचिव लेखबहादुर कार्कीले भने पार्टी सभापतिले आफूलाइृ बैठक बोलाउन कुनै आग्रह नगरेको दावी गरे ।

बिपी स्मृति भवन निर्माणमा हिसाबकिताब गोलमाल
रामेछापमा निर्माण हुन लागेको बिपी स्मृति भवन निर्माण समितिको संयोजक पनि सभापति न्यौपाने नै छन् । भवन निर्माणमा देश विदेशबाट चन्दा संकलन पनि गरिएको छ । तर अहिलेसम्म कति आर्थिक संकलन भयो भनेर सभापति न्यौपानले सार्वजनिक गरेका छैनन् ।

अहिलेसम्म कति खर्च भयो ? कति संकलन भयो ? कति बाँकी छ भनेर हिसाबकिताब पारदर्शी नभएको भन्दै पार्टीभित्र नै प्रश्न उठेको छ । एक नेताका अनुसार सभापति न्यौपानेले नै अमेरिकामा नै पुगेर आर्थिक संकलन गरेका थिए तर हिसाब किताब सार्वजनिक गरेका छैनन् ।
तर त्यसको हिसाबकिताब अहिलेसम्म सार्वजनिक गरेका छैनन् । भवन निर्माणमा संकलन भएको आर्थिक सहयोग समेत न्यौपानले व्यक्तिगत रुपमा खर्च गरेको आरोप पार्टीभित्रैबाट लाग्दै आएको छ ।

‘भवन निर्माण गर्नको लागि सहयोग जुटेको छ तर सभापतिले खल्तीमै राखेका छन कि खर्च गरेर भ्याइसके, एक नेताले भने,‘सभापति भएपनि पार्टीभित्रको हिसाबकिताब पारदर्शी गर्नुपर्ने हो, तर सभापति बैठकमा कोरम नपुगेपछि खेतमा भएका सदस्यलाई समेत हस्ताक्षर गराउने खेलमा लागेका छन् ।’
तर पार्टी सभपाति न्यौपानेले भने भवन निर्माणमा संकलन भएको रकम हिनामिना नभएको दावी गरे । उनले रामेछाप न्युजसँग भने,‘चन्दा उठाएको छैन, अमेरिकामा उठेको २ लाख ७४ हजार हिसाब राखिएको छ, पहिलाकै खातालाई निरन्तता दिएका छौं ।’ भवन निर्माणमा आर्थिक पादरर्शीता नभएको भन्ने आरोप लागेको छ नि भन्ने रामेछाप न्युजसको ज्ञिजासामा उनले थपे,‘यो आरोप हो, यसमा सत्यता छैन, मिथ्या हो ।’
निर्वाचनमा आएको ४ लाख अपहरणको नाटक गरेको आरोप
स्थानीय तहको निर्वाचनमा कांग्रेस केन्द्रीय कार्यालयले निर्वाचनको खर्चको लागि ४ लाख रुपैयाँ पठाएको थियो । केन्द्रबाट पैसा जिल्ला लिएर जाने जिम्मा लिएका सभापति न्यौपानका छोरा अपहणमा परेको भन्दै हल्ला गरेर चार लाख रुपैयाँ घोटला गरेको आरोप मात्र न्यौपानेमाथि लागेको छ । निर्वाचनको बेलामा अपहरणको परेको खबर पाएपछि प्रहरीले सर्वत्र खोजी गर्दा पनि पत्ता लगाउन सकेन । तर केही दिनमा पैसा अपहरण भएको भन्दै छोरा शकुसल सम्पर्कमा आएका थिए ।

जिल्ला कार्यसमिति मनोनित हुन सकेनन
जिल्ला अधिवेशन भएको लामो समय वितिसक्दा समेत सभापति न्यौपानले जिल्ला कार्यसमितिमा मनोनयन गर्नुपर्ने ६ जनाको मनोनित गर्न सकेका छैनन् । जिल्ला अधिवेशन लगत्तै सभापतिका प्रत्यासित अर्जुन केसी र झपडराज भण्डारीलाई मनोनय गरेपनि बाँकी ६ जना सदस्य मनोनित गर्न सकेका छैनन् । २५ सदस्य जिल्ला कार्यसमितिमा निर्वाचनमा टिकट नपाएको भन्दै निर्वाचित जिल्ला कार्यसमितिका सदस्य रमा दाहालले राजिनामा दिएपछि हाल २४ सदस्य रहेका छ । सभापति न्यौपानले ६ जनाको मनोनित गर्न भने केही समय लाग्ने बताए ।
पदाधिकारीमा पुरुषवाद, महिला शुन्य
विधान अनुसार नै पदाधिकारीमा मनोनित गर्दा महिलालाई अनिवार्य रुपमा सहभागी गराउनु पर्ने प्रावधान छ । तर सभापति न्यौपानेले मनोनित गरेका तीन जना पदाधिकारीमा नै पुरुषलाई मनोनय गरेका छन् । पार्टीको पदाधिकारीमा महिला शुन्य बनाएर पार्टी नै सिध्याउने षडयन्त्रमा सभापति लागेको भन्दै एक महिला सदस्यले रामेछाप न्युजसँग भनिन,‘सभापतिमा पुरुषवादी सोच र सङकिर्णता देखियो, पार्टीमा योगदान गर्ने महिलाहरुलाई अपमान गर्ने काम भयो, यो निर्णयको विरुद्धमा डटेर सामाना गरिन्छ ।’ उनले पार्टीभित्र सिनियरलाई भन्दा पनि सभापतिले आर्थिक प्रलोभनमा परेर जुनियरलाई मनोनित गर्ने परम्पार बसाल्न खोल्नुभएको छ, यो उहालाई निकै महंगो साबित हुनेछ, उनले भनिन । पार्टीमा संस्थागत भन्दा पनि गुटगत रुपमा सभापति अगाडि बढन खोलेको आरोप उनले लगाइन ।
सभापति न्यौपाने कुन गुटमा ?
१३ जिल्ला अधिवेशनमा न्यौपानेले पार्टी सभपाति शेरबहादुर देउवा पक्षबाट उम्मेदवारी दिएर विजयी हुन सफल भएका थिए । जिल्लाको निर्वाचनमा देउवा निकट भएर विजयी भएपनि पार्टीको महाधिवेशनमा भने उनले सभापति देउवालाई भोट नहालेको एक नेताको दावी छ । ती नेताले भने,‘सिटौला पक्षमा खुलेर लागे तर सभापति देउवालाई सहयोग गरेनन ।’ जिल्लामा अहिले सभापति न्यौपानेलाई देउवा पक्षले अविश्वास गर्ने गरेको छ । चुनाव लडदा देउवाको नाम भजाएको र जितेपछि गुट परिवर्तन गरेको भन्दै न्यौपानेमाथि आरोप लाग्दै आएको छ । न्यौपानेलाई देउवा र रामचन्द्र पौडेल पक्षले नै अविश्वास गर्दै आएका छन् ।
निर्णय फिर्ता लिन बाँध्य बनाउछौः अर्जुन केसी
सभापतिले लिएको निर्णय गैरकानुनी छ । वैधानिक जिल्ला कार्यसमितिको सदस्य म पनि हुँ । सभापतिको प्रत्यासि भएकाले मलाई उहाँले कार्यसमितिको सदस्यमा मनोनित गर्नुभएको छ । बैठक छ भनेर मलाई फोन गर्नुभएको थियो । बैठकको खबर सचिवले गर्नुपर्ने सोझो बाटोबाट आउनु पर्नेमा तपाई बाङगोटिङगो बाटोबाट फोन गर्नु भो ।

मैले विगत एक बर्षदेखि संगठन राम्रो होस भनेर सभापतिलाई सहयोग गर्दै आएको पनि हुँ । शनिवार जिल्ला समन्वय समितिको उम्मेदवारको विषयमा छलफल गर्छु, अरु केही छैन भनेर भनेर मलाई भन्नुभयो । मैले भने पार्टीले जित्ने होइन, हामी हार्दैछौ, यो निर्णयमा मेरो समर्थन हुन्छ तर अरु कुनै पनि निर्णय नगर्नुहोला सोमवार म पनि आउछु भनेको थिए । तर एकाएक पदाधिकारीमा मनोजित गरेको खबर थाहा पाए ।
वैधानिक रुपमा कार्यसमितिको पूर्ण बैठकले पदाधिकारीको निर्णय गर्नुपर्छ । निर्वाचिन कार्यसमितिकाले कोरम पुर्याउने निहुँमा कुनै कार्यसमिति सदस्य खेतमा काम गरेकै अवस्थामा त्यहाँ लगेर सही गराउनु अवैधानिक हो । पात्र को हो भन्नेमा मलाई खासै चासो छैन ।

जो भएपनि सिनियर जुनियर जो भएपनि कांग्रेसका कार्यकर्ता हुन् । तर विधि र प्रक्रिया वैधानिक बनाउनु पर्छ । सभापतिले गरेको निर्णय गैरकानुनी र अवैधानिक हो । अब जिल्ला कार्यसमितिको बैठक बोलाएर गलत निर्णय सच्याउन बाँध्य बनाउछौ ।

 

प्रतिक्रिया दिनुहोस्