चालक अनुमति पत्र वितरणलाई चुस्त बनाउन मन्त्रीको निर्देशन



१७ साउन, काठमाडौं ।
 भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले सवारी साधनको चालक अनुमति पत्र (लाईसेन्स) वितरण प्रक्रियालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
मंगलबार मन्त्रालयमा यातायात व्यवस्था विभाग र सवारी चालक अनुमति कार्यालयका प्रमुखलाई बोलाएर मन्त्री बलायरले लाइसेन्स लिन सर्वसाधारणले निकै शास्ती भोग्नुपरेको उल्लेख गर्दै यथाशीघ्र यसलाई प्रभावकारी बनाउन निर्देशन दिएका हुन्। ‘लाईसेन्स लिने प्रक्रिया एकदमै झन्झटिलो छ, मन्त्री बलायरले भने, ‘सर्वसाधारणहरु एकाविहानै कार्यालयमा पुगेर लाईन लाग्नुपर्छ। त्यसपछि फेरी ट्रयायल दिने देखि लाइसेन्स हात पार्नेसम्मको प्रक्रिया र समय लामो छ।’ उनले तत्काल यसलाई सरल र सहज बनाउन निर्देशन दिए।
यस्तै मन्त्री बलायरले यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमति कार्यालयमा जडान गरिएको सर्भर तथा सफ्टवेयर सधैं जसो बिग्रिरहने समस्याप्रति समेत चासो व्यक्त गरेका छन्। उनले पटक पटक सर्भरमा समस्या आउनुको कारण सोध्दै अब यसको दीर्घकालिन समाधानबारे सोच्न समेत निर्देशन दिए। प्रत्येक महिना किन बिग्रन्छ, यो सर्भर, मन्त्रीले आश्चर्य  मान्दै भने, ‘राज्यको करोडौं लगानी परेको सर्भरमा सधैं समस्या आइरहने अनि नीजि क्षेत्रमा यस्ता समस्या त सुनिदैन।’
उनले सेवाग्राहीप्रति जिम्मेवार भएर परिणाममुखी काम गर्न समेत आग्रह गरे।
चर्चाका लागि काम गर्नेभन्दा पनि मन्त्रालयले दिने सेवाबाट सर्वसाधारण लाभान्वित हुनुपर्नेमा मन्त्रीले जोड दिए। उनले स्मार्टकार्ड १४ वटै अञ्चलबाट वितरण गर्ने समेत निर्देशन दिएका छन्। दुई दिनभित्र कार्यप्रगति र समस्याबारे जानकारी दिन समेत उनले उच्च अधिकारीलाई निर्देशन दिएका छन्।
मंगलबार नै मन्त्री बलायरले सडकमा खाल्डाखुल्डी पुर्ने कामलाई निरन्तरता  र तीब्रता दिन सडक विभागका अधिकारीलाई समेत निर्देशन दिएका छन्।

प्रतिक्रिया दिनुहोस्